बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानका चितवन संयोजक पक्राउ

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्ने उद्देश्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बनाएको समितिका चितवन संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीले संयोजक शम्भु थापालाई नियन्त्रणमा लिएको हो । चितवन प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने अभियानमा थापा संलग्न रहेको पाइएकाले नियन्त्रणमा लिइएको जानकारी दिए ।
फागुन १ गते झापाको काँकडभिट्टामा कार्यक्रम आयोजना गरी व्यवसायी दुर्गा प्रसाईंले खुलेआम लघुवित्त र बैंकका कर्मचारीमाथि जाइलाग्ने बताएका थिए । उनले त्यसका लागि झापामा २ सय जना युवाको दस्ता तयार पारेका छन् । त्यसलगतै प्रसाईंको जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलेर पैसासमेत लुटिएको घटना बाहिरिएको थियो ।
जाजरकोट घटनापछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले गृह सचिव विनोद सिंहलाई भेटेर सुरक्षा दिन माग गरेका थिए । गृह मन्त्रालयले शुक्रबार मात्रै सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई परिपत्र गरी बैंक तथा वित्तीय संस्थाक एवं कर्मचारीको सुरक्षा व्यवस्थामा अलर्ट रहन निर्देशन दिएको थियो ।