आर्थिक विकासमा मेला-महोत्सव

यतिबेला देशका विभिन्न स्थानमा मेला, महोत्सव र प्रदर्शनीहरूको सिलसिला चलिरहेको छ । विशेष गरी दसैंतिहार आसपासदेखि वैशाखसम्म यस्ता महोत्सव, औद्योगिक मेला, व्यापार मेला र प्रदर्शनीहरू हुने गरेका छन् । कोभिड महामारीका कारण सिर्जित असहज अवस्थाका कारण बितेका दुई–तीन वर्षयता रोकिएका मेला–महोत्सवहरू पुनः सुचारु हुन थालेका छन् । बर्सेनि लाखौं मानिस संलग्न हुने र ठूलै आकारको आर्थिक कारोबार हुने यस्ता मेला, महोत्सव र प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रलाई गतिशील तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याइरहेका छन् ।
स्थानीय स्तरमा उद्योगी–व्यवसायीहरूका संघ, संगठन, प्रदेश सरकार, स्थानीय तह, गैरसरकारी संस्था, नागरिक समाजका संगठन, विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय समुदायको आयोजनामा यस्ता महोत्सवहरू हुने गर्छन् । कतिपय मेला–महोत्सवलाई नेपाल सरकारका विषयगत मन्त्रालयहरू र नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आएको छ । मूलतः देशभित्र हुने यस्ता मेला महोत्सवहरूमा गैरसरकारी क्षेत्रकै अग्रणी भूमिका रहँदै आएको पाइन्छ । व्यापार व्यवसायको प्रवद्र्धन, वस्तु र सेवाको बजारीकरण एवं स्थानविशेषका मौलिक संस्कृतिको जगेर्ना र संवद्र्धन गर्ने मूल उद्देश्यले आयोजना गरिने यस्ता मेला महोत्सवहरूले विभिन्न आयामबाट मुलुकी अर्थतन्त्रमा टेवा पुर्याउने गर्छन् ।
मेला–महोत्सवहरूले आर्थिक अवसरको व्यापक सिर्जना गर्छन् । स्थानीय स्तरमा पर्यटकीय तथा आर्थिक गतिविधिहरू चलायमान बनाउने अवसरका रूपमा मेला–महोत्सवको भूमिका रहन्छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीले महत्व पाउने भएकाले बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउने अवस्था रहन्छ । कृषि र पशुजन्य स्थानीय उत्पादनका अतिरिक्त ठूला औद्योगिक उत्पादनलगायतका उत्पादक र उपभोक्ताहरूको आमनेसामने हुने थलोका रूपमा मेला–महोत्सव रहेका हुन्छन्, जसबाट उत्पादकहरूले आफ्ना उत्पादनको प्रवद्र्धन, उपभोक्ता सर्वेक्षण र बजारीकरणमार्फत बजार संरचनाको आधार निर्माण गर्ने अवसर प्राप्त गर्छन् । कच्चा पदार्थदेखि उत्पादित अन्तिम वस्तुसम्मको बजार यस्ता मेला महोत्सवहरूमा रहेको हुन्छ ।
ठूला औद्योगिक घराना र स्थानीय समुदायको जमघटमार्फत राष्ट्रिय र स्थानीय अर्थतन्त्रको ‘फ्युजन’ हुने अवसरका रूपमा यस्ता मेला–महोत्सव रहेका हुन्छन् । त्यसैगरी मेलाका अवलोकनकर्ता वा उपभोक्ताहरू यस्ता अवसरमा दिइने विभिन्न छुट र अफरहरूबाट लाभान्वित हुनुका साथै वस्तु र सेवा छनोटको अवसर प्राप्त गर्छन् । उत्पादक एवं उद्योगी–व्यवसायीहरूसँग सीधै अन्तरक्रिया गर्ने र पृष्ठपोषण दिने मौकासमेत आम उपभोक्ताहरूलाई यस्तै अवसरहरूमा जुट्छ । समय–समयमा हुने यस्ता अवसरहरूमा कृषक, उद्योगी, व्यवसायी र उपभोक्ताहरूको उत्साह, सक्रियता र जागरुकताले उद्यमशीलताको विकास गर्नमा समेत टेवा पुग्छ ।
यस्ता समारोहहरूमा छोटो समयका लागि भए पनि स्थानीय मजदुरलगायत व्यापारिक स्टलहरूमा रहने कामदारहरूलाई राम्रो रोजगारीको अवसर सिर्जना हुने गर्छ । दीर्घकालमा मेला महोत्सवमार्फत स्थानीय र राष्ट्रिय उत्पादनहरूको अभिवृद्धि भई रोजगारीका व्यापक अवसरहरूको सिर्जना हुने परिस्थिति निर्माणमा रहने भूमिका त छँदै छ ।
मेला, महोत्सव र प्रदर्शनीहरू पर्यटन प्रवद्र्धनको सशक्त माध्यम पनि हुन् । यस्ता गतिविधिहरूले केही हदसम्म विदेशी पर्यटकहरूलाई समेत आकर्षित गर्ने र मूलतः आन्तरिक पर्यटनलाई प्रत्यक्ष रूपमा बढोत्तरी गरिरहेको पाइन्छ । मेला–महोत्सवको अवलोकन गर्न एवं वस्तु र सेवाको खरिद–बिक्री गर्न टाढाटाढाबाट मानिसहरूको घुइँचो मेलास्थलमा लाग्छ । यसबाट मेलाका आयोजक एवं बाह्य र स्थानीय व्यवसायीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुन्छन् नै, साथै पर्यटन प्रवद्र्धनका कारण अप्रत्यक्ष रूपमा विभिन्न लाभहरूको सिर्जनासमेत हुने गर्छ ।
स्थानीय स्तरमा हुने मेला र प्रदर्शनीहरूले स्थानीय कृषि एवं पशुजन्य उपज, घरेलु तथा हस्तकलाका सामानलगायत स्थानीय उत्पादनहरूलाई समेत प्रवद्र्धन र प्रोत्साहन पुग्छ । मेला–महोत्सव र प्रदर्शनीकै लागि कृषकहरूमा आफ्ना उत्पादनलाई उत्कृष्ट तुल्याउन लामो समयदेखि मेहनत र परिश्रम गर्ने प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ । यसैगरी क्षेत्रीय र राष्ट्रिय स्तरमा हुने औद्योगिक मेलालगायतले राष्ट्रिय औद्योगिक उत्पादनहरूको बजारीकरण र प्रवद्र्धन गर्ने सशक्त माध्यमका रूपमा भूमिका खेल्छन् ।
देशमा औद्योगिक विकासको गतिलाई अगाडि बढाउने दिशामा यस्ता अवसरहरू कोसेढुंगाका रूपमा रहेका हुन्छन् । पछिल्लो समयमा नेपालमा आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय व्यापार मेला तथा महोत्सव पनि हुने गरेका छन् । यस्ता महोत्सवमा विदेशी उत्पादनहरू र उद्यमीको सहभागिता रहने गर्छ । यही अवसरमा हुने गरेका ‘बीटुबी’ बैठकहरूले स्वदेशमा उत्पादित वस्तु तथा सेवाका बारेमा विदेशी सहभागीहरूलाई जानकारी पुग्ने अवस्था सिर्जना हुने गरेको छ ।
स्थानीय स्तरमा मेला–महोत्सवहरूको आयोजना भएकै कारण ती स्थानको चौतर्फी विकासको ढोका खुलेको र मुहार फेरिएका विभिन्न उदाहरणहरू छन् । कतिपय मेला–महोत्सवमा जनप्रतिनिधिहरूलगायत विभिन्न राष्ट्रिय व्यक्तित्वहरूको समेत उपस्थिति रहने र स्थानीय स्तरमा विद्यमान समस्या र कठिनाइहरूलाई नजिकबाट बुझ्ने एवं समाधानका लागि आवश्यक पहल गर्ने अवसरसमेत यस्ता मेला–महोत्सवहरूले जुटाउने गर्छन् ।
साथै, मेलाबाट आर्जन भएको आम्दानीको निश्चित हिस्सा त्यही क्षेत्रमा स्कुल, कलेज र स्वास्थ्य संस्थाहरू निर्माण गर्ने, बाटोघाटो, कुलो, पैनी आदि निर्माण गर्नेजस्ता सामाजिक र भौतिक विकासका क्षेत्रहरूमा लगानी गर्ने गरेका समाचारहरू पनि सञ्चारमाध्यमहरूमा आउने गरेका छन् । यसबाट मेला, महोत्सव र प्रदर्शनीहरूका कारण देशको चौतर्फी विकासका लागिसमेत केही हदसम्म टेवा पुगिरहेको छ ।
मेला, महोत्सव र प्रदर्शनीहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान र मजबुत तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक टेवा पु¥याउनुका साथै अन्य विभिन्न आयामहरूबाट देश विकासमा योगदान गरिरहेका छन् । अतः सरकारी तवरबाटै निजी, सहकारी एवं सामुदायिक क्षेत्रहरूसँग समेत साझेदारी गर्दै यस्ता अवसरहरूको प्रवद्र्धन गर्न, निरन्तरता दिन र सन्तुलित रूपमा मेला–महोत्सवहरूको आयोजना गरी प्रोत्साहित गरिन अपरिहार्य छ ।