पेट्रोलियम पदार्थको नयाँ मूल्य, डिजेलमा ३ रुपैयाँ घटेर आयो

पेट्रोलियम पदार्थको नयाँ मूल्य आएको छ । नयाँ मूल्य सूचीमा डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई १५/१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउने गरेको छ । १६ जनवरी (सोमबार) आईओसीले आयल निगमलाई पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ ।
यस्तै, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने क्रम रहेको हुँदा अन्तर्राष्ट्रियको मूल्यका आधारमा आईओसीले निगमलाई मूल्य समेत घटबढ हुने गर्छ । यसअघि आईओसीले निगमलाई पठाएको मूल्यसूचि पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजेलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो ।
यस्तै, हवाई इन्धन प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो । आईओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएपनि निगमले सरकारले ऋण ७ अर्ब र आइओसीको ११ अर्ब गरी १८ अर्ब ऋण तिर्न बाँकी भएको हुँदा मूल्य समायोजन गरेको थिएन । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १७५ र डिजेल १७२ रुपैयाँमा बिक्री भइरहेको छ ।
निगमका अनुसार हाल मूल्य घटाउँदा मासिक नाफा अझै करिब १ अर्ब हुनेछ । मूल्य घटेपछि निगमलाई प्रतिलिटर पेट्रोलमा ११ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ नाफा हुनेछ । यस्तै, आन्तरिक हवाई इन्धनमा यसअघि ४८ रुपैयाँ नाफा थियो भने अब २८ रुपैयाँ नाफा हुनेछ । यस्तै, बाह्य हवाई इन्धनमा ३० रुपैयाँ घटाउँदा ४० रुपैयाँ नाफा हुनेछ ।
खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर ३५९ रुपैयाँ ५० पैसा घाटा रहेको निगमले जनाएको छ । इण्डियन आयल कर्पाेरेसनले १ जनवरीमा पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिसिलिण्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको थियो । निगमका अनुसार १५ दिनमा ग्यासमा ४६ करोड ४४ लाख घाटा छ ।