Logo

जलेश्वर भन्सार राजस्व असुलीमा कमजोर

आर्थिक वर्ष २०७९/८० मा जलेश्वर भन्सार कार्यालय मलिबारा महोत्तरीलाई ३ अर्व ६३ करोड ९१ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा उक्त लक्ष्य पुरा नहुने भएको छ । चैत मसान्त सम्म ९ महिनाको अवधिमा ५६ दशमलव १८ प्रतिशत अर्थात २ अर्व ४ करोड ४४ लाख ३० हजार ३९ रुपैयाँमात्र राजस्व उठाउन भन्सार सफल भएको हो ।

आयत निर्यात व्यापार प्रभावित भएसँगै जलेश्वर भन्सारको राजस्व असुलीमा गिरावट आएको प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए । सो कार्यालयले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको तुलनामा १०८.३१ प्रतिशत प्रगति हासिल गरेको थियो । यो २४ करोड ३६ लाख २ हजार हुन आउँछ । तर चैत मसान्तसम्म आइपुग्दा विस्तारै राजस्व असुलीको लक्ष्य घटदै गएको देखिएको छ ।

कार्यालयले भदौमा २७ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य पाएकोमा ८३.७६ प्रतिशत अर्थात २२ करोड ८३ लाख १ हजार ८९ उठाएको छ । त्यसैगरि, असोजमा २८ करोड ५८ लाख ६९ हजार लक्ष्य रहेकोमा ८८.३९ प्रतिशत अर्थात २५ करोड २६ लाख, कार्तिकमा ३० करोड ३१ लाख ८२ हजार राजस्व उठाउने लक्ष्य पाएकोमा ७९ प्रतिशत अर्थात २४ करोड ४९ लाख ४१ हजार ६९ रुपैंया असुली गरेको छ ।

मंसिरमा ३१ करोड ४३ लाख ९७ हजार लक्ष्य पाएकोमा ५९.४३ प्रतिशत अर्थात १८ करोड ६८ लाख ४९ हजार, पुसमा ३३ करोड ७८ लाखको लक्ष्यमा ५३.४८ प्रतिशत अर्थात १८ करोड ६ लाख ७३ हजार, माघमा ३० करोडको लक्ष्यमा ७४.२० प्रतिशत अर्थात २२ करोड ७५ लाख, फागुनमा ३१ करोेड ६३ लाखको लक्ष्यमा ७६.३६ प्रतिशत अर्थात २४ करोड १५ लाख र चैतमा ३२ करोड ४८ लाख ४८ हजार राजस्व उठाउने लक्ष्यमा ७३.३३ प्रतिशत अर्थात २२ करोड ८२ लाख २३ हजार राजस्व उठेको छ ।

सो कार्यालयले आर्थिक २०७८/०७९ मा १ अर्व ७० करोड ७० लाख ७७ हजार राजस्व लक्ष्य लिएकोमा १८२ प्रतिशतले लक्ष्य हासिल गरि ३ अर्व ९ करोड ३४ लाख ७० हजार रुपैंया उठाएको थियो । भारतबाट पेट्रोलियम पदार्थ आयात हुदाँ राजस्व लक्ष्य प्राप्ति हुने गरेको भएपनि विभिन्न कारणले चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातमा कमि आएकोले लक्ष्य हासिल गर्न समस्या भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा उठेको कुल राजस्वमध्ये पेट्रोलियम पदार्थ आयातबाट ६० प्रतिशत राजस्व उठेको छ । तर यो वर्ष भने सोचे जति पेट्रोलियम पदार्थ आयात नभएकोले लक्ष्य प्रभावित भएको सूचना अधिकारी सुमित रौनियारले बताए । २०७९ साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट ४० करोड ५९ लाख ६२ हजार बराबरको ६९ लाख ५७ हजार ७९ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्