Logo

चिनियाँ पर्यटकको आगमनले उत्साह

चिनियाँ पर्यटकको आगमन वर्षको अन्त्यसम्ममा कोभिडअघिको लयमा फिर्ता हुने अपेक्षा व्यवसायीको छ । नेपालको पर्यटन बजारमा दक्षिण छिमेकी राष्ट्र भारतपछि उत्तरी छिमेकी राष्ट्र दोश्रो नम्बरमा रहँदै आएको थियो ।

नेपालको पर्यटन क्षेत्र लयमा फिर्ता हुने आशा थपिएको छ । कोरोना (कोभिड–१९)पछि ठप्प भएको पर्यटन बजार क्रमशः लयमा फिर्ता हुने क्रममा रहेको छ । सन् २०२३ को पहिलो महिनादेखि नै पर्यटक आगमनमा सुधार र चिनियाँ सरकारले आफ्ना नागरिकका लागि भ्रमणमा निस्कने देशको सूचीमा नेपाललाई पनि सूचीकृत गरेसँगै चिनियाँ पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ ।

बिहीबार हिमालय एअरलाइन्सले चीनको कुनमिङ चाङ्शुई अन्तर्राष्ट्रिय विमानस्थलबाट एच नाइन ७८५ एयरबस ए ३२०–२१४ ले काठमाडौंमा चार्टर्ड उडान शुरु गरेको छ । उडानमार्फत १ सय ८० जना चिनियाँ पर्यटकहरू काठमाडौं अवतरण गरेका छन् । चिनियाँ पर्यटकको समूहलाई संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले स्वागत गरेका थिए ।

आगामी चार्टर्ड उडानहरूमार्फत् थप ७०० यात्रुहरूलाई नेपाल ल्याउने योजना रहेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । कोभिड–१९ पछिको ठूलो संख्यामा आएको चिनियाँ पर्यटकको समूहलाई विषेश रुपमा हेरिएको छ । चार्टर्ड उडान सेवा सुरू गरेसँगै चिनियाँ पर्यटकको आगमनमा थप वृद्धि हुने आकलन गरिएको छ । कोभिड–१९ पछि चिनियाँ पर्यटक नेपाल भ्रमण आएको यो जम्बो टोली हो ।

यसले पर्यटन क्षेत्रलाई लयमा फिर्ता हुन सहयोग गर्ने बोर्डका कार्यकारी प्रमुख रेग्मीले बताए । उनले भने, “कोभिडपछि सन् २०२३ मा नेपालको पर्यटन लयमा फर्किंदै गएको छ । चिनियाँ पर्यटकको आगमनले नेपालको पर्यटन थप चलायमान हुने छ ।” राजदूतसँगको भेटवार्ताका क्रममा मन्त्री किरातीले भैरहवा र पोखराबाट चीनसम्म सिधा उडनको लागि आवश्यक सहयोग गर्न राजदूतलाई आग्रह गरेका छन् ।

साथै चीन सीमानाका रसुवा र तातोपानी नाका आउने पर्यटकलाई नेपाल भ्रमण गराउन पहल गरिदिन चिनीयाँ राजदूत समक्ष आग्रह गरिएको छ । राजदूत सोङले नेपाल चिनियाँ पर्यटकहरुको रोजाइको गनत्वय भएको बताउँदै नेपालको पर्यटन विकासको लागि चीन सधैं सकारात्मक रहेको बताएका छन् । राजदूत सोङले भने, “कोभिडपछि चिनियाँ नागरिकलाई नेपाल भ्रमण खुला गरिएकोले अब नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या क्रमशः बढ्ने छ ।”

नेपालको पर्यटक आगमनमा कोभिड–१९ अगाडि चिनियाँ पर्यटक आगमन संख्या भारतीय पर्यटकपछि दोश्रो नम्बरमा रहँदै आएको थियो । कोभिड–१९ पछि भने चीन सरकारले नागरिकलाई भ्रमणमा लगाएको प्रतिबन्ध र चीनबाट अन्य देशमा हुने उडानमा कटौती गर्दा नेपालमा समेत चिनियाँ पर्यटकको आगमन न्यून थियो । पछिल्लो ३ महिना (सन् २०२३) वर्षको शुरुवातबाट नै चिनियाँ पर्यटकको आगमनमा वृद्धि हुँदै गएको तथ्यांकक रहेको छ ।

चिनियाँ सरकारले आफ्ना नागरिकका लागि भ्रमणमा निस्कने देशको सूचीमा नेपाललाई पनि समेटेको र नेपालस्थित चिनीयाँ दूतावासले समेत चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा प्रेरित गरिरहकोले चिनियाँ पर्यटकको आगमन बढ्दै गइरहेको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “चीनबाट नेपालमा हुने उडान थप हुँदै गएको र चिनियाँँ पर्यटक भ्रमणमा निस्किने क्रमम शुरु भएकाले गर्दा चिनियाँ पर्यटक आगमन कोभिड–१९ अगाडिको अवस्थामा फिर्ता हुने छ ।”

नेपालको पर्यटन बजारमा दक्षिण छिमेकी राष्ट्र भारतपछि उत्तरी छिमेकी राष्ट्र दोश्रो नम्बरमा रहँदै आएकोले बोर्डले पनि सोही अनुसार प्रमोसनका कामहरु गर्दै आएको छ । सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६२ पर्यटकले नेपाल भ्रमण गर्दा ६ हजार १ सय ९८ चिनियाँ नागरिकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२० मा २ लाख ३० हजार ८५ पर्यटकले नेपाल भ्रमण गर्दा १९ हजार २ सय ५७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

सन् २०१९ मा भने कुल ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गर्दा चीनबाट १ लाख ६९ हजार ५सय ४३ पर्यटक आएका थिए । नेपाल आगमन गर्न कुल पर्यटकको संख्यामा चिनियाँ नागरिकको आगमनदर सन् २०२१, सन् २०२० मा चौथो स्थानमा र सन् २०१९, सन् २०१८ मा दोश्रो स्थानमा थिए । यता सन् २०२३ को जनवरीमा एक हजार चार सय ३६, फेब्रुरीमा दुई हजार दुई सय ६६ र मार्चमा दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल पर्यटक भित्रिएका छन् ।

पछिल्लो समय चीन सरकारले समेत नेपालको पर्यटन प्रवर्द्धन गर्नको लागि थप टेवा पुर्‍याउने कार्यक्रम गर्दै आएको र नेपालबाट हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान संख्या थप गर्दै जानुले पनि आगामी दिनमा चिनियाँ पर्यटक वृद्धि हुने संकेत गरेको निर्देशक लामिछानेको भनाइ छ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नियमित रुपमा चाईना सेल्स मिशन आयोजना गर्दै छ ।

कोभिड महामारीपछि पुनः नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङको सहकार्य एवं समन्वयमा २०२३ अप्रिल १४ देखि २१ सम्म मित्रराष्ट्र चीनका तीन प्रमुख व्यवसायिक शहरहरु चेङदु, खुमिङ र बेइजिङमा आयोजना गर्दैछ । यस्ता सेल्स मिसनले आगामि दिनमा चिनियाँ पर्यटन वृद्धि गर्नमा थप टेवा पुग्ने र चिनियाँ पर्यटक आगमन कोभिड–१९० अगावैको लयमा फिर्ता हुने विश्वास नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापाको छ । उनले भने, “समग्रमा पर्यटक आगमन सुधारोन्मुख छ । चीनले आफ्ना नागरिकलाई भ्रमणको लागि प्रेरित गरेकाले चिनियाँ पर्यटक बढ्ने छन् ।”

प्रतिक्रिया दिनुहोस्