Logo

टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशनै निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चालन खर्च कम गरी गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लाई निर्देशन दिएकी छन् । नेपाल टेलिकमको १९औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले न्यूनतम खर्चमा अधिकतम उत्पादकत्व हासिल गर्नेगरी काम गर्नुपर्ने बताइन् ।

“न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादकत्व हासिल गरी ग्राहक सेवालाई गुणस्तरीय सस्तो र सर्वसुलभ बनाउनु आवश्यक छ,” उनले भनिन्, “कर्मचारीको सेवा सुविधालाई वृद्धि गर्नेमात्र नभई राज्य र लगानीकर्तालाई अधिकतम प्रतिफल दिनुपर्ने दायित्व नेपाल टेलिकमसँग छ ।” सञ्चालन खर्च कम गर्ने दायित्व उच्च व्यवस्थापनदेखि सबै तहका विभागीय नेतृत्वको भएको मन्त्री शर्माको भनाइ छ । टेलिकममा हाल ३ हजार ८ सय कर्मचारी कार्यरत छन् ।

कम्पनीका कतिपय सेवा डिजिटलाइज्ड भइसकेको अवस्थामा कर्मचारी दरबन्दी बढी भएको भन्दै आलोचना भइरहेका बेला मन्त्री शर्माले सञ्चालन खर्च कम गर्नुपर्नेमा जोड दिएकी हुन् । टेलिकम प्रवन्ध निर्देशक सुनील पौडेलका अनुसार कम्पनीले मुलुकभर एक करोडभन्दा बढी ग्राहकलाई सेवा पुर्‍याएको छ । प्रवन्ध निर्देशक पौडेलका अनुसार कम्पनीको आर्थिक वर्ष २०७८/०८९ को कुल राजस्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ भने यसमा खुद नाफा आठ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मंसिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक २ करोड १ लाख ६८ हजार, एडीएसएल सेवाका ४ लाख ३७ हजार र पीएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् । यस्तै, एफटीटीएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार एक सय १४ छन् भने एफटीटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् ।

कार्यक्रममा मन्त्री शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताइन् । प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । “नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको भूमिका प्रशंसनीय रहेको छ र आगामी दिनमा यसलाई अझ व्यापक बनाउनु आवश्यक छ,” उनले भनिन् ।

विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको नाराले सार्थकता पाएको भन्दै उनले आगामी दिनमा आफ्नै भू-उपग्रह स्थापना गरेर सेवा दिने लक्ष्य लिनुपर्ने बताएकी छन् । सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको मन्त्री शर्माको भनाइ छ ।

“वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्बद्र्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्त्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुनेछ,” उनले भनिन् । मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा गर्न पनि निर्देशन दिइन् । विकट क्षेत्रमा सेवा विस्तार तथा मानवीय बस्तीमा टावर विस्तार, वनक्षेत्रमा हुने पूर्वाधार विकास चुनौतीपूर्ण रहेको रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमले ग्रमिण दूरसञ्चार कोष उपयोग गर्ने गरी पाएको सूचना महामार्ग निर्माण अन्र्तगतका परियोजनामा ढिलाइ भएकोप्रति आपत्ति जनाए । उनले ढिलाइ गर्ने ठेकेदार कम्पनीलाई किन व्यवस्थापन पक्षले केहि भन्न सक्दैन ? कारबाही किन गर्न नसकेको भन्दै यसप्रति ध्यान दिन निर्देशन दिए । पर्याप्त छनोटको अवसर बजारमा भएकोले कम्पनीले ग्राहकको मन जित्न, आम्दानी बढाउन र बजार कव्जा गर्न आफुले लिएका परियोजनामा समयमै सक्नुपर्ने उनले बताए ।

सूचना महामार्गको काममा ढिलाइ भएकै कारण कम्पनीले धेरै ठलो राजश्व गुमाएको र जति ढिला भयो त्यति नै घाटा हुने भन्दै ढिला नगरी समयमा काम सक्न निर्देशन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा टेलिकम सञ्चालक समिति अध्यक्ष डा. वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गति सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताए ।

नेपाल टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन तथा गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए । वि.सं. २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भए पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । वि. सं. २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको ९२ प्रतिशत स्वामित्व रहेको टेलिकम वि.सं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरिएको छ ।

टेलिकमले देशभरमा पीएसटीएन, सीडीएमएलगायत आधारभूत टेलिफोन र जीएसएम र सीडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ । इन्टरनेट सेवामा डायल–अप आइएसडीएम र सीडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्