‘राष्ट्र बैंकमा हस्तक्षेप हुँदैन, बैंकको ब्याजदर घट्दै गएको छ’ «

‘राष्ट्र बैंकमा हस्तक्षेप हुँदैन, बैंकको ब्याजदर घट्दै गएको छ’

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएको बताएका छन् । सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उनले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तीव्रताका लागि आफूहरु लागेको बताए ।

उनले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भएपनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गरे । राष्ट्र बैंक स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप नगर्ने उनको दावी छ ।

“ब्याजदर महंगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फिर्तीसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फिर्ती र महंगीलाई नियन्त्रण गर्दै महंगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो” उनले भने, “राष्ट्र बैंक आफैं स्वायत्त कानूनको आधारमा सञ्चालित स्वायत्त संस्था हो । त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसावले हस्तक्षेप गर्दैन ।”

अर्थमन्त्री पौडेलले लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या कसरी समाधान गर्ने भन्ने सार्थक उपाय खोज्नुपर्ने बताए । कुनैपनि नीति बनाउँदा र निर्णय गर्दा सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै निर्णय गर्ने पक्षमा रहेको भन्दै उनले सरकार साना उद्योगका समस्या केलाएर निवारणका लागि लाग्ने प्रतिवद्धता जनाए । उनले एसएमई क्षेत्रमा नीतिगत अस्पष्टता भए ती क्षेत्रहरुको पहिचान गरी मन्त्रालयलाई बुझाउन पनि आग्रह गरे ।

मन्त्री पौडेलले प्रक्रियागत रुपमा देखिएका झन्झटहरुलाई समेटेर सेवाप्रवाह चुस्त बनाउन, पारदर्शी तुल्याउन सरकारलाई आवश्यक सुझाव दिन पनि निजी क्षेत्रसँग आग्रह गरे । “आकारमा सानो तर योगदानमा ठूलो यो क्षेत्र लघु तथा घरेलु साना र मझौला उद्योगको क्षेत्रलाई कसरी प्रवर्द्धन गर्नसक्छौ” उनले भने, “यो क्षेत्रका समस्या कसरी सम्बोधन गर्नसक्छैं र सबैभन्दा सार्थक उपाय हामी खोज्नसक्छौं ।”

निजी क्षेत्रका कतिपय मागहरु सरकारले सम्बोधन गर्ने काम शुरु भइसकेको भन्दै अर्थमन्त्री पौडेलले कर बुझाउन जाँदा दुःख व्यहोर्नुपरेको अवस्थाको गुनासोलाई अब सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले कर बुझाउन जाँदा कर्मचारीले दिएका झन्झट बारे मन्त्रालयलाई जानकारी गराउनसमेत निजी क्षेत्रसँग आग्रह गरे ।

“पछिल्ला दिनहरुमा निजी क्षेत्रका कतिपय मागहरु पूरा हुँदै गएका छन्, कतिपय संकेतहरु यहाँहरुले पनि अनुभुत गर्नुभएको होला । निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गर्ने क्रम शुरु भइरहेका छन्” उनले भने, “आगामी दिनमा परिस्थितिलाई अनुकुल बनाउँदै निजी क्षेत्रका मागहरु सुन्ने सन्दर्भमा अरु प्रयासहरु हुँदै जानेछ ।”

मन्त्री पौडेलले राज्यका कुनै पनि निकायले नागरिकलाई हैरान बनाउने काम गर्नु नुहने भन्दै दुःख दिएको पाए कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । आर्थिक क्षेत्रमा देखिएका समस्यालाई सरकार र अर्थमन्त्रालयको मात्र समस्या नठानेर सबैको समस्यका रुपमा लिन पनि उनले निजी क्षेत्रलाई आग्रह गरे ।

“निजी क्षेत्रले सरकारसँग र सरकारले निजी क्षेत्रसँग गरेका अपेक्षाहरुलाई सघाउने सन्दर्भमा हामी सकारात्मक छौं” उनले भने, “मुलुकमा रहेका आर्थिक समस्यालाई सरकारको समस्या मात्रै नठानेर आर्थिक क्षेत्रमा देखिएका समस्यालाई सरकार र अर्थमन्त्रालयको मात्र समस्या नठानेर सबैको समस्यका रुपमा लिन पनि निजी क्षेत्रलाई आग्रह गर्दछु ।”

अर्थमन्त्री पौडेलले यसअघि आफू अर्थमन्त्री बनेको बेलामा निजी क्षेत्रको समस्या समाधानका लागि स्टार्टअप कार्य योजना ल्याएपनि आफू हटेको लामो समयसम्म पनि कार्यविधि नबन्नु दुखद् भएको बताए । उनले अब चाँडै नै स्टार्टअप कार्यविधिलाई अघि बढाउने बताए । उनले स्टार्टअप सम्बन्धी यो कार्यविधि छिटै पारित हुने र कार्यान्वयनमा आउने प्रतिवद्धता जनाए ।

साना उद्योगहरुको पहुँच विस्तारमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योगहरुको पहुँच बिस्तार गर्न आवश्यक रहेको बताएका छन् । उनले देशभित्रैका साना उद्योगलाई ठूला उद्योगसँग जोड्न नसकेको भन्दै साना उद्योगहरुको पहुँच बिस्तार गरी तिनै तहका उद्योगहरुले लघु, साना र घरेलु उद्योगबाट उत्पादित वस्तु र सेवा खरिद गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

गत आर्थिक वर्षमा ३०९ ठूला उद्योगहरु दर्ता हुँदा ६५ हजार ६९ एसएमइ उद्योगहरु दर्ता भएकाले यो संख्या अझै बढ्न सक्ने विश्वास व्यक्त गरे । साना, ठूला सबै उद्योगको क्षमता अहिले करिव ६० प्रतिशतले घटेको भन्दे उनले बैंकहरुको महंगो ब्याजले लगानी बिस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौती भएको गुनासो गरे ।

अध्यक्ष गोल्छाले साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्ने भन्दै ब्याजदरको स्थायित्व र सहज वित्तीय पहुँचमा थप पहल गर्न सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष गोल्छाले एसएमइ क्षेत्रलाई बलियो बनाउनुपर्छ भन्ने राजनीतिक र नीतिगत प्रतिवद्धता नहुँदा प्रभावकारी काम हुन नसकेको दावी गरे ।

‘एसएमई क्षेत्रको विकास गर्न आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताएका छन् । उनले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि एसएमइ क्षेत्रको विकास राम्रोसँग हुन नसकेको गुनासो गरे ।

वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी रहेको बताए । उनले सरकार आएपछि बजारमा सकारात्मक रुपमा तरलताको समस्या समाधान हुँदै गएको दावी गरे । वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्