दुई गाउँपालिका मासुमा आत्मनिर्भर «

दुई गाउँपालिका मासुमा आत्मनिर्भर

एउटै पसलबाट वार्षिक १ करोडको कारोबार

गुल्मी-गुल्मीका दुई गाउँपालिका मासुमा आत्मनिर्भर बनेका छन् । सत्यवती र धुर्काेट गाउँपालिका मासुमा आत्मनिर्भर बनेका हुन् । सत्यवती गाउँपालिका दूधमा पनि आत्मनिर्भर बनेको छ ।
स्थानीय तहको निर्वाचनसम्म मासु र दूधमा सत्यवती गाउँपालिका परनिर्भर थियो । तर अहिले अवस्था फेरिएको छ । गाउँपालिकाले एक ट्रक खसीबोका निर्यातसमेत गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । “करिब २ सय बोका भर्खर निर्यात गर्ने तयारीमा छन्,” ढकालले भने, “आयात पूर्णरूपमा रोकिएको छ ।” उनले गाउँपालिकाले व्यवस्थित तवरबाट व्यवसाय गर्नेलाई समूह बनाएर अनुदानको पनि व्यवस्था गरेको बताए ।
मासु बिक्री बितरणमा बिचौलियाको प्रवेश नभएको भन्दै उनले तौलको विशिष्टीकरणका लागि डिजिटल तराजु पनि कृषकलाई वितरण गरिएको बताए । उनले बाख्रापालन व्यवसाय विस्तारका लागि बोयर बोका बितरण गरिएको जानकारी दिए । ढकालका अनुसार एउटा पसलले मात्र एक वर्षमा करिब एक करोड रूपैयाँ बराबरको कारोबार गरेको तथ्यांक गाउँपालिकाले निकालेको छ ।
मासुमा मात्र नभएर गाउँपालिका दूधमा पनि आत्मनिर्भर हुँदै आएको छ । हाल दैनिक सय लिटर दूध निर्यात हुन थालेको अध्यक्ष ढकालले जानकारी दिए । वडा नम्बर ३ ठूलोलुम्पेकका सय घरधुरी किसान आत्मनिर्भर बन्ने गरी सो गाउँपालिकाले व्यावसायिक तरकारी खेती गरिरहेको छ ।
त्यहाँका किसानले डेढ वर्ष अघिसम्म तरकारीको बजार नपाउँदा कुहेर खेर गएकाले गाउँपालिकाले ११ लाख अनुदान दिई गाडी खरिद गरि दिएपछि अहिले त्यहाँको तरकारी बुटवलसम्म पु¥याएर बेच्न थालेका छन् । रुद्रवेणीमा तरकारी संकलन केन्द्र सञ्चालनमा ल्याएपछि किसान थप उत्साहित भएका छन् ।

धुर्कोटले बेच्योे १७ सय खसी बोका
खसी, बोका र कुखुराको मासुमा आत्मनिर्भर भएपछि प्रदेश ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मासुमा आत्मनिर्भर धुर्कोट गाउँपालिका घोषणा गरिन् । गाउँपालिकाभित्र आवश्यक मासुको व्यवस्थापनसँगै बाहिरसमेत निर्यात हुन थालेपछि मासुमा आत्मनिर्भर भएको घोषणा गरिएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए । गाउँपालिका प्रमुख पोख्रेलले आगामी तीन वर्षमा अन्डा र दूधमा समेत गाउँपालिका आत्मनिर्भर बन्ने गरी योजना अगाडी बढेको बताए ।
गाउँपालिकाले मासुमा आत्मनिर्भर बन्दै खसीबोका बाहिर निर्यात बढाउन थालेको छ । सबै वडाबाट समूह तथा सहकारीमार्फत यो वर्षमा १७ सय खसीबोका तम्घास तथा बुटबल निर्यात गरेको गाउँपालिका पशु शाखा संयोजक श्याम कार्कीले बताए । जसबाट १ करोड ३६ हजार रूपैयाँ किसानले प्राप्त गरेका छन् । अहिले धुर्कोट गाउँपालिकामा ४ सय ३३.८१ मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । गाउँपालिका आत्मनिर्भर घोषणा हुँदै गर्दा समेत १८ सय १८ किलोको खसी बोका बिक्री गरि ७ लाख २५ हजार रूपैयाँ किसानले प्राप्त गरेका छन् ।

व्यवसाय गर्नेको लर्काे
धुर्कोट गाउँपालिकाले जिल्लामै पहिलो पटक कृषकलाई उत्पादनमा आधारित अनुदान वितरण ग¥यो । गाउँपालिकाले दूधमा पनि अनुदानको व्यवस्था गरेको छ । एक सय लिटरभन्दा बढी दूध उत्पादन गरी सहकारी मार्फत बिक्री गर्ने किसानले प्रतिलिटर चार रूपैयाँ अनुदान पाउँछन् भने बार्षिक रूपमा तीन वा सोभन्दा बढी खसी बोका उत्पादन गरी सहकारी मार्फत जिउँदो तौलका आधारमा बिक्री गर्ने किसानलाई प्रतिकिलो २० रूपैयाँ गाउँपालिकाले अनुदान दिने गरेको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए । घीउ, घाँसका बीउ, बेर्ना उत्पादन गर्ने किसानका लागि पनि अनुदानको व्यवस्था मिलाइएकोछ ।
गाउँपालिकाले दूध उत्पादन बढाउन नयाँ तरीका अपनाएको छ । जसका लागि कृत्रिम गर्भाधान गरी ब्याएका पशुलाई पोषण खर्च बापत २ हजार र बाख्रालाई एक हजार दिने गाउँपालिकाले जनाएको छ । त्यस्तै गाउँपालिकाले सबै वडामा बाख्रापालन कार्यक्रम सञ्चालन गरी खोर सुधार, बोका वितरण, मासु पसल सुधार, घाँसका बीउ बेर्ना वितरण, गाईभैंसीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख शिवबहादुर खत्रीले बताए । यस वर्षमा किसानको पशु धनको सुरक्षाका लागि पशु बिमा कार्यक्रम लागू गरिएको छ । जसमा किसानले तिर्नुपर्ने प्रिमियम रकमको ५० प्रतिशतले हुन आउने रकम बाख्रामा बढीमा ६०, गाईभैंसीमा ३ सय उपलब्ध गराई कुल १६ सय ६५ बाख्रा र पाँच सय गाई भैंसीमा बिमा गराएको खत्रीले जानकारी दिए ।
धुर्कोट गाउँपालिकामा किसान व्यावसायिकरूपमा अगाडि बढ्ने क्रम बढ्दो छ । जसका लागि ६४ वटा बाख्रा फार्म, २१ वटा कुखुरापालन फार्म, सात वटा मासु पसल, छ वटा गाईभैंसी पालन फार्म रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिकामा १५ वटा समूह सहकारी रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्याम कार्कीले बताए । दुई वटा घाँसे नर्सरी र दुई वटा बंगुर नर्सरी दर्ता भएर सञ्चालनमा रहेका छन् । त्यस्तै गाउँपालिकाले व्यावसायिक किसानको पहिचानका लागि किसान परिचयपत्रसमेत बितरण गरेको छ । कार्कीका अनुसार परिचयपत्रमा छुट तथा थप हुन गएका किसानलाई पनि आगामी वर्ष वितरण गर्ने नीति लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्