समृद्धिको सारथि बन्दै जडीबुटी

आर्युवेद र जडीबुटीमा आधारित उपचार तथा स्वास्थ्य सुरक्षा गर्ने विश्वव्यापी प्रचलनको लहर नेपालमा पनि क्रमशः फैलँदै गइरहेको छ ।
नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश मानिन्छ । समुद्री सतहबाट ७० मिटरदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा अर्थात् ८,८४८ मिटरसम्मको उचाइसम्म फैलिएको नेपालमा, ऊष्णदेखि शीतोष्ण जलवायु सहज महसुस गर्न सकिन्छ । विविधतायुक्त भू–बनोट, हावापानी र जैविक विविधताका दृष्टिकोणले धनी मानिन्छ । नेपालमा विश्वको कुल वनस्पतिको करिब २.२ प्रतिशत फूल फुल्ने र करिब ३ प्रतिशत फूल नफुल्ने वनस्पतिहरू पाइन्छन् । वनस्पति प्रजातिलाई मात्र हेर्ने हो भने पनि नेपालमा करिब ६ हजार ५ सय स्वदेशी प्रजाति र २ सय ५० भन्दा बढी प्रजातिका रैथाने वनस्पतिहरू पाइन्छन् । साथै, नेपालमा अन्य देशबाट भित्रिएका बाह्य वनस्पति प्रजातिहरू पनि प्रशस्तै छन् । नेपालमा करिब २ हजार ३ सयभन्दा बढी प्रजातिका जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिहरू भएको अनुमान गरिएको छ भने करिब ८ सय १९ प्रजातिका वनस्पतिहरू जडीबुटीका रूपमा प्रयोग गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ । हालसम्म करिब १ सय ६५ भन्दा बढी जडीबुटी तथा सुगन्धित तेलयुक्त वनस्पतिहरू व्यापारिक तवरबाटै बजारमा बिक्री–वितरण भइरहेको पाइन्छ । विश्वव्यापी रूपमा वनस्पतिजन्य वस्तुहरूको माग बढ्दो क्रममा रहेको छ ।
नेपालमा पाइने वनस्पति प्रजातिहरूमध्ये ७ सय प्रजातिका वनस्पति जडीबुटीका रूपमा प्रयोग गर्न सकिने विगतको अध्ययनले देखाएको भए पनि १ हजार ६ सय २४ भन्दा बढी प्रजातिका जडीबुटी तथा सुगन्धित वनस्पतिहरू भएको अनुमान गरिएको छ, जसमध्ये २ सय ३८ प्रजातिको रासायनिक परीक्षण भइसकेको छ भने २ सय ४६ प्रजातिहरू रैथाने भएको अनुमान गरिएको छ । यहाँका करिब १ सयवटा वनस्पति प्रजाति व्यापारिक दृष्टिकोणबाट बजारमा बिक्री–वितरण भइरहेको अनुमान गरिएको छ । नेपालमा पाइने वनस्पतिमध्ये करिब ५० प्रतिशत वनस्पति जातीय–वानस्पतिक प्रयोगका दृष्टिकोणले, २५–५० प्रतिशत वनस्पति जातीय औषधीय दृष्टिकोणले महत्वपूर्ण मानिएका छन् ।
आर्युवेद र जडीबुटीमा आधारित उपचार तथा स्वास्थ्य सुरक्षा गर्ने विश्वव्यापी प्रचलनको लहर नेपालमा पनि क्रमशः फैलँदै गइरहेको छ । आयुर्वेदिक तथा वैकल्पिक चिकित्साअन्तर्गत हाल झन्डै आधा दर्जनभन्दा बढी कलेजले आयुर्वेदसम्बन्धी स्नातक र प्रमाणपत्र तहसम्मको अध्ययन–अध्यापन सञ्चालन गरिरहेका छन् । यसै विधालाई अझ सशक्त र विस्तृत बनाउनुका साथै यसलाई समानान्तर स्वास्थ्योपचार विधाको मान्यता दिएको पनि छ । यसरी हेर्दा यहाँ पाइने अधिकांश जडीबुटी तथा गैरकाष्ठ वन पैदावारलाई आर्थिक एवं वातावरणीय दृष्टिकोणले महत्वपूर्ण सम्पदाका रूपमा लिइएको त छ, तर तिनको वास्तविक अवस्थाबारे विस्तृत अध्ययन हुन सकेको पाइँदैन । नेपाल जैविक विविधताका दृष्टिकोणले धनी मानिने मात्र नभएर विभिन्न जातजाति र भाषाभाषीका बासिन्दाको अवस्थितिका कारणले अझ बढी सम्पन्न बनेको छ ।
भू–परिवेष्टित मुलुक नेपालमा ५९ प्रकारका आदिवासी जनजातिलाई कानुनी मान्यता दिइएको छ भने यहाँ ९२ वटा भाषाको अभिलेख राखिएको छ । यस्ता विभिन्न जातजाति र भाषाभाषीका बासिन्दाले यहाँका जडीबुटीलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गरेको पाइन्छ । नेपालको विशेषतः हिमाली क्षेत्र खाद्यान्न तथा औषधिका लागि महत्वपूर्ण वनस्पतिहरूको उद्गम स्थल पनि मानिन्छ । यस क्षेत्रमा मानव सभ्यताको सुरुवातदेखि वनस्पतिको परम्परागत प्रयोगसम्बन्धी अभिलेखहरू प्रशस्त पाइन्छन् । अझै पनि आम्ची, फेदाङ्वा, धामी झाँक्रीजस्ता कैयन् परम्परागत उपचार पद्धतिहरू यस क्षेत्रमा विद्यमान छन् । आज जडीबुटीमा आधारीत आयुर्वेद अपचार पद्धतिले विश्वव्यापी रूपमै ख्याति पाएको छ । नाम र पद्धति जे भए पनि सबैले आफ्नो उपचारको माध्यम जडीबुटी नै बनाएको पार्ईन्छ । त्यस क्षेत्रका जनजातिले परम्परादेखि हासिल गरेको वनस्पतिको प्रयोगसम्बन्धी ज्ञान र त्यस ज्ञानभित्र लुकेको विज्ञान आजको विश्वका लागि खोज र अनुसन्धानको विषय बनेको छ । पछिल्लो समयमा हिमाली क्षेत्रका वनस्पतिबाट आयुर्वेदिक औषधि, विभिन्न श्रृङ्गारका प्रशाधनहरूलगायत अन्य विभिन्न वनस्पतिजन्य वस्तुको उत्पादन तथा प्रयोगमा वृद्धि भएको छ, तसर्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा हिमाली जडीबुटीको माग पनि निकै बढ्न थालेको छ । स्थानीय बासिन्दाको अज्ञानताका कारण आजको विश्वको प्रमुख माग र आवश्यकता बनेका अमूल्य जडीबुटीहरूको केही समयअघिसम्म खासै उपयोग हुन सकेको थिएन ।
वैदिक कालमा मानव स्वास्थ्यमा वनस्पतिको प्रयोगका सम्बन्धमा भएको प्रयोगका बारेमा वेद, भागवत गीता, रामायण र उपनिषदजस्ता ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । सन् १८९५ मा अमेरिकी वनस्पतिशास्त्री हार्सबर्गरले जातीय–वानस्पतिक अध्ययनलाई इथ्नोबोट्नी भनेर नामकरण गरेका थिए । तथापि नेपालमा जातीय वानस्पतिक अध्ययनको सुरुवात औषधीय र खाद्य वनस्पतिहरूका बारेमा सन् १९९५ मा खोजमूलक लेख प्रकाशन गरेपछि मात्र सुरु भएको थियो, तथापि यो हालका दिनमा वनस्पति शास्त्रकै एक बहु–आयामिक विधाका रूपमा स्थापित भइसकेको छ । परम्परादेखि नै प्रयोेगमा आएका तर व्यवसायीकरणबाट ओझेलमा परेका आर्थिक दृष्टिकोणले महत्वपूर्ण वनस्पतिहरूको पत्ता लाग्न सक्ने सम्भावना देखेर यसका बारेमा अध्ययन गर्न इच्छुक हुनेहरूको जमात पनि निकै बढ्दै गएको पाइन्छ । आजसम्म पनि नेपालको ग्रामीण भेगमा बसोबास गर्ने करिब ८० प्रतिशत मानिस जडीबुटीमा आधारित उपचार पद्धतिमै निर्भर रहेका छन् र देशका करिब २० प्रतिशत मानिसहरूले मात्रै आधुनिक चिकित्सा पद्धतिबाट उपचार सेवा प्राप्त गरेका छन् ।
औषधिका स्रोत हुने वनस्पति यति धेरै पाइनु नेपालको अतुलनीय विशेषता भएको छ । मानव सभ्यताको विकासक्रमसँगै विभिन्न समुदायमा वनस्पतिको प्रयोगको क्रम बढ्दै गएको पाइन्छ र जुन समुदायअनुसार फरक, फरक रहेको छ । यसको उदाहरणका रूपमा नेपालका जनजातिहरूले विभिन्न प्रयोजनमा प्रयोगमा ल्याइएको जडीबुटीहरूको प्रयोग अनुकरणीय मानिन्छ । उनीहरूको धर्म, संस्कृति, आस्था र पुर्खौंदेखिका सिकाइहरू पनि खोज आजको वैज्ञानिक युगका लागि अनुसन्धानको विषय बनेको छ । वनस्पतिको प्रयोग गरेर औषधिमूलो गर्ने व्यक्तिहरूलाई पनि यहाँको विभिन्न जनजातिहरूले फरक–फरक नाम दिएका छन् । तामाङ समुदायमा उनीहरूलाई तुसुरिवान भन्ने गरिन्छ भने थारु समुदायमा गुरुवा भनिन्छ । बाहुन र क्षेत्री समुदायमा भने तिनीहरूलाई ज्यातिष पण्डित, वैद्य आदि भन्ने गरिन्छ । यसैगरी कतै–कतै उनीहरूलाई जान्ने, धामी, झाँक्री, गुनी ओझा पनि भन्ने गरिन्छ । डोल्पा जिल्लामा भने आम्चिको नामले चिन्ने त्यस्ता व्यक्तिहरूले ४५० प्रजातिका वनस्पतिहरू स्वास्थ्योपचारमा सदुपयोग गर्न सक्ने योग्यता र अनुभव राखेका छन् ।
यसै गरी नेपालको तराई क्षेत्रका आदिवासी जनजाति मानिने थारु समुदाय आफ्नो जीवन निर्वाहका लागि वन पैदावारमा निर्भर हुँदै आएका छन् । धानखेती गर्न थालिसकेको भए तापनि तिनीहरूले आफ्नो दैनिकीको अधिकांश समय वनपैदावार संकलनमा खर्चिने गरेको पाइन्छ । तिनीहरूले वनस्पतिलाई खाद्यपदार्थ, औषधि, माछा मार्ने विषका साथै विभिन्न धार्मिक प्रयोजनका लागि प्रयोग गर्दै आइरहेका छन् । नेपालको कञ्चनपुर जिल्लाको लालझाडी जैविक मार्गमा अवस्थित शङ्करपुर गाउँ विकास समितिमा बस्दै आएका थारु जातिमा केन्द्रित रहेर सुष्मा भट्टराईले गर्नुभएको एक अध्ययनअनुसार त्यहाँका थारु समुदायमा अत्यधिक सामाजिक तथा सांस्कृतिक महत्व बोकेका दस प्रकारका वनस्पति पाइएको छ भने सात किसिमका जंगली स्रोत अत्यधिक प्रयोग गरिएको पाइएको छ । समुदायका अधिकांश बासिन्दा जंगली वनस्पतिमा निर्भर, केही अत्यधिक निर्भर, छिटपुट रूपमा थोरै मात्र निर्भर रहेको पाइएका थियो ।
सामाजिक तथा सांस्कृतिक महत्व बोकेका जंगली वनस्पतिहरूको अवस्था र परम्परादेखि नै त्यस ठाउँमा बसोबास गर्दै आइरहेका जनजातिहरूमा रहेको तिनीहरूको प्रयोगसम्बन्धी परम्परागत ज्ञान जुन एक पुस्ताबाट अर्को पुस्ताका भनेको र सुनेको आधारमा सर्दै आइरहेको त छ नै, तर त्यसको अभिलेखीकरण गर्दै वैज्ञानिक दृष्टिकोणले पनि पुष्टि हुनु आवश्यक बनेको छ । कम जग्गा, थोरै आय भएका अशिक्षित एवं सीमान्तकृत वर्गहरू नै आफ्नो जीविकोपार्जन, औषधिमूलोलगायतका कार्यमा जंगली स्रोत र त्यसमा पनि वनस्पतिहरूमा बढी निर्भर रहेको पाइन्छ । उनीहरूको शिक्षाको स्तर हेरी उचित जानकारी प्रदान गरी जडीबुटी तथा लोप हुने अवस्थामा रहेका जंगली वनस्पतिहरूको पहिचानका बारेमा समुदायलाई सचेत गराउनुपर्ने आवश्यकता देखिन्छ । त्यस्ता समुदायको वनस्पतिको उपयोगमा मात्र नभएर संरक्षणमा रहेको ज्ञान, धारणा र भूमिकालाई समेत सम्मान गर्नु आजको आवश्यकता बनेको छ । नेपालको सन्दर्भमा विकासयात्रामा पछाडि परेका तर विकासको प्रचुर सम्भावना बोकेका नेपालको ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दालाई जडीबुटीको दिगो विकासका माध्यमबाट आर्थिक समृद्धिको पथमा अगाडि बढाउने सन्दर्भमा जडबुटीको भूमिका अतुलनीय हुने देखिन्छ । फरक, फरक स्थान र हावापानीअनुसार उपयुक्त जडीबुटीको पहिचान गरी खेती बिस्तार गर्न सकेको खण्डमा जडीबुटीका लागि उर्वर भूमि नेपालमा यसको दिगो विकास हुनुका साथै निर्यात बढ्न गई मुलुकले बेहोर्दै आएको व्यापारघाटामा कमी ल्याउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।