काकरभिट्टाबाट ६ अर्ब १० करोडको पेट्रोलियम आयात

पूर्वी नाका काकरभिट्टाबाट बर्सेनि पेट्रोलियम पदार्थको आयात बढ्दै गएकोे छ । सवारी साधनको संख्या बढ्दै गएकाले पनि पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७३/७४ मा १ करोड ५७ लाख ८३ हजार ३ सय २८.९ किलोलिटर पेट्रोलियम आयात हुदा ६ अर्ब १० करोड ६७ लाख १३ हजार ३ सय ९ रुपैयाँ खर्च भएको मेची भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । उक्त परिमाणमा पेट्रोलियम पदार्थ आयात हुँदा २ अर्ब ४२ करोड ७ लाख ८७ हजार ५ सय ९३ रुपैयाँ राजस्व संकलन भएको मेची भन्सार कार्यालयका तथ्यांक शाखाका किरण अर्यालले जानकारी दिए ।
एक वर्षको अवधिमा ३३ हजार ८३ किलोलिटर डिजेल आयात हुदा ६३ हजार ९ सय ३२ किलोलिटर पेट्रोल आयात भएको छ । सोही अवधिमा ४ हजार २० किलो लिटर मट्टितेल, ५ हजार ९ सय २० किलोलिटर हवाई इन्धन र १ करोड ५६ लाख ७६ हजार ३ सय ७३.९ किलोग्राम ग्यास आयात भएको कार्यालयले जनाएको छ ।
मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले पूर्वी नाका प्रयोग गरेर इन्धनको आयात बढ्दै गएको बताए । बर्सेनि सवारी साधनको संख्या बढ्दै गएकाले पनि पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेको उनको भनाइ छ ।
मेची भन्सार प्रयोग गरेर चालू आर्थिक वर्ष ०७४/७५ को माघ १० गतेसम्मको तथ्यांकअनुसार १९ हजार ९ सय ७६ किलोलिटर डिजेल, ३४ हजार ३ सय ६९ किलोलिटर पेट्रोल, ८ हजार ८ सय किलोलिटर हवाई इन्धन, २ हजार ३ सय ४८ किलोलिटर मट्टीतेल र ८२ लाख १ हजार १ सय ४९ किलोग्राम ग्यास आयात भएको छ ।
गत वर्ष सोही अवधिमा १३ हजार ७ सय २० किलोलिटर डिजेल, २५ हजार ७ सय ८४ किलोलिटर पेट्रोल, २ हजार २ सय ८० किलोलिटर हवाई इन्धन, १ हजार ७ सय ५२ किलोलिटर मटीतेल आयात हुदा ६३ लाख ८५ हजार ३ सय २८.८ किलोग्राम ग्यास आयात भएको भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चालू आर्थिक वर्षको माघ १० गतेसम्मको अवधिमा पेट्रोलियम पदार्थ आयात गर्दा ४ अर्ब ७ करोड २२ लाख ९५ हजार ६६ रुपैयाँ लागेको भन्सार कार्यालयका तथ्यांक शाखाका अर्यालले जानकारी दिए । उनका अनुसार उक्त परिमाणमा पेट्रोलियम पदार्थ भित्रिँदा १ अर्ब ५१ करोड ६९ लाख ४९ हजार ४ सय ३४ रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष उक्त अवधिमा ९७ करोड ७८ लाख ५३ हजार ७१ रुपैयाँ राजस्व संकलन भएको अर्यालले जानकारी दिए ।
काँकरभिट्टा हँुदै नेपाल ल्याइएको इन्धन मेची अञ्चलका झापासहित इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा खपत हुने गरेको छ । मेची अञ्चलमा वार्षिक १६ हजारभन्दा बढी नयाँ सवारी साधन थपिने गरेको मेची यातायात व्यवस्था कार्यालयका प्रमुख टंक कार्कीले जानकारी दिए । हाल १ लाख १५ हजार सवारी मेची अञ्चलमा दर्ता भएर सञ्चालनमा रहेको कार्कीले जानकारी दिए ।
यसैबीच चालूआर्थिक वर्षको ६ महिनामा मुलुकको व्यापारघाटा झन्डै ५ खर्ब रुपैयाँ पुगेको छ । पेट्रोलियम र मेसिनरी आयातसँगै खाद्यान्नसमेत आयात गर्नुपर्ने भएपछि व्यापार घाटा चुलिएको हो । साउन यता व्यापार घाटा ४ खर्ब ९३ अर्ब ८८ करोड ८१ लाख ९० हजार पुगेको भन्सार विभागले जनाएको छ । यो गत वर्षको भन्दा १५ दशमलव ५२ प्रतिशतले बढी हो । गतवर्ष सोही अवधिमा ४ खर्ब २७ अर्ब ५३ करोड ७ लाख ४९ हजार रुपैयाँ व्यापार घाटा थियो ।
मुलुकको सबैभन्दा बढी व्यापार घाटा भारतसँग ३ खर्ब ५१ अर्ब ४१ करोड १९ लाख ९० हजार छ । यस्तै चीनसँग ६७ अर्ब ८८ करोड ४० लाख ६१ हजार रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । आयातको तुलनामा निर्यात निकै कम भएपछि व्यापारघाटा प्रत्येक वर्ष बढ्दो क्रममा छ । ६ महिनाको अवधिमा ५ खर्ब ३५ अर्ब ५ करोड ५१ लाख ९८ हजार रुपैयाँका सामग्री आयात हुँदा निर्यात भने ४१ अर्ब १६ करोड ७० लाख ७ हजार रुपैयाँको मात्रै भएको छ ।
–तुलसीप्रसाद निरौला