व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघको टोलीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो ।
छलफलमा मन्त्री भण्डारीले परिसंघले दिएको अवधारणा तथा ठोस सुझावको कार्यान्वयनका लागि छलफल अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले रोजगारीको अभावमा पलायन भइरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरु बढाउने आफ्नो लक्ष्य रहेको बताए । औद्योगिक विकासबाट मात्रै यो सम्भव भएको हुँदा परिसंघसंग सहकार्य गरी अघि बढ्ने मन्त्री भण्डारीले प्रतिवद्धता जनाए ।
परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको मन्त्रीलाई जानकारी गराएका थिए । यस्तो अवस्थामा व्यवसायीको मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने नीति लिन अत्यावश्यक भएको अध्यक्ष अग्रवालले बताए । उनले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसरहरु सृजना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरे ।
परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ स्वदेशी अभियानलाई सरकारको न्यूनतम साझा कार्यक्रममा प्रमुखताका साथ राखेकोमा धन्यवाद दिँदै उनले सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए । आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि परिसंघ अध्यक्षले आग्रह गरेका छन् ।
सीएनआइका तर्फबाट संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेपलिज इकोनोमी’ अवधारणासमेत उनले मन्त्रीलाई बुझाएका थिए । परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर),औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।