व्यावसायिक तरकारी खेतीले फेरिएको जीवनशैली

भजनी नगरपालिका–५ लालबोझीकी रुपा चौधरी र उनका श्रीमान परमेश्वर चौधरी बिहानदेखि साँझसम्म तरकारी बारीमा व्यस्त हुन्छन् । केही वर्ष अघिसम्म आफूले खानलाई मात्रै तरकारी लगाउने उनीहरुले विगत ५ वर्षदेखि बेच्ने उद्देश्य राखेर तरकारी लगाउँछन् ।
कैलालीको सबै भन्दा बढि बाढी प्रभावित क्षेत्रका उनीहरु धान गहुँ लगाउने र काट्ने बाहेकको समयमा खेतबारीमा काम गर्ने गरेका थिएनन् । रुपाका श्रीमान् रोजगारीका लागि भारत पस्ने गरेका थिए । हिउँदमा पानी परेपछि मात्रै गहुँ बाली फस्टाउने र हरेक वर्ष धानबाली कान्द्रा नदीले बगाइदिने गरेको छ । खेतबारीबाट जीवनयापन गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेकी रुपाले श्रीमानलाई मजदुरी गर्न भारत पठाउने गरेकी थिइन् ।
व्यावसायिक तरकारी खेती गर्ने सीप प्राप्त गरेपछि रुपा दम्पती खेतबारीबाटै आम्दानी गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका छन् । ३० कट्ठा जमिन रहेको रुपा दम्पतीले १२ कट्ठा जमिनमा तरकारी खेती गरेका उनीहरुले वार्षिक दुईदेखि अढाई लाख रुपैयाँसम्म कमाउने गरेका छन् । “हिउँदे र बैशाखे तरकारीबाट दुईदेखि अढाई लाख रुपैयाँसम्मको तरकारी बिक्री गर्छौं” रुपाले भनिन्, “वर्षामा यहाँ कुनै पनि बाली उत्पादन हुँदैन ।”
रुपमा दम्पतीलाई उत्पादन गरेको तरकारी बजार पुर्याउन पनि सहज छ । उनीहरुले आफैंले आफ्नो तरकारीको बारी बजारमा बेच्ने गरेका छन् । “आफै उत्पादन गर्छौं, आफै बजारमा बेच्छौं” रुपाले भनिन्, “खुद्रा भन्दा पनि बढि व्यापारीलाई तरकारी बेच्छौं । भजनी, टीकापुर, बौनिया र लम्कीसम्म हाम्रो तरकारी जाने गरेको छ । अफ सिजनमा तरकारी लिन व्यापारीहरु बारीमै पुग्छन् ।”
रोजगारी खोज्न भारत जानुपर्ने अवस्था झेलेका रुपा दम्पतीले तरकारी रोप्ने र टनेल बनाउने सिजनमा गाउँलेलाई मजदुरी गर्न बोलाउने गरेका छन् । “यति जमिनमा हामी दुई जनाले मात्रै तरकारी रोप्न सक्दैनौं” उनले भनिन्, “टनेल बनाउन र तरकारी रोप्न चार जना मानिसलाई एक हप्तासम्म मजदुरीमा लगाउँछौं ।”
रुपाको परिवारमा छ जना सदस्य छन् । सासु, ससुरा, छोरा, छोरीले पनि तरकारी खेतीमा सघाउने गरेको उनले बताइन् । तरकारी खेती गर्न थालेदेखि रुपाको परिवारमा अभाव छैन । “तरकारी बेचेर निरन्तर पैसा आइरहने भएकाले अब जिविका चलाउन कुनै अभाव छैन” उनले भनिन्, “छोरा छोरीलाई स्कुल पढाउन समस्या छैन ।” विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्न थालेको रुपाको तरकारी बारी गाउँको प्रदर्शनी प्लटको रुपमा तीन वर्षदेखि विकास भएको छ ।
उनीहरुले गोलभेंडा, प्याज, करेला, भिन्दी, काउली, बन्दा, लौका, फर्सी, कांक्रा, खुर्सानी जस्ता तरकारी लगाउने गरेका छन् ।
रुपाको परिवार जस्तै लालबोझीका २० परिवारले तरकारी खेती गर्छन् । लालबोझीकै सीतारानी चौधरीले १०, गुलियादेवी चौधरीले ६, ललिता चौधरीले ५ कट्ठा र बाँकी परिवारले २ देखि ३ कट्ठा जमिनमा तरकारी खेती गरेका छन् । गाउँभरिका किसानहरु व्यावसायिक तरकारी खेती गर्न थालेपछि गाउँमा सीमापारीबाट तरकारी आउन छोडेको छ ।
गाउँलेहरुलाई दीगो विकास समाज र वल्र्ड भिजनको सहकार्यमा सञ्चालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजनाले व्यावसायिक तरकारी खेती गर्न सीप सिकाउनुका साथै व्यावसायिक तरकारी खेती गर्न उपकरण सहयोग गरेको छ । किसानलाई तरकारी खेती तालिम दिएर तरकारी लगाउन इन्सेक्ट नेट, मल्चिङ प्लाष्टिक, टनेल, थोपा सिंचाई आइरन पाइप, ड्रम, ग्रिन नेट, स्प्रे ट्यांकी, हजारी, क्रेट, साइकल, पानी मोटर, बोरिङ, पावर टिलरलगायतका सहयोग गरिएको दीगो विकास समाजका कार्यक्रम संयोजक सन्तराम चौधरीले बताए ।
उनले कैलालीका पाँच वटा पालिकाका २४ वडाका किसानलाई व्यावसायिक तरकारी खेतीका लागि सहयोग गरिएको बताए । उनका अनुसार परियोजनाले २७५ जना किसानलाई कृषि उत्पादन तथा बजारीकरण सहयोग, १८ जना किसानलाई प्रदर्शनी प्लट स्थापना सहयोग, १७० जना किसानलाई उत्पादन सहयोग गरिएको बताए ।