Logo

किसानलाई सहुलियत कर्जा

कृषि र पशु उद्यमी तयारको लागि गुल्मीमा सहुलियतपूर्ण कर्जा हस्तान्तरण गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका किसानका लागि गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्रम चलिरहेको छ । हेफर प्रोजेक्ट नेपालले चलाएको गुल्मीदरबार कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत पहिलो चरणमा ८ जना किसानलाई सहुलियत कर्जा हस्तान्तरण गरेको हेफरका प्राविधिक संयोजक शशी भुसालले जानकारी दिए ।

उनका अनुसार एसबीआई बैंकबाट ५ किसानलाई ४९ लाख र कृषि विकास बैंकबाट ३ किसानलाई ३० लाख गरि जम्मा ७९ लाख हस्तान्तरण गरिएको हो । किसानको माग र आवश्यकताको आधारमा सहुलियत कर्जा हस्तान्तरण गरिएको हो । किसानले कृषि र पशुपालनको क्षेत्रमा यो रकम लगानी गर्न सक्नेछन् । किसानले एक लाखदेखि २० लाख सम्मका दरले सहुलियत कर्जा पाएका हुन् ।

गाउँपालिकाको तर्फबाट अध्यक्ष सरोजकुमार थापा, उपाध्यक्ष तारा थापा, कार्यक्रम हेरिरहेको संस्था नवप्रभात युवा संघका फोकल पर्सन धातानन्द भुसाल, हेफर प्रोजेक्टको तर्फबाट कार्यक्रम अधिकृत नारायण भट्टराई, नरेश सिंह धामी र बैंकका गुल्मी शाखा प्रमुखको उपस्थितीमा किसानहरुलाई सहुलियत कर्जा हस्तान्तरण गरिएको हो ।

किसानलाई सहुलियत कर्जा हस्तान्तरण गर्दै गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले हेफर प्रोजेक्टसँगको सहकार्यमा सिङ्गो गाउँवासीलाई सहयोग भइरहेको बताए । “गाउँपालिकालाई समुन्नत बनाउने मुख्य आधार कृषि र पशुपालन हो” अध्यक्ष थापाले भने, “अझै किसानमाझ लोकप्रिय कार्यक्रम ल्याउने छौं ।” उनले सहुलियत कर्जा लिएका किसानलाई सही ठाउँमा लगानी गरेर उद्यमी बन्न पनि आग्रह गरे । किसानहरुले मासिक रुपमा ५ वर्षसम्म लगेको सहुलियत कर्जा तिरेर सक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्