लघुवित्तले आत्महत्या गर्न बाध्य बनाएको गुनासो

लघुवित्त वित्तीय संस्थाका कारण आत्महत्याको बाटो रोज्नुपरेको गुनासो लघुवित्तका ऋणीहरूले गरेका छन् । लघुवित्तले शुरूमा घरघरमै आएर ऋण बाँडेको र पछि उठिबास लगाउने काम गरेकाले आत्महत्या रोज्नुपरेको पीडितले गुनासो गरेका छन् । सोमबार राजधानीमा आयोजित एक अन्तक्रिया कार्यक्रममा लघुवित्तका ऋणीहरूले लघुवित्तले मनलाग्दी ढंगले ऋण असुली गर्ने गरेको गुनासो गरेका हुन् ।
लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्तको पछिल्लो समय लघुवित्त लघुवित्तजस्तो नबनेको उल्लेख गरे । उनले भने, “लामो अध्ययनपछि म संघर्षमा उत्रिएको हुँ, लघुवित्त लघुवित्त जस्तो बनेनन् ।” उनले लघुवित्त कम्पनी ऐनअन्तर्गत दर्ता हुनु गलत भएको बताए । अहिले लघुवित्तका कारण ऋणीहरू समस्यामा परेको भन्दै अध्यक्ष ज्ञवालीले यसको समस्या समाधानका लागि सहुलियतपूर्ण कर्जा लघुवित्तबाट दिन नहुने उल्लेख गरे ।
उनले भने, “एक पटक ऋण लिएर तिर्न नसक्दा पनि लघुवित्तले फेरि फेरि पनि ऋण दिइरहे, अहिलेको समस्याको कारण नै यही हो ।” उनले अहिले केही इमान्दार कम्पनीबाहेक नेता र ठूला कर्मचारीको शेयर भएका कम्पनीमा बढी समस्या रहेको समेत दाबी गरे । लघुवित्त वित्तीय संस्थाको कार्यशैली वाणिज्य बैंकको जस्तो भएकाले समस्या आएको त्रिभुवन विश्वविद्यालय एमबीए कार्यक्रमका निर्देशक भरतसिंह थापाले बताए ।
उनले यस्ता संस्थाको कार्यशैली परिमार्जन गरेर उनीहरूको उद्देश्यअनुरुप सञ्चालन हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । “लघुवित्तको सिद्धान्त नराम्रो होइन, उनीहरूको कार्यशैली ठिक नहुँदा समस्या भयो,’ उनले भने,‘त्यसमा परिमार्जन आवश्यक छ ।” सिवाईसी लघुवित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोलेन्द्र शर्माले सबै लघुवित्तमा समस्या नभएको भन्दै केहीमा समस्या भएको बताए ।
उनले सबै संस्था दुधमा नुहाएको भन्ने अवस्था नरहेको समेत सुनाए । उनले भने, “अहिलेको समस्या समाधानका लागि सदस्यहरूलाई तालिमको आवश्यकता छ ।” माइक्रो फाइनान्स एसोसियसनका अध्यक्ष जगत पोखरेलले सोझा महिलाहरूको नाममा ऋण लिएर खाने प्रवृत्ति बढेको बताए । उनले लघुवित्तलाई सुविधा बढी भएर पनि समस्या भएको बताए । साथै धेरै संख्यामा लघुवित्त रहेकाले पनि केहीले नराम्रो काम गरिरहेको उनको भनाइ छ ।