‘सरकारले अर्थतन्त्रलाई ट्रयाकमा ल्यायो’

पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । विगतमा अर्थतन्त्रमाथि संकटका लक्षण देखिए पनि अहिले पूर्ववत ठाउँमा आउने वातावरण बनेको उनले बताए ।
बुधबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै सांसद रायमाझीले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर अगाडि लैजाने कुरामा वर्तमान सरकार गम्भीर ढंगले अगाडि बढेको बताए । अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिन थालेकाले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको उनको भनाइ छ ।
विगतको सरकारले अर्थतन्त्र सुधारका विषयमा हेलचक्य्राइँ गरेको भन्दै अहिलेको सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएको दाबी गरे । “पहिले पनि हाम्रो सरकार थियो अर्थतन्त्र ठाउँमा थियो,” उनले भने, “बीचमा गठबन्धनको सरकारले हेलचक्र्याइँ गर्यो, अहिले फेरि सुध्रिएको छ ।” अब अर्थतन्त्रका विषयमा खुला बहस गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बुधबारदेखि २४ माघसम्म ‘पाँचौं अर्घाखाँची महोत्सव’ एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीको सांकृतिक झाँकी, विभिन्न भेषभूषा, नाचगान तथा बाजागाजासहित मेलाको शुभारम्भ गरिएको हो । अर्घाखाँचीलाई व्यावसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरूको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताए ।
१४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रको भनाइ छ । मेलामा झण्डै चार सयवटा स्टल राखिएका छन् । कोभिडका कारण विगत दुई वर्षयता जिल्लामा महोत्सव सञ्चालन हुन सकेको थिएन ।