Logo

वीरगन्ज महानगरको जग्गामा जिल्ला अदालतकै आदेश सदर

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरपालिकाकै स्वामित्वमा कायम गर्न जिल्ला अदालतले गरेको फैसला उच्च अदालत जनकपुर इजलासले सदर गरेको छ ।

वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को (हाल नापीमा कायम भएको कित्ता नं १८ र ५३) जग्गा किर्ते जालसाजी गरी बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत डाक्टर भीष्मकुमार भुषालले कीर्ते जालसाजीविरुद्ध पर्सा जिल्ला २०७५ असार ३ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

पर्सा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले व्यक्तिका नाममा दर्ता भएको महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को (हाल नापीमा कायम भएको कित्ता नं. १८ र ५३) जग्गा वीरगन्ज महानगरपालिका कार्यालयका नाममा दर्ता कायम गर्ने फैसला गरेको थियो । सोही फैसलालाई उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगन्जले सदर गरेको हो ।

यसअघि पनि अरुण अग्रवालले ०६१ सालमा उक्त जग्गा आफ्नो भन्दै तत्कालीन नगरपालिकाको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी कीर्ते प्रमाण खडा गरी जग्गा नामसारी गराएका थिए । नगरपालिकाले ०६१ चैत १९ मा कानुनी कारबाहीको माग राख्दै लिखत बदर गर्न मालपोतलाई पत्राचार गरेको थियो ।

कारबाहीको भयले अग्रवाल आफैं मालपोतमा उपस्थित भई उक्त जग्गा मेरो नाउँबाट बदर गरी नगरपालिकाका नाउँमा कायम गरिदिनु भन्दै ०६१ चैत २४ मा निवेदन दिएका थिए । त्यसको चार वर्षपछि फेरि भूमाफियाले उक्त जग्गा नामसारी गराउन खोजेको नगरपालिकाले थाहा पाएपछि ०६५ पुस ३ मा मालपोतलाई पत्र लेखेर नगरपालिकाका नाममा दर्ता रहेको जग्गा नगरपालिकाबाट फुकुवा पत्र नआएसम्म रोक्का राख्न आग्रह गरेको थियो ।

तर नगरपालिकाकै कर्मचारी, वडा सचिव, नापी सर्वेक्षकको मिलेमतोमा उक्त जग्गा व्यक्तिका नाममा नामसारी भएको थियो । साबिक पशुपति आदर्शनगर निर्माण समितिबाट हस्तान्तरण भई वीरगन्ज महानगरको स्वामित्वमा आएको उक्त कित्ता नं ८१७ को नयाँ नापीमा कित्ता नं १८ र ५३ कायम छ । ०७४ चैत १० मा वीरगन्जको आदर्शनगर क्षेत्रमा महानगर स्वामित्वको कित्ता नं. ८१७ को एक कट्ठा जग्गामा माटो पुर्ने काम सुरु भएपछि जालसाजीको खुलासा भएको थियो ।

वीरगन्ज–३ छपकैया निवासी नजमा बेगमले माटो भर्न लगाएकी थिइन् । बेगम नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महम्मद सहाबुद्दीनकी श्रीमती हुन् । महानगरले मालपोत कार्यालयमा बुझ्दा बेगमले उक्त जग्गा अरुणकुमार अग्रवालसँग ०७४ मंसिर ११ मा खरिद गरेकी थिइन् । अग्रवालले ०७४ मंसिर ८ गते हाल साबिक गराएको उक्त जग्गा महानगरपालिकाले बिक्री नै गरेको छैन ।

महानगरपालिकाले मालपोतलाई तिरो तिर्दै आएको छ । महानगरपालिकाका अनुसार जीपी कोइराला फाउण्डेसन कार्यालय भवन निर्माण भएको जग्गा पनि पशुपति आदर्शनगर निर्माण समिति अन्तर्गतकै हो । मालपोत कार्यालयको जग्गाधनीको लगतबाट समेत उक्त कित्ता नं. ८१७ को वास्तविक धनी वीरगन्ज महानगरपालिका नै रहेको प्रस्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्