वनजन्य उद्योगमा निजी क्षेत्रको ८६ अर्ब लगानी

नेपालको वनजन्य उद्योगमा निजी क्षेत्रले हालसम्म करिव ८६ अर्ब लगानी रहेको पाइएको छ । पछिल्लो समय वन पैदावारको माग बढेसँगै वनजन्य उद्योगमा लगानी गर्न निजी क्षेत्र उत्साहित देखिएका छन् ।
नेपाल वन पैदावार उद्यम व्यवसायी महासंघका अनुसार हालसम्म निजी क्षेत्रले लगानी गरेका वनजन्य उद्योगको संख्या ५ हजारभन्दा बढी छ । सःमिल, कत्था (खयर), प्लाइउड उद्योग, फर्निचर उद्योग जस्ता वनजन्य उद्योगमा निजी क्षेत्रको लगानी छ । पछिल्लो समय ठूला र आधुनिक भवन निर्माणसँगै काठ खपत बढ्नु, आधुनिक झ्याल तथा ढोकाको प्रयोग बढ्नु, प्लाइउडको माग बढ्नु र सोफा, दराज, टेबल, खाटलगायतका फर्निचरका सामाग्रीहरूको प्रयोग बढेसँगै यस्ता सामग्रीहरूको बजार माग पनि दिनानुदिन बढ्दै गइरहेको छ । वन पैदावारको बजार माग बढेसँगै वनजन्य उद्योग पनि बढ्ने क्रममा रहेको महासंघले जनाएको छ । महासंघका अनुसार वनजन्य उद्योग स्थापना बढाउन सके विदेशबाट आयात हुने फर्निचरजस्ता रेडिमेड सामग्रीहरूको आयात रोकिने छ । वन क्षेत्रमा लगानी गर्न निजी क्षेत्र उत्साहित रहे पनि नेपालमा लगानीमैत्री वातावरणको व्यवस्था हुन नसकेको व्यवसायीहरूको गुनासो छ ।
पछिल्लो समय भने वन तथा भू–संरक्षण मन्त्रालयले वनमा लगानी गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहनका योजनाहरू बनाएको छ । वन पैदावारको बिक्री वितरण बढाउँदै वनबाटै आर्थिक समृद्धि हासिल गर्नका लागि वनमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको भन्दै वन मन्त्रालयले निजी क्षेत्रसँग पनि छलफल भइरहेको बताएको छ । मन्त्रालयले निजी क्षेत्रले वनजन्य उद्योगमा गरेको लगानीका कारण वन पैदावारको खपत बढिरहेको भन्दै वनबाटै मुलुकको कुल गार्हस्थ्य उत्पादन बढाउन वनजन्य उद्योगको बिकास हुन आवश्यक रहेको बताउँदै आइरहेको छ ।
वन मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले वन नीति २०७१ मा वनमा निजी क्षेत्रलाई लगानी गर्न उचित वातावरण दिएर प्रोत्साहन गर्ने उल्लेख भए पनि कार्यान्वयनमा आउन नसको स्वीकार गर्दै कार्यन्वयनका लागि तयारी भइरहेको बताएका छन् । “वन क्षेत्र अव व्यवसायमुखी हुनुपर्छ र राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा वनको योगदान बढाउन निजी क्षेत्रको लगानी आवश्यक छ,” उनले भने, “अन्य क्षेत्रहरूमा जस्तो वनजन्य उद्योगहरू आवश्यकताअनुसार फस्टाएका छैनन्, अव सातै प्रदेशमा वन उद्यम विकासका कार्यक्रम लैजाने तयारी गरिरहेका छौं ।”
जीसीका अनुसार वन पैदावारको बिक्री वितरण बढाउनका लागि वनजन्य उद्योगको आवश्यक छ । वनजन्य उद्योग विकासका लागि अन्तरमन्त्रालय र निजी क्षेत्रको समन्वय आवश्यक रहेको जिसीको भनाइ छ । नेपाल वन पैदावार उद्यम व्यवसायी महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले लगानी सुरक्षित हुन नसकेको र बैंकले ऋण नपत्याउने समस्याका कारण वन उद्योगमा लगानी गर्न सहज नभएको बताए । “वन उद्योगको आवश्यकता त छ, ५ हजारभन्दा बढी उद्योगमा निजी क्षेत्रको ८६ अर्ब लगानी छ, तर त्यो लगानीको सुरक्षा छैन,” उनले भने, “निजी क्षेत्रलाई वन उद्योगमा लगानी गर्न प्रत्साहित गर्नका लागि लगानीमैत्री वातावरण सरकारले सिर्जना गरिदिनुपर्छ ।”
उद्योग दर्तादेखी वन पैदावार बिक्री वितरणसम्म सरकारको झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्ने बाध्यताका कारण वन उद्योगमा लगानी गर्न निजी क्षेत्रलाई निरुत्साहित गराएको उनको भनाइ छ ।