गरिबी र अशिक्षाले दुर्गमका बालबालिकामा शीघ्र कुपोषण

गरिबी अशिक्षा र देखासिकीले गरिएको बालविवाहको असर बालबालिकामा देखिन थालेको छ । सानैमा विहे गरेका आमा बाबुबाट जन्मिएका अधिकांश बालबालिका होचो, कम तौल, ख्याउटेपन, सुस्त मनस्थितिको हुने गरेका छन् ।
एक सर्वेक्षणको तथ्यांकअनुसार जुम्लाको सिंजा क्षेत्रका तीन पालिकाका पाँच वर्षमुनिका बालबालिकामा शीघ्र कुपोषण बढ्दै गएको पाइएको छ । सानैमा विहे गरेर बच्चा जन्माउनु, पोषिला खानेकुरा खाने खुवाउनेबारे ज्ञान नहुँदा सिंजाक्षेत्रका बालबालिकामा शीघ्र कुपोषण देखिएको हो । सिंजा क्षेत्रका तीन पालिकाका एक हजार ५९ जना बालबालिकामा गरिएको सर्वेक्षण गरिएको थियो ।
जसमा सिंजा गाउँपालिकाका २३७ बालबालिकामा गरिएको पोषण सर्वेक्षणअनुसार सबैभन्दा बढी सिंजामा १३ जना बालबालिकामा शीघ्र कुपोषण र १५ जनामा मध्यम कुपोषण देखिएको छ भने कनकासुन्दरीका ४३८ जनामा सर्वेक्षण गर्दा पाँचजना शीघ्र कुपोषित र ६० जना बालबालिका मध्यम कुपोषणबाट ग्रसित भएको पाइएको छ ।
त्यस्तै हिमाका ३८७ बालबालिकाको पोषण सर्वेक्षण गर्दा ६ जनामा शीघ्र कुपोषण र ३७ जनामा मध्यम कुपोषण फेला परेको हो । यसरी तीन पालिकाका एक हजार ५९ बालबालिकामा गरिएको सर्वेक्षणमा जम्मा २४ जना बालबालिकालाई शीघ्र कुपोषण र ११२ जना बालबालिकामा मध्यम कुपोषण देखिएको सेडा नेपाल जुम्लाका परियोजना संयोजक प्रेम सिंहले बताए ।
उनका अनुसार सेडा नेपाल र सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीहको संलग्नतामा तीनै तहका २१ वटै वडामा पोषण सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा बालबालिकाको तौलम, उचाइलगायतको परीक्षण गरिएको थियो । परियोजना संयोजक सिंहले भने, “पाँच वर्षमुनिका बालकको तौल १८.३ किलो, बालिकाको तौल १८.२ किलो हुनुपर्छ । उचाइ १०९.२ सेन्टिमिटर हुनुपर्ने, शारिरिक, मानसिक, भाषिक, र संवेदनात्मक विकास भएको हुनुपर्नेमा सिंजाका अधिकांश बालबालिकामा पोषणको सूचकमा नपरेको पाइयो ।”
स्थानीय सरकारले ठोस नीति बनाई आमा तथा बच्चाको पोषण अवस्था सुधारमा जनचेतनामूलक कार्यक्रम नगरे शीघ्र कुपोषणको स्थिति बढ्दै जाने उनको भनाइ छ । प्लानको आर्थिक सहयोगमा सेडा नेपालद्वारा सञ्चालित बालबालिकाको सपना परियोजनाले ग्रामीण बालबालिकामा बढ्दो शीघ्र र मध्यम कुपोषणदर घटाउन सर्वोत्तम पिठो बनाउने सीप सिकाउने देखि पाँच वर्षमुनिका बालबालिकाको स्याहार सुसारका बारेमा जनचेतना दिने गरेको संयोजक सिंहले जानकारी दिए ।
सानैमा विवाह गर्ने, प्रजनन स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउने, बच्चा आफ्नो स्याहारमा ध्यान नदिने, घरको आर्थिक अवस्था कमजोर हुनेलगायतका कारणले गाउँका बालबालिकामा कुपोषणको समस्या बढेको पाइएको छ । एमडीआईले वितरण गर्दै आएको सर्वोत्तम पिठो हिउँदको तीन महिनामा वितरण नगर्ने र त्यही पिठो खाने बानी बसेका बालबालिका र घरमै सर्वोत्तम पिठो बनाउन नजानेका बच्चाहरू कुपोषणको शिकार बन्ने गरेका छन् । सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाका सबै बालबालिकालाई सुपोषित बनाउन बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत् मातृशिशुको सुरक्षा तथा पोषण वृद्धिका लागि काम गर्दै आएको बताए ।