Logo

लगानीसमेत नउठ्ने अवस्था आयो : व्यवसायी

व्यवसायीहरूले उद्योग, पर्यटन र व्यापार क्षेत्रमा लगाएको लगानीसमेत नउठ्ने अवस्था सिर्जना भएको बताएका छन् । धनगढीमा आइतबार आयोजित छलफलमा सहभागी व्यवसायीले बैंकको चर्को ब्याज, पूर्वाधार अभाव र नीतिगत व्यवस्था नभएको कारणले आफूहरूले गरेको लगानी डुबिरहेको बताएका हुन् । उनीहरूले आर्थिक मन्दी, कोभिडको मारले गर्दा खस्किएको अर्थतन्त्र बैंकको चर्को ब्याजले झनै धरासायी भएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले पर्यटन पूर्वाधार नबनेको र सरकारले नीतिगत व्यवस्थासमेत नगरेको हुनाले पर्यटन क्षेत्रमा लगाएको लगानी नउठ्न अवस्था रहेको बताए । उनले सुदूरपश्चिममा पर्यटन सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र भए पनि भारतबाट पर्यटक ल्याउने नीति सरकारले नबनाएका कारण होटल, रेस्टुरााँर टुर एण्ड ट्राभल्समा गरेको लगानी खेर गइरहेको बताए ।

पर्यटन क्षेत्रमा लगानी गर्दा सरकारले भारतीय पर्यटकले आफूले ल्याएको गाडी विमानस्थलमा पार्किङ गर्ने व्यवस्था, पर्यटन क्षेत्रमा कर छुटको व्यवस्थालगायतका पर्यटक आकर्षित गर्ने नीतिगत व्यवस्था र पूर्वाधार विकास गर्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले वित्तीय सुशासन नभएको कारण व्यवसायीले व्यवसायमा सफलता पाउन नसकिरहेको बताएका छन् । उनले हरेक कारोबारलाई डिजिटाइजेन गरेर वित्तीय सुशासनविपरीत हुने कारोबारलाई रोक्न सकेमा धेरै हदसम्म व्यवसायी र अर्थतन्त्रको समस्या समाधान हुने बताए ।

उनले सहजरूपमा कर तिर्ने र घुस ख्वाउनु नपर्ने अवस्था सिर्जना गरे उद्योगी व्यवसायीलाई राहत हुने बताए । उनले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिलाई सरकारले ध्यान नदिंँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । पछिल्लो दशकमा आर्थिक क्षेत्रमा लगानी बोर्ड गठनबाहेक सबै राजनीतिक दस्तावेजमात्र ल्याइएको बताउँदै उनले अर्थतन्त्र वैदेशिक रेमिट्यान्समा निर्भर भएको बताए । उनले नेपालमा रेमिट्यान्सले उपभोग अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रको अर्थतन्त्र बारे प्रस्तुति गर्दै पत्रकार दिर्घराज उपाध्यायले सुदूरपश्चिम क्षेत्रमा पर्यटन, कृषि र जडिबुटी प्रशोधन उद्योगमार्फत् आर्थिक विकास गर्न सकिने बताए । उनले तीन तहकै सरकारले सामूहिक रूपमा प्रदेशको आर्थिक विकासका लागि काम गर्नुपर्ने बताए । उनले सरकारले पूर्वाधार विकासमा लगानी गर्नुपर्नेमा अध्ययनको क्षेत्रमा मात्रै लगानी गरिरहेको भन्दै प्रदेश सरकारको आलोचना गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र समस्या पैदा भएको बताए । उनले अर्थतन्त्रमा देखिएको समस्याको कारण सबैभन्दा बढी उद्योगी व्यवसायी पीडित भएको बताए । “सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ,” उनले भने, “यसले हामी सबैलाई पीडित बनाएको छककक । सरकारले लगत आर्थिक नीतिलाई तत्कालै नसच्याएमा देशको अर्थतन्त्र सखाप हुन्छ ।”

सुदूरपश्चिम क्षेत्रमा पर्यटनको अथाह सम्भावना भएको भन्दै उनले यसमा सहकार्य र सामूहिक भावनामार्फत् अगाडि बढ्न सकिने बताए । उनले पर्यटनको विकासमा सकारात्मक सोच र इच्छाशक्ति चाहिने बताए । श्रेष्ठले आफ्नो परिवारको सानो व्यवसायबाट अगाडि बढ्दै विस्तार भएको जानकारी दिँदै उनले आफूले उद्योगी व्यवसायीको समस्या नजिकबाट भोगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्