Logo

उपमहानगरले बढायो करको दायरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सामान्य गोरेटोको प्रयोग र ठेला चलाए बापत कर तिर्नुपर्ने भएको छ । उपमहानगरको राजस्व महाशाखाले जारी गरेको सूचनामा ठेला चलाउनेहरुले पनि कर बुझाउनुपर्ने उल्लेख छ । सूचना जारी गरेलगतै उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक भोला अधिकारीमाथि प्रश्न गर्दै विरोध सुरु भएको छ ।

सामान्य परार्मर्स बिनै सामान्य श्रमिकलाई समेत आन्तरिक श्रोत भन्दै कर असुल्न खोजको भन्दै मजदुरहरुका संघ संघठनले आपति जनाएका छन् । उपमहानगरमा सञ्चालन रहेको एक दर्जन भन्दा बढी सामान बोक्ने ठेलामध्ये जितपुरमा ११ र सिमरामा ५ वटा सञ्चालनमा रहेका छन् भने ७ स्थानमा मोटरसाइकल चलाउन मिल्ने सामान्य प्रकृतिका बाटो रहेको उपमहानगरको आन्तरिक अध्ययनले देखाएको जनाइएको छ ।

नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले उपमहानगरको सबै शिर्षकका कर अवैज्ञानिक रहेकाले नसच्याए आन्दोलन गर्ने चेतावनी दिए । उपमहानगरको प्राय जसो सबै शिर्षकका करमा बिमति राख्दै संघले सच्याउन गरेको आग्रह अटेर गरेपछि नगरको आन्तरिक आयको राजस्व चालु आर्थिक वर्षमा ६० प्रतिशत कम हुने उपमहानगरको राजस्व महाशाखाको अनुमान छ ।

कर्मचारी प्रशासनको प्रयासमा जनप्रतिनिधिको भूमिका नहुँदा उपमहानगरको कर प्रभावित भएको छ भने करको दायरा बढाउँदा कर विवादित बनेको कर्मचारीहरु बताउँछन् । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गोरेटो, ठेलालगायतका करबारे आफूलाई जानकारी नभएको बताए । गाउँघरका गोरेटोमा स्कुटर चलाउँदा पनि अतिरिक्त (पटके सवारी कर) कायम गर्दै सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क उपमहानगरले लागु गरेको हो ।

मोटरसाइकल र स्कुटरमा कर तोकेपछि स्थानीय आक्रोशित बनेका छन् । उपमहानगरको यही चैत २० गते सम्पन्न नगर सभाले उपमहानगरको क्षेत्राधिकार पर्ने सहायक सडकमा ‘सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क (पटके सवारी कर) संकलन गर्ने निर्णय गरे बमोजिम राजस्व महाशाखाले आइतबार सूचना निकालेर सवारी धनीलाई कर बुझाउन अनुरोध गरेको हो ।

उपमहानगरको सूचनामा वार्षिक रुपमा कर बुझाउने सवारी धनीले ‘पटके कर’ तिर्नु नपर्ने उल्लेख छ । जसमा मोटरसाइकल र स्कुटरको वार्षिक १५० रुपैयाँ कर निर्धारण गरिएको छ । उपमहानगरले रिक्सा र ठेला चालकसँग वार्षिक एक सय रुपैयाँ कर उठाउनेछ भने सबै भन्दा धेरै ठूला ट्रकसँग ३ हजार पाँचसय रुपैयाँ कर संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्