Logo

क्रोएसिया उड्न लागेका २२ नेपाली विमानस्थलबाट पक्राउ

फाइल तस्बिर ।

फ्लाई दुबईको जहाजबाट कोएसिया जान लागेका २२ जना नेपाली पक्राउ परेका छन् । अवैध रुपमा युरो लिएर विदेश जान लागेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनीहरूबाट ५१ हजार ३५० युरो बरामद भएको सुरक्षा कार्यालयले जनाएको छ । उक्त युरो पदमबहादुर विश्वकर्माले पठाएको अनुसन्धानमा खुलेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । विकको साथबाट एक लाख २० हजार रुपैयाँ नेपाली बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न मेनपावरहरुले मोटो रकम असुलेर नेपालीहरुलाई विभिन्न मुलुकमा पुर्‍याएर अलपत्र पार्ने क्रम बढेको छ । आकर्षक रोजगारी र राम्रो आम्दानी हुने प्रलोभवनमा गैरकानुनी रुपमा अवैध बाटो भएर वैदेशिक रोजगारीमा जाने क्रममा विभिन्न नेपालीले दु:ख पाउनुका साथै मृत्युसमेत हुने गरेको छ । यस्तै अवैध बाटो भई अमेरिका जाने क्रममा धेरै नेपालीले ज्यान गुमाएका छन् । अमेरिका जान भारतलगायत विभिन्न मुलुकको बाटो तय गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्