अर्थतन्त्रमा बाह्य क्षेत्र मजबुतको संकेत

नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको चालू आर्थिक वर्षको मंसिरसम्मको आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य क्षेत्र क्रमशः मजबुत बन्दै गएको देखाएको छ । गत आर्थिक वर्षभर यही बाह्य क्षेत्रका अधिकांश सूचकमा देखिएको समस्याले धेरै तनाव निम्त्याएको थियो ।
उच्च आयात हुँदा रेमिट्यान्सलगायत विदेशी मुद्रा आर्जन गर्ने स्रोत खुम्चिएपछि मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति घट्दै गएको थियो । प्रत्येक दिन सञ्चिति घट्दै गएपछि मुलुक श्रीलंकाको बाटोतर्फ लागेको हो कि भन्ने चिन्ताले छाएको थियो । अर्थशास्त्री तथा यसमा सरोकार राख्नेहरूबीच घट्दो सञ्चिति र यसले पार्ने प्रभावका बारेमा दिनहुँ बहस छलफल भएका थिए ।
चालू आर्थिक वर्षको सुरुदेखि भने विगतका तथ्यांक ठीक उल्टो बन्दै आएका छन् । यो वर्ष आयातमा उच्च दरको कमी आएको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत रेमिट्यान्स वृद्धिदर दोहोरो अंकमा पुगेको छ । पर्यटनलगायत सेवा क्षेत्रमा पनि सुधार देखिएको छ । तर, शिक्षाका लागि बिदेसिने रकम भने यो वर्ष दोब्बरले बढेको छ । गत आर्थिक वर्षको मंसिरसम्म १३ अर्ब रुपैयाँ शैक्षिक क्षेत्रको व्यय थियो । यो वर्ष २८ अर्ब रुपैयाँ पुगेको छ । योबाहेक अन्य क्षेत्रबाट विदेशी विनिमय धेरै परिमाणमा खर्च भएको छैन ।
आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा भुक्तानी सन्तुलन अथवा मुलुकको शोधनान्तर स्थितिमा सुधार हुँदै आएको छ । अहिले यो ४५ अर्ब ८७ करोड बचतमा पुगेको छ । गत वर्ष यो बेला शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा थियो । यसले अर्थतन्त्र क्रमशः मजबुत हुँदै गएको देखाएको छ ।
अहिले गत वर्ष धेरै घाटामा पुगेको चालू खातामा पनि सुधार आएको छ । यो अझै ऋणात्मक नै छ । तर, गत वर्षभन्दा धेरै सुधार छ । गत वर्ष मंसिरसम्म २ खर्ब २८ अर्बले घाटामा रहेको चालू खाता अहिले करिब ३८ अर्ब मात्र घाटामा छ । गत वर्षलाई हेर्दा यो धेरै सुधार हो । यो वर्ष अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार ल्याउन सबैभन्दा ठूलो भूमिका घट्दो आयातले निर्वाह गरेको छ ।
अहिलेसम्म आयातको दर २०.७ प्रतिशतले खुम्चिएको छ । निर्यात झनै घटेको छ । यो पाँच महिनामा ६ खर्ब ६४ अर्ब रुपैयाँबराबरका वस्तु आयात भएको छ । गत वर्ष आयात ५९.५ थियो । अहिले कुल व्यापारघाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ छ । गत वर्षभन्दा यो १८.८ प्रतिशतले कम हो ।
गत वर्ष मंसिरसम्म २ खर्ब २८ अर्बले घाटामा रहेको चालू खाता अहिले करिब ३८ अर्ब मात्र घाटामा छ । गत वर्षलाई हेर्दा यो धेरै सुधार हो ।
यस्तै रेमिट्यान्स आयमा देखिएको बढोत्तरीले पनि बाह्य क्षेत्रलाई सुधार गर्न ठूलो सहयोग पुर्याएको छ । यो वर्ष मंसिरसम्म ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । यो गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । घट्दो आयात र बढ्दो रेमिट्यान्सका कारण कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरको भाउ बढेकाले नेपाली रुपैयाँमा सञ्चिति बढी देखिएको हो । अमेरिकी डलरमा हेर्दा सञ्चिति धेरै बढेको छैन । चालू वर्षको सुरुमा सञ्चिति ९ अर्ब ५४ करोड डलर भएकोमा अहिले बढेर ९ अर्ब ८२ करोड पुगेको छ । यो वर्ष पाँच महिनामा २८ करोड डलर मात्र सञ्चिति बढेको हो । तर, गत वर्ष लगातार सञ्चिति घटेको अवस्थालाई हेर्दा अहिले थोरै डलर बढ्नुलाई पनि सन्तोष मान्न सकिन्छ ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिनुमा मुख्य दुई कारण छन् । पहिलो, गत वर्षभन्दा आयात धेरै कम छ । अर्को, यही बेला रेमिट्यान्स आय बढेको छ । यही कारण विदेशी मुद्रा खर्चभन्दा सानो अंशमा भए पनि आम्दानी बढी भएको छ । सुधारको राज यही नै हो । बाह्य क्षेत्रमा देखिएको यही सुधारका कारण विगतमा राष्ट्र बैंकले लगाएका प्रतिबन्धलाई क्रमशः खुकुलो बनाउँदै आएको छ ।
सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले गत वैशाखदेखि १० वस्तुको आयात रोकेको थियो । यी वस्तुको आयात क्रमशः खोल्दै आएको राष्ट्र बैंकले पुस महिनादेखि सबै प्रतिबन्ध हटाएको अवस्था छ । त्यसअघि गत पुस र माघमा वस्तु आयात गर्दा खोल्नुपर्ने प्रतीतपत्र (एलसी) मा नगद मार्जिनको परिमाण बढाइएको थियो । केही वस्तु आयात गर्दा शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको थियो ।
उच्च आयातका कारण सञ्चिति घटेपछि वस्तु आयातलाई निरुत्साहित गर्न यस्तो नीति लिइएको थियो । गत पुस र माघमा गरिएको यो व्यवस्था करिब ३ सयवटा वस्तुमा लागू थियो । अब केही दिनमा सामान आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि हटाउने तयारीमा राष्ट्र बैंक छ । विगतका प्रतिबन्ध अहिले आएर हटाइनु वा खुकुलो बनाइनुको अर्थ बाह्य क्षेत्रमा सुधार भएको भन्ने हो ।
फेरि तत्काललाई गत वर्षको जस्तो समस्या आउँदैन भन्ने अनुमान राष्ट्र बैंकको भएको हुनुपर्छ । अहिले आन्तरिक उपभोगमा कमी आएको छ । महँगी पनि बढेको छ । यही कारण आयातलाई पूर्ण रूपमा खोले पनि तत्काल बढ्न सक्ने अवस्था निकै कम छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आए पनि यो वर्ष आन्तरिक क्षेत्रमा केही समस्या देखिएका छन् ।
गत वर्ष घट्दो सञ्चितिका कारण चारैतर्फ समस्या निम्तिएको थियो । यस वर्ष बजारमा लगानी गर्ने पैसा कम भएपछि त्यसले सबै क्षेत्रमा निकालेको समस्या हो । त्यसैले आगामी दिनमा खासगरी अर्थमन्त्रालय र राष्ट्र बैंक मिलेर यो समस्या हल गर्नुपर्छ । तरलता अभाव सधैंजसो देखिने समस्या भएकाले यसको दीर्घकालीन समाधान नखोजेसम्म अहिलेका जस्ता समस्या आइरहनेछन् ।