इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको हत्या भएको एर्डोगानको आरोप «

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको हत्या भएको एर्डोगानको आरोप

टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन् ।
“अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उनको निधन भएको बताइए पनि अधिकारीहरूले उनलाई बचाउन सकेनन्,” इस्तानबुलमा बुधबार एक वक्तव्यमा उनले बताए ।
उनले फेरि थपे, “मोर्सीको हत्या भएको हो, उनको कालगतिको निधन भएको होइन ।” उनले मोर्सीको मृत्युका बारेमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
यसअघि मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निष्पक्ष छानबिनको माग गरेको थियो ।
हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उनको निधन भएको हुन सक्ने एमनेस्टीको आशंका छ । त्यसैगरी मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ ।
राज्यद्वारा सञ्चालित टेलिभिजनले स्रोतहरूलाई उद्र्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटुसम्बन्धी समस्याका कारण निधन भएको जनाएको छ ।
इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मंगलबार निधन भएको घोषणा गरिएको थियो ।
कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरूले जनाएका छन् ।
“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उनी ढले, त्यसपछि तत्कालै उनलाई अस्पताल लगियो, तर अस्पतालले उनको निधन भइसकेको घोषणा ग¥यो,” न्यायाधिवक्ताको कार्यालयले भनेको छ ।
“उनलाई स्थानीय समयानुसार अपराह्न ४.५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उनको निधन भइसकेको थियो, शरीरमा घाउचोट देखिएको छैन,” अस्पताल स्रोतले भन्यो ।
उनका कारण अदालती कारबाहीमा बाधा नपुगोस् भनेर उनलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो ।
उनी सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उनलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुने गरी कारागारमा राखिएको थियो ।
जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उनी अदालत उपस्थित भएका थिए । उनलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर, उनका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्