Logo

सुख्खा बन्दरगाह निर्माण हुने भएपछि व्यवसायी खुसी

मधेश प्रदेश अन्तर्गत पर्ने महोत्तरीको दक्षिणी नाका भिठ्ठामोड मलिबारा नाकामा सुख्खा बन्दरगाह निर्माण हुने भएपछि त्यस क्षेत्रका व्यवसायीहरू खुसी भएका छन् । संघीय सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा जलेश्वर भन्सार कार्यालयलाई सुख्खा बन्दरगाह बनाउने सम्वन्धमा वजेट भाषणमा नीतिगत व्यवस्था गरेपछि व्यवसायीहरू खुसी भएका हुन् ।

संघीय सरकारबाट सो नाकामा सुख्खा बन्दरगाह निर्माण गर्ने स्वीकृति पाएपछि निर्माण कम्पनी इन्टर मोडेल विकास समिति चोभारका प्राविधिकले दोस्रो पटक सो ठाउँको सर्वे गरिसकेको प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए । यद्यपि सुख्खा बन्दरगाह निर्माणमा के कति खर्च लाग्ने, जग्गा अधिग्रहण गर्दा मुआब्जा कसरी दिने वारे अहिलेसम्म सार्वजनिक भइनसकेको प्रमुख पौडेलले बताए ।

बन्दरगाह निर्माणको लागि नेपाल तर्फ ६० विघा जग्गा अधिग्रहण गनुपर्ने र भारत तर्फ भिठ्ठामोडमा पनि सोही परिमाणको जग्गा अधिग्रहण गनुपर्ने छ । जग्गा अधिग्रहण गर्दा सरकारी पक्षबाट दिईने मुआब्जा उचित पाएमा जग्गा खाली गर्ने त्यस भेगका जग्गाधनीको भनाइ छ । सुख्खा बन्दरगाह बनेर संचालनमा आएपछि यस क्षेत्रको तेस्रो मुलुकसंग व्यापार हुने छ ।

सुख्खा बन्दरगाह संचालनमा आएपछि कलकताबाट भिठ्ठामोडको बाटो नजिक पर्ने र ढुवानीमा खर्च पनि कम लाग्ने भन्दै उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले संघीय सरकारले धनुषालाई औद्योगिक क्षेत्र घोषणा गरि चाडै नै सो बन्दरगाह संचालन गर्ने वताए । धनुषामा उद्योग स्थापनाको प्रचुर सम्भावना रहेकोले बन्दरगाह संचालनमा आएपछि यस क्षेत्रका आर्थिक विकासमा थप टेवा पुग्ने उनको भनाइ छ ।

२०७९ सालको साउन, भदौमा यसको सर्वे भएपनि हाल सम्म नेपाली पक्षको भारतीय पक्षसँग समन्वय हुन सकेको छैन । सोही कारण अन्य प्रक्रिया अगाडी बढ्न सकेको छैन । तर भारतीय पक्षले उक्त ठाउँमा बन्दरगाह बनाउने भनेर चासो राखेको छ ।

प्रतिक्रिया दिनुहोस्