Logo

प्रतिकूल मौसमले आन्तरिक र बाह्य उडान प्रभावित

जाडो याम सुरु भएसँगै उडान प्रभावित हुने क्रम बढेको छ । प्रतिकूल मौसमका कारण उडानमा असर परेको हो । खासगरी उच्च हिमाली तथा पहाडी क्षेत्रका र तराईका विमानस्थलमा उडान प्रभावित भएका छन् । शुक्रबारमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आन्तरिक र एउटा बाह्य उडान डाइभर्ट गरिएको छ ।

आन्तरिकमा श्री एयरलाइन्सको विमान नेपालगञ्जबाट काठमाडौंमा अवतरण गर्ने कार्यतालिका भए पनि प्रतिकूल मौसम(कम भिजिबिलिटी) का कारण भद्रभुरमा डाइभर्ट गरेर अवतरण गरिएको थियो । बिहान विराटनगर र भैरहवा विमानस्थलको भिजिबिलिटी समेत कम हुँदा भद्रपुरमा डाइभर्ट गरिएको आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ । यता अन्तर्राष्ट्रियतर्फ भने मलेसियाको क्वालालम्पुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने भए पनि भिजिविलिटीका कारण भारतको कोलकातामा डाइभर्ट गरिएको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विमानस्थलमा शुक्रबार भिजिविलिटी १ किलोमिटर भन्दा कम रहेको थियो ।

यसका कारण बिहान काठमाडौंमा हुने उडान तथा अवतरण्रु प्रभावित भएको महाशाखाले जनाएको छ । पछिल्ला दिनमा काठमाडौं विमानस्थलको भिजिबिलिटी मध्याह्नमा राम्रो भए पनि शुक्रबार भने बिहानैबाट भिजिविलिटी कम थियो । मध्याह्न सुधार हुँदै जाने क्रम भए पनि बिहानीको समयमा भने पश्चिम न्यून चापिय प्रणालीका कारण कम भिजिविलिटी हुने गरेको महाशाखाले जनाएको छ । योसँगै डाइभर्ट भएका उडानहरु काठमाडौं अवतरण गरेका थिए । आन्तरिकमा शुक्रबार काठमाडौंबाट मुलकभरका विमानस्थलमा ९९ उडान भर्ने कार्यतालिका रहेको थियो ।

शुक्रबार तराईका अन्य विमानस्थलमा पनि भिजिविलिटी कम थियो, जसका कारण उडान तथा अवतरण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । महाशाखाका अनुसार बिहानको सयममा विमानस्थलको भिजिविलिटी आधा घण्टा एकदम कम भएका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । तर मध्यान्हबाट भने मौसममा सुधार आएको थियो । शुक्रबारसम्म भने पश्चिम न्यून चापिय प्रणालीको प्रभाव रहेको र शनिबारबाट सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

शनिबारबाट भने तराईका भूभागमा बाक्लो कुहिरो लाग्ने र काठमाडौंमा समेत यसको प्रभाव रहने हुँदा थप केही दिन बिहान उडान तथा अवतरण प्रभावित हुने महाशाखाले जनाएको छ । मलेसियाबाट आएको नेपाल वायुसेवाको उडान काठमाडौंमा अवतरण गर्न नसकी कोलकातामा अवतरण गरेको थियो । शुक्रबार अन्य अन्तर्राष्ट्रिय उडान भरेका विमान पनि कम भिजिविलिटीका कारण काठमाडौंका आकाशमा होल्डमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्