अष्ट्रेलियाको आईटी तालिम नेपालमै «

अष्ट्रेलियाको आईटी तालिम नेपालमै

गैरआवासीय नेपालीहरूले नेपालमै बसेर अन्तर्राष्ट्रिय आईटी करिअर बनाउन सघाउने भएका छन् । लामो समयदेखि ‘ब्रेन गेन’को मुद्दा नेपालर विदेशमा बस्ने नेपालीबीच उठ्दै आएको सन्दर्भमा अष्ट्रेलियामा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपालीले बुट क्याम्पमार्फत अन्तर्राष्ट्रिय स्तरको तालिम दिने भएका हुन् ।

अष्ट्रेलियाको सिड्नी र क्यानबेरामा ‘कोडिङ बुटक्याम्प’ सञ्चालन गर्दै आएको डेण्टेड कोड एकेडेमीले नेपालमा पनि ‘कोडिङ बुट क्याम्प’ सुरु गर्न लागेको जानकारी दिएको छ । एकेडेमीले नेपालमा छ महिनाको ‘फुल–स्ट्याक वेब डेभलपमेन्ट’ र तीन महिनाको ‘वेब डेभलपमेन्ट’ तालिम सुरू गर्न लागेको जनाएको छ ।

एकेडेमीले सुरुमा ‘बुट क्याम्प’ हाईब्रिड हुने र उपयुक्त जनशक्ति तयार भएपछि हाईब्रिडसँगै भौतिक रुपमा नै तालिम कक्षा सञ्चालन हुने जानकारी दिएको छ । एकेडेमीका सीईओ प्रेम आचार्यले नेपालमा बसेर विदेशका कम्पनीमा काम गर्न सक्ने सीपसँगै नेपालबाट सफ्टवेरयर सम्बन्धी सेवा र उत्पादन विदेश निर्यात गर्ने अवस्था बनाउनु आफूहरूको लक्ष्य रहेको बताए ।

आईटीको क्षेत्रमा लाग्न चाहनलेलाई यो क्षेत्रमा करिअर बनाएर ‘डलरमा कमाएर नेपाली रूपैयाँमा खर्च गर्ने’ अवस्था बनाउनु आफूहरूको ध्येय रहेको भन्दै आचार्यले अष्ट्रेलियामा पाएको सफलता नेपालमा बाँढ्न चाहेको बताए । एकेडेमीले सुरूमा तालिम सञ्चालन गर्ने, दक्ष जनशक्ति तयार भएपछि विदेशबाट सफ्टवेयर सम्बन्धि कामहरू नेपालमा ल्याउने साथै ‘स्टार्ट अप’ हरूलाई मञ्च प्रदान गरेर आईटीमार्फत देशको रोजगार र आर्थिक विकासमा समेत योगदान दिने लक्ष्य राखेको छ ।

डेण्टेड कोडका बिजनेस डेभेलोपमेन्ट म्यानेजर तथा सफ्टवेयर ईंजिनियर मदनमणि अधिकारीले विद्यार्थीहरूले नेपालमा रहँदा नै करिअर र पढाईका बारेमा योजना नबनाउँदा अष्ट्रेलिया पुगेर शारिरीक श्रमका पेशामा लामो समय अड्किनु परेको बताए । “यदि नेपालबाट सीप सिकेर जाने हो भने अष्ट्रेलियाको आईटी क्षेत्रमा विद्यार्थी भिजामा रहँदा नै राम्रो करिअर बनाउन सकिने सम्भावना छ” उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्