Logo

प्रदेश राजधानीकै महिला विभेद भोग्न बाध्य

नेपालको संविधान २०७२ ले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यको परिकल्पना गरेको भए पनि कर्णाली प्रदेशको राजधानीमै महिला विभिन्न प्रकारका विभेद भोग्न बाध्य रहेको पाइएको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा न्यायिक समिति वीरेन्द्रनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाले अझै पनि विभेद र हिंसा भोग्न बाध्य भएको बताएका हुन् ।

ज्यालामा विभेद भोग्नु परेको, महिलाहरुले विभिन्न किसिमका हिंसा भोग्नु परेको तथा हिंसा पीडित महिलाले सजिलै न्याय पाउन नसकेको उनीहरूको भनाइ छ । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील आवाज संस्था सुर्खेतकी निशा पौडेलले प्रदेश राजधानीमै महिलाले समान कामको समान ज्याला पाउन नसकेको उल्लेख गरिन् । हिंसा प्रभावित महिलाले न्याय पाउन धेरै चुनौती मोल्नुपर्ने अवस्था रहेको पौडेलले बताइन् ।

यस्तै नवज्योति केन्द्रमा कार्यरत जरमाया बाँठाले पनि हिंसा प्रभावित महिलाले न्यायिक लडाइँ लड्नै मुश्किल हुने गरेको बताइन् । उनले असाहयको सहायताका लागि नियुक्त गरिएका वैतनिक वकिलको पनि सहयोगी भूमिका नभएको गुनासो गरिन् । न्यायिक प्रक्रिया ढिलो र झण्जटिलो हुँदा हिंसा पीडित महिलाले न्याय पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ ।

शिक्षक ज्ञानु गैरेले भने महिलाले सामाजिक सञ्जाललगायत प्रविधिका माध्यमबाट पनि हिंसा भोग्नु परेको बताइन् । प्रविधिको विकासलाई सबैले प्रयोग गर्न पाउने अधिकार भए पनि इन्टरनेटमा आधारित माध्यामबाट महिलाले हिंसा खेप्नुपरेको दुःखेसो गरिन् । हुम्लाकी विनिता बुढाले सहरमाभन्दा ग्रामीण क्षेत्रमा महिलाले अझैसम्म उस्तै विभेद झेल्नु परेको सुनाइन् । सहरमा अधिकार र चेतनाका कुरा गरे पनि ग्रामीण क्षेत्रका महिलाले अझै कुसंस्कार र कुरीति व्यहोर्नु परिरहेको बुढाको भनाइ छ ।

महिला बालबालिकालगायत लक्षित वर्गको कानुनी हक अधिकार एवं न्यायमा पहुँच विषय अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्ला न्यायाधीश मनोज श्रेष्ठले सहभागीका गुनासा एवं जिज्ञासा सुनिसकेपछि महिलामाथि हुने हिंसा र विभेदको अन्त्यका लागि सबै सरकोकारवालाले जनचेतना फैलाउन जरुरी रहेको औंल्याए । कानुनी रूपमा विभेदको अन्य गरिएको भए पनि व्यावहारिक कार्यान्वयनका लागि सबै सरोकारवालाले चेतना फैलाउन आवश्यक रहेको न्यायाधीश श्रेष्ठको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले महिलामाथि हुने विभेद तथा हिंसा अन्त्यका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । हिंसा र विभेद अन्त्यका लागि आत्मनिर्भर बनाउनुपर्छ भन्ने उद्देश्यले वीरेन्द्रनगरका महिलालाई आत्मनिर्भर बनाउनेतर्फ नगरपालिका लागिरहेको नगरप्रमुख ढकालले बताइन् ।

उप्रमुख एवं न्यायिक समितिका संयोजक निलकण्ठ खनालले महिला तथा विपन्न समुदायको न्यायमा पहुँच पुर्‍याउनका लागि नगरपालिकाले कानुनी सहयातालगायतका कार्यक्रम गरिरहेको बताए । हरेक वर्ष अंग्रेजी महिना मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । यस वर्षको नारा ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने तय गरिएको छ । यस वर्षको महिला दिवस आज (बुधबार) विविध कार्यक्रम गरी मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्