मूल्य घटाउन अटेरी गर्दै निगम «

मूल्य घटाउन अटेरी गर्दै निगम

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दै आएको छ । तर, नेपाल आयल निगम भने स्वदेशी बजारमा मूल्य घटाउन आनकानी गर्दै आएको छ । पेट्रोलियम पदार्थको कारोबार गरी निगमले १५ दिनमा ६० करोड रुपैयाँ नाफामा कमाइ रहेको छ ।

नाफामा भएपनि इण्डियन आयल कर्पोरेसन (आईओसी) लाई ४ अर्ब ८० करोड र नेपाल सरकारलाई ६ अर्ब ३० करोड ऋण गरी ११ अर्ब १० करोड तिर्न बाँकी भन्दै स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने सोचमा निगम बसेको छ । पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन नाफा भएपनि खाना पकाउने एलपि ग्यासमा प्रतिसिलिण्डर ६ सय ३५ रुपैयाँ निगमले घाटा व्यहोर्नु परेको हुँदा पेट्रोलियम पदार्थमा मूल्य नघटाएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

नेपाल सरकार र आईओसीको ऋण गरी निगमलाई ११ अर्ब १० करोड रुपैयाँ अझै तिर्नु पर्ने भएको हुँदा निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाउने नसकेको उनको भनाइ छ । उनले आईओसीले पठाएको नयाँ मूल्यअनुसारमा पेट्रोल र डिजेल मात्र थोरै मात्र मूल्य घटेर आएको बताए । उनको अनुसार १६ मार्चमा आईओसीले पठाएको नयाँ मूल्यसूचिमा पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ । अन्य पदार्थमा यथावत नै रहेको उनले बताए ।

पछिल्लो पटक निगम पेट्रोलियम पदार्थमा नाफा भएपनि घाटा पकाउने ग्यासमा ठूलो घाटा व्यहोर्नु परेको हुँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेपनि निगमले घटाउन नसकेको उनको भनाइ छ । कार्कीका अनुसार निगम खाना पकाउने ग्यासमा हाल २ अर्ब १० करोड घाटामा छ । अन्य पेट्रोलियम पदार्थको कारोबार गरी १५ दिनको ६० करोड नाफामा छ । एलपि ग्यासको घाटामा अन्य पदार्थबाट हुने नाफाले व्यवस्थापन गरी रहेको कार्कीले जानकारी दिए ।

यसैगरी उनले नेपाल सरकारको र आईओसीको ऋणको ब्याज मात्र मासिक करिब ९ करोड बुझाउनु पर्ने हुँदा अहिले निगमले तेलमा मूल्य समायोजन गर्न नसक्ने उनको भनाइ छ । अहिले बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

यसअघि आईओसीले निगमलाई पठाएको नयाँ मूल्यअनुसार डिजेलमा ५ रुपैयाँ ५ पैसा र पेट्रोलमा १ रुपैयाँ २१ पैसाले घटाएर पठाएको थियो । यस्तै खाना पकाउने ग्यासमा भने ३ सय रुपैयाँले मूल्य बढेर आएको थियो । नेपाल राष्ट्र बैंकको पछिल्लो रिपोर्टनअनुसार अन्तर्राष्ट्रिय बजारमा २०७८ माघ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ९७.५० रहेको कच्चा पेट्रोलियमको मूल्य २०७९ माघ मसान्तमा १२.३ प्रतिशतले कमी आई अमेरिकी डलर ८५.४६ कायम भएको छ ।

त्यसैगरी १६ मार्चको प्रति व्यारल अमेरिकी डलर ७४ छ । अमेरिकमा पछिल्लो समय वित्तीय क्षेत्रमा ठूलो समय आएकाले कच्चा तेलमा मूल्य घट्दै जाने सम्भावना भएको हुँदा अर्काे पटक निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउन सक्ने कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्