Logo

उद्योग मन्त्रीलाई सम्मान, व्यावसायीको माग सम्वोधन गर्ने प्रतिवद्धता

वीरगन्ज उद्योग वाणिज्य संघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई सम्मान गरेको छ । मन्त्री नियुक्त भएपछि गृह जिल्लामा आएका मन्त्री रिजाललाई वीगन्ज उद्योग वाणिज्य संघले सम्मान गर्दै उद्योग व्यापार क्षेत्रमा देखिएका विभिन्न समस्याको सम्बोधनका लागि आग्रह गरेको हो ।

मन्त्रीलाई सम्मान गर्न आयोजित कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले औद्योगिक सुरक्षाको व्यवस्थापन गर्न, उद्योगबाट निस्किने दूषित पानी प्रशोधन तथा फोहोर व्यावस्थापनका लागि डम्पिंग साईडको व्यवस्था गर्न, आयात तथा निर्यातमा भएका समस्या समाधान गर्न सरकारसंग माग गरे ।

त्यस्तै एकीकृत भन्सार चाँच चौकी (आईसीपी) भौतिक संरचना अभावले आयात गरिएका सामान नोक्सान हुने गरेकोले पूर्वाधार संरचना निर्माणलाई प्राथामिकता दिनुपर्ने, मूल्यअभिवृद्धि भ्याट तथा भन्सार महशुल लगायतका समस्यालाई समाधान गर्न पहल गर्न पनि अग्रवालले माग गरे । सम्मान कार्यक्रममा उद्योगमन्त्री रिजालले उद्योगी व्यावसायीहरुको समस्या र पीडाका विषयमा आफूपनि जानकार रहकोले यसको दीर्घकालिन समाधानका लागि छलफल र नीतिगत तहबाट आवश्यक निर्णय गर्ने आश्वासन दिए ।

उद्योगी व्यवासायीको तर्फबाट अध्यक्ष अग्रवालले राखेको मागहरुको बारेमा आफू सकारात्मक रहेको बताउदै उनले उद्योग व्यवसायमा देखिएका समस्या समाधान भए मात्रै देशले आर्थिक विकास गर्न सक्ने बताए । व्यवहारिक रुपमा देखिएका समस्या व्यवहारिक र नीतिगत र सैद्धान्तिक रुपमा देखिएका समस्यालाई सोही ढंगबाट समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रत्यत्न रहने मन्त्री रिजालको भनाइ थियो ।

यसअघि नेपाली कांग्रेस पर्साले आयोजना गरेको सम्मान कार्यक्रममा वीरगन्ज चिनी कारखना सञ्चालन गर्न जिल्लावासीले माग गरेका थिए । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पर्सामा आएका मन्त्री रिजालको स्वागतमा मंगलबार नेपाली कांग्रेसले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा चिनी कारखाना सञ्चालनमा ल्याउन आग्रह गरिएको थियो ।

जिल्लावासीको आग्रह सुनेपछि उद्योगमन्त्री रिजालले आफ्नै कार्यकालमा चिनी कारखाना सञ्चालनका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । पर्सा जिल्लावासीकै आशीर्वाद र साथले आफू चार दशकको राजनीतिक यात्रामा पहिलो पटक मन्त्री बनेकाले जिल्लावासीकै आदेशमा आफू चल्ने उनको भनाइ थियो । कृषि औजार कारखाना सञ्चालनमा ल्याउनका लागि आफूले काम गरिरहेको पनि मन्त्री रिजालले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्