चिनियाँ पर्यटक आगमनको अपेक्षा «

चिनियाँ पर्यटक आगमनको अपेक्षा

कोभिड महामारीविरुद्ध शून्य नीति अपनाइरहेको छिमेकी मुलुक चीनले उक्त नीति अन्त्य गर्ने घोषणा गरेको छ । सावधानीका अन्य विकल्पसहित कोभिडविरुद्ध लड्ने उद्घोषसँगै लामै समयपछि शून्य नीतिको अन्त्य भएको छ । शून्य नीतिको अन्त्यसँगै यात्रा प्रतिबन्धहरू खुकुलो भएका र स्थल नाकाहरू पनि खुला हुन थालेको स्थिति छ । यसबाट, अंग्रेजी नयाँ वर्ष २०२३ को आरम्भसँगै नेपालमा चिनियाँ पर्यटकको आगमन वृद्धि हुने र लामो समयदेखि सुस्ताएको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा चिनियाँ पर्यटकहरूको भ्रमणको इतिहास धेरै लामो भएको छैन । सन् २००० मा नेपाल र चीनबीचमा नेपालमा चिनियाँ पर्यटकलाई भ्रमण खुला गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तत्पश्चात् चीन सरकारले सन् २००१ मा नेपाललाई पर्यटकीय गन्तव्य सूचीमा समावेश गरेको र सन् २००२ देखि चिनियाँ पर्यटकहरूले औपचारिक रूपमा नेपाल भ्रमण गर्न थालेको इतिहास छ । नेपालमा कोभिड महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा इतिहासकै सबैभन्दा बढी ११ लाख ९७ हजार पर्यटक आएका थिए । उक्त वर्ष नेपाल आएका पर्यटकहरूमध्ये भारतीयपछि चिनियाँ पर्यटकहरू सर्वाधिक संख्यामा भित्रिएको तथ्यांक छ । सो वर्ष करिब १ लाख ७० हजार चिनियाँ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

कोभिड संक्रमणको प्रभाव तथा महामारीविरुद्ध चीनले अपनाएको तुलनात्मक रूपमा कठोर नीतिका कारण त्यसयताका वर्षहरू भने पर्यटन क्षेत्रका लागि निराशाजनक रहेका थिए । सन् २०२० मा केवल १९ हजार २ सय ५७ जना चिनियाँ पर्यटक नेपाल आएका थिए भने सन् २०२१ मा यो संख्या अझै घटेर ६ हजार हाराहारीमा सीमित हुन पुगेको देखिन्छ । सन् २०२२ को नोभेम्बरसम्मको तथ्यांकमा ८ हजार २ सय ७५ चिनियाँ पर्यटकहरूले नेपाल भ्रमण गरेको देखिन्छ । यसरी हेर्दा, कोभिड महामारीअघिको अवस्थामा उत्साहजनक ढंगले बर्सेनि निरन्तर रूपमा बढिरहेको चिनियाँ पर्यटक आगमनको दर कोभिडपछिका वर्षहरूमा निराशाजनक रूपले ओरालो लागिरहेको अवस्था विद्यमान छ ।

चीन सरकारको पछिल्लो निर्णयसँगै नेपालमा चिनियाँ पर्यटकहरूको आकर्षण बढाउन सक्ने हो भने यसले पर्यटकहरूको संख्यात्मक वृद्धि गरी पर्यटन क्षेत्रको पुनरुत्थानमा त सहयोग पुग्छ नै । सँगसँगै, गुणस्तरीय पर्यटकहरूको कोटीमा पर्ने चिनियाँ पर्यटकहरूको आगमनसँगै पर्यटन क्षेत्रमा गुणात्मक प्रभाव पर्न सक्ने अवस्था रहन्छ । संसारमा सबैभन्दा बढी खर्च गर्ने पर्यटकको सूचीमा चिनियाँ पर्छन् । नेपाल राष्ट्र बैंकको केही समयअघिको एक तथ्यांकअनुसार अन्य मुलुकका पर्यटकहरूले नेपाल बसाइमा सरदर प्रतिदिन ४८ डलर खर्च गर्ने गरेकोमा चिनियाँ पर्यटकहरूले प्रतिदिन सरदर ८० डलर खर्च गर्ने गर्छन् ।

चिनियाँहरू घुमफिरसँगै किनमेलमा समेत रुचि राख्ने भएकाले यसले स्वदेशी उत्पादनलाई टेवा पुग्छ । अर्कातर्फ, पर्यटन व्यवसायीहरूले चिनियाँ पर्यटकहरूलाई अफ सिजनका आकर्षक पाहुनाका रूपमा लिने गर्छन् । पर्यटक आगमनका हिसाबले अफ सिजनको समयमा ठूलै हूल बनाएर आउने चिनियाँ पर्यटकहरूले पर्यटन क्षेत्रलाई उत्साहित तुल्याउने अवस्था रहन्छ । चिनियाँ पर्यटकहरूको आगमन दर वृद्धि गर्न सक्ने हो भने यसले नेपाल–चीनबीचको बढ्दो व्यापारघाटासमेत कम गर्न सकिन्छ । यसरी चिनियाँ पर्यटकहरूको संख्यात्मक वृद्धिले मुलुकको पर्यटन क्षेत्र र अर्थतन्त्रमा गुणात्मक रूपमा पनि महत्व राख्छ ।

नेपालमा चिनियाँ पर्यटकहरूलाई ठूलो संख्यामा भित्र्याउने सन्दर्भमा थुप्रै सुधार आवश्यक छन् । चिनियाँ पर्यटकहरूले नेपालमा खर्च गर्ने स्थान र क्षेत्र अत्यन्त सीमित रहेका छन् । चिनियाँ पर्यटकहरू पदयात्रा पर्यटनमा भन्दा ठूलो समूहमा आएर एक क्षेत्रभित्रका विभिन्न गतिविधिमा रमाउने प्रकृतिको रहेका देखिन्छन् । नेपालमा काठमाडौं उपत्यकापछि पोखरा र चितवन चिनियाँ पर्यटकहरूले सबैभन्दा बढी रुचाएका गन्तव्यका रूपमा रहेको भ्रमणसम्बन्धी तथ्यांकबाट प्रस्ट हुन सकिन्छ ।

काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको भ्रमण र पोखरा क्षेत्रमा प्याराग्लाइडिङ, जिपलाइन, हट एयर बेलुन, बन्जी जम्पिङ, बोटिङजस्ता गतिविधिहरूमा चिनियाँ पर्यटकहरू बढी रमाउने गर्छन् । यस हिसाबले चीनका नागरिकलाई नेपाल भ्रमणमा थप आकर्षित गर्न र उनीहरूले गर्ने खर्चमा अझै वृद्धि गर्नका लागि चिनियाँ पर्यटकहरूलाई लक्षित गरी पर्यटन क्षेत्रको ‘प्रडक्ट’ पनि विस्तार गर्न आवश्यक छ ।

नेपालको पर्यटन र पर्यटकीय स्थलहरूका बारेमा चीनमा उल्लेख्य रूपमा बजारीकरण हुन सकेको छैन । डेढ अर्ब हाराहारी जनसंख्या रहेको चीनमा ६५ प्रतिशतभन्दा बढी नागरिक बौद्ध धर्मावलम्बीहरू रहेको सन्दर्भमा लुम्बिनीलगायत नेपालका पर्यटकीय स्थलहरूका बारेमा चिनियाँ समुदाय तहसम्म पर्यटकीय प्रवद्र्धन गर्न जरुरी छ । नेपालमा चिनियाँ खाना र परिकार पस्कने स्तरीय होटल, रेस्टुरेन्टको संख्या पनि सीमित छ ।

चिनियाँ नागरिकहरू मूलतः आफ्नै मातृभाषामा मात्र अभ्यस्त रहने कारणले भाषागत समस्या पनि चीनमा नेपालको पर्यटन प्रवद्र्धनमा बाधक रहेको छ । नेपालमा चिनियाँ भाषाको शिक्षण सीमित र कमजोर रहेकाले सानो संख्यामा रहेका दोभाषे पर्यटक पथप्रदर्शकहरूले चिनियाँ पर्यटकहरूलाई सेवा दिइरहेका छन् । चिनियाँ पर्यटकहरूको आगमन दर वृद्धि गर्ने योजनासँगै यस्ता दोभाषेहरूको संख्यात्मक र गुणात्मक मात्रामा वृद्धि गरिन आवश्यक छ । यसका साथै, चिनियाँ भाषामा नेपालसम्बन्धी प्रवद्र्धनात्मक श्रव्यदृश्य सामग्रीहरू तयार गरी चिनियाँ सञ्चारमाध्यममा नियमित प्रकाशन, प्रसारण गर्न र अन्य आवश्यक कूटनीतिक पहल गर्न पनि उत्तिकै आवश्यक छ ।

कोभिड महामारीविरुद्ध शून्य नीति अपनाइरहेको चीनले उक्त नीति अन्त्य गर्नु पर्यटन प्रवद्र्धनका हिसाबले नेपालका लागि निकै खुसीको विषय हो । यो अवस्थाबाट नेपालले लाभ उठाउन सङ्ख्यात्मक तथा गुणात्मक रूपमा चिनियाँ पर्यटकहरूको आगमनमा वृद्धि गर्ने दिशातर्फ नेपाल सरकारलगायत सबै सरोकारवालाहरू केन्द्रित हुन सके यस दिशामा ठोस प्रगति हासिल हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्