अर्थतन्त्र सुधार उच्च प्राथमिकता

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले त्यसको सुधार गर्नेतर्फ उच्च प्राथमिकता दिएको बताएकी छिन् । बिहीबार प्रेस सेन्टर दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले अत्यन्त कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्रलाई सुधार गर्न सरकार लागिरहेको बताएकी हुन् ।
‘‘अहिले देशको आर्थिक अवस्था अत्यन्त कमजोर अवस्थामा पुगेको छ । जसले गर्दा सरकारले सोचे अनुसार काम गर्ने अवस्था छैन,’ मन्त्री शर्माले भनिन्, ‘‘बिग्रिएको अर्थतन्त्रको सबलीकरणमा सरकारले ध्यान दिइरहेको छ ।’’ मन्त्री शर्माले देशमा आर्थिक संकट गहिरिँदै गएको हुँदा सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको धारणा राखिन् ।
‘‘अधिकांश स्थानमा अनावश्यक ठाउँमा लगानी गर्ने र कर्मचारी भर्ती हुँदा खर्च बढेको, अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई भार बढेको छ’’ मन्त्री शर्माले भनिन्, ‘अनावश्यक ठाउँमा लगानी गर्ने भन्दा कम लगानीमा बढी प्रतिफल दिने योजनामा सरकार लगानी गर्ने गरी अघि बढेको छ ।’’
मन्त्री शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडक आयोजनाको काम नयाँ ढंगबाट थालनी गर्ने प्रक्रिया अघि बढेको बताइन् । भारतीय एक्जिम बैकको लगानीमा भारतीय निर्माण कम्पनीबाट सडक निर्माणको काम गर्दा लामो समयसम्म बन्न नसकेको र जनताले धेरै दुःख पाएको भन्दै मन्त्री शर्माले ठेक्का तोडेर नेपाली निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिने गरी सरकारले प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।
‘‘घोराही तुलसीपुर फोरलेन सडकमा एउटा मात्रै ठेकेदारले होइन, अहिले सम्म नौ वटा ठेकेदारलाई काम गर्न लगाउँदा पनि भौतिक प्रगति देखिएन’’ मन्त्री शर्माले भनिन्, ‘‘यो एक्जिम बैकको लगानी भएको घोराही तुलसीपुर सडक मात्रै होइन । देशभरी नै सडकहरू समस्यामा छन् । ती सबै सडकको समस्या समाधान गर्ने गरी पहल भइरहेको छ ।’’
मन्त्री शर्माले एक्जिम बैकको लगानीलाई नेपाली निर्माण कम्पनीबाट गराउने गरी नीतिगत रूपमा सहमत जुटाउने काम भइसकेको समेत बताइन् । असार अघि नै चारलेन सडक निर्माणको कामलाई नयाँ ढंगबाट अघि बढाउन सकिने उनको दावी रहेको छ । साथै उनले सडक निर्माणको काम नहुँदा अस्तव्यस्त र जीर्ण बनेको सडक निर्माणका लागि कम्पनीले काम नगर्दासम्म सरकारले बजेट विनियोजन गरेर सडक मर्मतको कार्यलाई अघि बढाउने उनले बताइन् ।
घोराही–तुलसीपुर फोरलेन सडकले मानिसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको र यो सडकको विषयलाई लिएर विभिन्न चर्चा, परिचर्चा रहेको भन्दै मन्त्री शर्माले फोरलेन सडकको समस्या सबै जनप्रतिनिधि, नागरिक अगुवाहरुको चासो र साझाको विषय भएको हुँदा यसलाई साझा ढंगले समाधान गर्नु पर्नेमा जोड दिइन् ।