Logo

‘निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक’

नेपाल उद्योग परिसंघ (सिएनआई) ले निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमति सकारात्मक रहेको जनाएको छ । अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा एसोसिएसनको निर्णयको परिसंघले स्वागत गरेको हो ।

मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहँदा अर्थतन्त्र संकुचित बनाइरहेको परिसंघको ठहर छ । निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा परिसंघको जोड छ । यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने विश्वास लिएको परिसंघको भनाइ छ ।

निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने र आधार दर तथा कर्जाको ब्याजदर पनि घटाउने परिसंघले विस्वास लिएको छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने बताइएको छ । परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए ।

ब्याजदर घटेपछि लगानीकर्ताले लगानी विस्तारको योजनालाई फेरि अगाडि बढाउने र समग्र मागमा वृद्धि भएर अर्थतन्त्र चलायमान हुन जाने विस्वास लिएको परिसंघले जनाएको छ । नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधन गरेको थियो ।

उक्त निर्णय पनि सकारात्मक रहेकाले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको परिसंघले बताएका थियो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न परिसंघ केन्द्रीय बैंकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्