गोठालाकै भरमा भेडाबाख्रा अनुसन्धान केन्द्र
जुम्लाको गुठिचौर गाउँपालिका–२ स्थित भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको पाँच दशक बित्यो । नयाँ जातका भेडासँंग क्रस गरी उन्नत जातका थुमा उत्पादन गर्ने, भेडा किसानलाई थुमा वितरण गर्ने र भेडा पालनमा वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले २०२८ सालमा भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना भएको हो ।
उत्पादित भेडाका थुमालाई देशभर निर्यात गर्ने लक्ष्य राखी स्थापना भएको भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरले बितेको पाँच दशकमा अपेक्षित काम गर्न सकेको छैन । २०२८ सालमा राजा महेन्द्रले स्थापना गरेको भेडाबाख्रा अनुसन्धान केन्द्रको बितेको पाँच दशकको उपलब्धि शून्य छ । उन्नत जातका थुमा उत्पादनका लागि अनुसन्धान गर्ने वैज्ञानिक नै नभएपछि पाँच दशकको उपलब्धि नै शून्य देखिएको हो ।
दरबन्दीअनुसार वैज्ञानिक नभएपछि भेडाबाख्रा अनुसन्धान केन्द्र गोठालाले धानेका छन् । भेडाबाख्रा अनुसन्धान केन्द्रमा तीनजना वैज्ञानिकसहित १८ जनाको दरबन्दी रहेकोमा हाल कार्यरत पाँच जनामात्रै छन् । जसमा वैज्ञानिक एक, दुईजना स्थायी गोठाला र दुईजना प्राविधिक सहायक छन् । गोठाला नरबहादुर बोहोरा, जयप्रसाद बोहोराले भेडाबाख्रा अनुसन्धान केन्द्रलाई सम्हालेका छन् ।
वैज्ञानिक अभावले अनुसन्धान ठप्प हुँदा भेडाको रेखदेख गर्ने, दानापानी दिने, दिउँसो चराउने, गोठालाकै काँधमा छ । प्रायः वैज्ञानिक सेवा सुविधा नभएकाले आउन मान्दैनन् । आएका वैज्ञानिक पनि बढीमा ५/६ महिनाभन्दा बढी बस्दैनन् । तर पछिल्लो समय आएका वैज्ञानिक रामप्रसाद शाह भने बसेका छन् । तर उपलब्धि शून्य नै छ । उनलाई विभिन्न तालिम गोष्ठीमा जाँदै ठिक्क छ । अनुसन्धानतर्फको कसैको ध्यान छैन ।
भेडाबाख्रा अनुसन्धान केन्द्रमा तीनजना वैज्ञानिकको दरबन्दी हो । तर एकजना मात्रै कार्यरत छन् । कार्यरत वैज्ञानिक डा. रमेश शाहले भने, “तीनजना वैज्ञानिकको दरबन्दी भए पनि ममात्रै छु । १८ जनाको दरबन्दीमा पाँचजना मात्रै कार्यरत छौं । विशेषगरी प्राविधिक अधिकृत र वैज्ञानिक नहुँदा अनुसन्धान अघि बढ्न सकेको छैन । उपलब्ध जनशक्तिले जेनतेन काम गरिरहेका छाैं ।”
हाल केन्द्रमा अस्ट्रेलियन क्रस, स्थानीय बडुवाल, भ्याग्लुङ र च्यांग्रा सिनालजस्ताका ३५७ भेडा छन् । गोठालाले ती भेडालाई बिहान छाडेर चराउने र साँझ हुल्नेबाहेक अरु काम छैन । यद्यपि जनशक्ति अभावका बीच अस्ट्रेलियन भेडाको अनुसन्धान ७५ प्रतिशत भएको केन्द्रका प्राविधिक सहायक शक्ति शाहको दाबी छ ।
वैज्ञानिकविहीन उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र
उच्च भू–भागमा उत्पादन हुने फलफूल, रैथानेबालीको उत्पादन वृद्धि तथा जडिबुटीको अनुसन्धान गर्न स्थापित उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र पनि कर्मचारीविहीन छ । संरचना स्थापना गरी सकेपछि जनशक्ति नपठाउनु राज्यकै कमजोरी हो । चारजना वैज्ञानिकसहित २२ जनाको दरबन्दी रहेको उक्त केन्द्रमा एकजना प्रशासकीय अधिकृतमात्रै कार्यरत छन् । वैज्ञानिकको चारवटै कोटा खाली छ ।
भेडाबाख्रा अनुसन्धान केन्द्रकै वैज्ञानिक रमेश शाहले उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्र पनि सम्हालेका छन् । पर्याप्त वैज्ञानिक नभई नहुने दुवै अनुसन्धान केन्द्रमा एकैजना वैज्ञानिकले काम चलाउ भए पनि उपलब्धि शून्य नै छ । उच्च पर्वतीय कृषि अनुसन्धानमा दुईजना ज्यालादारीका कर्मचारीले घाँस काट्ने काम भने गर्दै आएका छन् । उच्च भू–भागमा पाइने अन्नबालीको अनुसन्धान गर्न राज्यको करोडाैं खर्चेर स्थापना भएको अनुसन्धान केन्द्रको कार्यालयमा धमिरा लाग्नमात्रै बाँकी जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
राज्यले कर्णालीका अनुसन्धान केन्द्रप्रति गम्भीर लापरबाही गरेको उनको आरोप छ । तर कार्यरत जनशक्तिले पनि अनुसन्धान केन्द्रको लक्ष्यअनुसार थोरै पनि काम गर्न नसकेको र बस्ने घाम ताप्ने तलब खाने काम भएको प्रमुख आर्चायको भनाइ छ । दुवै अनुसन्धान केन्द्र एकै वैज्ञानिकले धान्नु पर्ने, भेडाबाख्रा अनुसन्धान केन्द्र गोठालाले सम्हाल्नु पर्ने अनुसन्धानका नाममा भेडा चराउने काममात्रै हुनु दुःखद् पक्ष भएकाले दरबन्दी अनुसारका कर्मचारी पूर्ति गर्न ध्यानाकर्षण गराइने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।
अनुसन्धान तथा नतिजा बिना अनुसन्धान केन्द्रको कुनै अर्थ छैन । जुम्लामा पछिल्लो समय भेडापालन व्यवसाय घट्दो छ । बजारमा माग बढ्दो छ । यस्तो अवस्थामा पनि भेडाबाख्रा अनुसन्धान केन्द्रले उन्नत थुमा गाउँगाउँमा पठाउन नसक्नु अनुसन्धान गर्न नसक्नु नागरिकमाथिे गैरजिम्मेवारीपन भएको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।
उनका अनुसार जुम्लाका सबै अनुसन्धान केन्द्र हचुवामै चलेका छन् । नागरिकले अनुसन्धानबारे चासो नराख्ने र केन्द्रले उपलब्धि पनि नदेखाउने काम पनि नगर्ने प्रवृत्तिले जुम्लामा हरेक क्षेत्रको सरकारी संरचना भए पनि विकट कहलिँदै आएको तातोपानीकी उपाध्यक्ष रेवती रावलले बताइन् । भेडाबाख्रा अनुसन्धान केन्द्र, उच्च पर्वतिय कृषि अनुसन्धान केन्द्रसँगै जुम्लाका अन्य अनुसन्धान केन्द्र पनि गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भइरहेका छन् ।
वर्षौदेखि वैज्ञानिकसहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् । कृषि अनुसन्धान केन्द्र राजिकोट, कृषि अनुसन्धान केन्द्र वियनगर, भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान केन्द्रले जनशक्ति अभावको कारण देखाउँदै अपेक्षित काम गर्न सकेको छैनन् । जसका कारण अनुसन्धान प्रभावित भएको छ भने राज्यको करोडाैं बजेट लगानी गरे पनि अनुसन्धानको उपलब्धि शून्य देखिएको छ ।