Logo

पछिल्लो दुई वर्षको तुलनामा चालू आवको ८ महिनामै ५७ प्रतिशतले बढे विदेशी पर्यटक

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बढे पर्यटक

मानव निर्मित पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिड–१९ का कारण विगत दुई वर्ष प्रायः न्यून संख्यामा संग्रहालयमा पर्यटक आगमन भए पनि चालू आर्थिक वर्षको आठ महिनामै विदेशी पर्यटक ५७ प्रतिशतले वृद्धि भएको छ ।

पोखराको घारीपाटनमा रहेको उक्त संग्रहालयमा अवलोकन गर्न आउने विदेशी पर्यटकसहित सार्क मुलुक र आन्तरिक पर्यटकको संख्यामा ह्वात्तै वृद्धि भएको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताइन् । कोभिडपछि विस्तारै पोखरा घुमघाममा आउने पर्यटकको संख्यामा समेत वृद्धि भएको उनले जनाइन् ।

चालू आर्थिक वर्षको चैत महिनाको पहिलो सातासम्म उक्त संग्रहालयमा १० हजार ६६० जना विदेशी पर्यटक भित्रिएका छन् भने अघिल्लो दुई वर्षमा चार हजार ५३४ जना मात्र विदेशी पर्यटक भित्रिएको संग्रहालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । यसरी हेर्दा अघिल्लो २०७७/०७८ मा २३० विदेशी पर्यटक संग्रहालयमा भित्रिएका थिए भने गत वर्ष २०७८/०७९ मा चार हजार २८४ जना पर्यटक भित्रिएका थिए ।

विदेशी पर्यटकको हकमा पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा चालू वर्षको करिब आठ महिनामा ५७.४६ प्रतिशतले बढी पर्यटक भित्रिएका छन् । चालू आर्थिक वर्षको चैत महिनाको पहिलो सातासम्म उक्त संग्रहालयमा विदेशी, सार्क मुलुकसहित आन्तरिक पर्यटक गरी एक लाख ४६ हजार ६०८ जना पर्यटक भित्रिएका छन् । १४ हजार ५१३ जना सार्क मुलुकका पर्यटक, १० हजार ६६० तेस्रो मुलुकका पर्यटक, ३४ हजार ९८० जना नेपाली पर्यटक, विद्यार्थी ८० हजार ९२४, निःशुल्क रूपमा ५ हजार ९६४ जना पर्यटकले उक्त संग्रहालय अवलोकन गरेका छन् ।

गत वर्ष उक्त संग्रहालयमा सार्क मुलुकका १६ हजार ५३३, नेपाली ५० हजार ५४२, विद्यार्थी ५८ हजार ६५१ जना अवलोकन गर्न भित्रिएका संग्रहालयले दिएको तथ्यांकमा जनाइएको छ । त्यसैगरी आर्थिक वर्ष २०७७÷०७८ मा विदेशी २३०, सार्क मुलुकका १ हजार २३, नेपाली २८ हजार २५६, १३ हजार ३३९ जना विद्यार्थीसहित ४५ हजार ६०२ जना पर्यटकले संग्रहालय अवलोकन गरेका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा २० हजार २४३ जना विदेशीसहित एक लाख ८९ हजार ७१६ जना पर्यटक संग्रहालयमा भित्रिएका थिए । संग्रहायलमा २०७५/०७६ मा सबैभन्दा बढी पर्यटक आगमन भएको थियो । २०६०/०६१ बाट संग्रहालयमा पर्यटकका लागि खुला गरेसँगै २० वर्षको दौरानमा सबैभन्दा धेरै २०७५/०७६ मा ३१ हजार २३० जना विदेशी, २९ हजार २८१ सार्क मुलुकसहित दुई लाख ६९ हजार ६३८ जना पर्यटक संग्रहालय भित्रिएका थिए ।

पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । हिमाली क्षेत्रका कला संस्कृति भेषभूषासहितका गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको उक्त संग्रहालयमा अध्ययन अवलोकनका लागि पर्यटक आउने गर्दछन् । संग्रहालयमा कोरिया, जापान, ताइवानसहितका विदेशीको समेत कला संस्कृति र भेषभूषा झल्कने विषय वस्तु राखिएको संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले बताइन् ।

संग्रहालय प्रवेश गरेको विदेशीलाई पाँच सय, सार्क मुलुकका पर्यटकलाई २५०, नेपाली पर्यटकलाई १ सय, विद्यार्थीका लागि ५० रुपैया शुल्क रहेको उनले जनाइन् । त्यसैगरी संग्रहालय परिसरमा रहेको गार्डेनमा मात्र प्रवेश गर्दा भने ३० रुपैयाँ शुल्क लाग्ने गर्दछ भने फिल्म सुटिङ गर्दा आठ हजार, फोटो सुट एक हजार, गीत सुटिङ गर्नका लागि भने पाँच हजार शुल्क निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्