Logo

खर्च कटौतीका पाँच प्रस्ताव

विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा खर्च कटौतीका पाँच प्रस्ताव प्रस्तुत भएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयको विनियोजनका क्रममा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएको हो ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्री कार्यालयको विनियोजन विधेयकको छलफलका क्रममा प्रधानमन्त्रीको उपस्थिति गराउन सभामुखसँग माग गरे । नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेका जग्गा सम्बन्धित स्थानीय तहलाई दिई ट्रष्ट खारेज गर्न उनले माग गरे । जिल्ला–जिल्लाका अस्पतालमा बाल र स्त्रीरोग विशेषज्ञ व्यवस्था हुनुपर्ने र विदेश उपचारमा जानु नपर्ने व्यवस्था मिलाउन सांसद सुवालले माग गरे ।
ध्वनि प्रदूषण गर्ने उद्योग हटाउन तथा भक्तपुरलाई सांस्कृतिक शहर घोषणा गरी संरक्षण गर्न ध्यानाकर्षण गराउँदै उनले विनियोजन विधेयक, २०७६ अन्तर्गत प्रधानमन्त्री कार्यालय, स्वास्थ्य, रक्षा र संस्कृति मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गरे ।
नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघीय सरकारको बजेटमा आएको बताए । वाइड बडीलाई तामझामका साथ स्वागत गरिए पनि भ्रष्टाचारले नेपाल वायु सेवा निगम धराशायी भएको सार्वजनिक रूपमा सञ्चारमाध्यममा आएको तर्फ सरकारको ध्यान नगएको उनले बताए । मन्त्रालयको खर्च रकममा १०० घटाइयोस् भनी सांसद कँडेलले प्रस्ताव प्रस्तुत गरे ।

विधेयक फिर्ता लिन माग
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्री कार्यालय शीर्षकको ४ अर्ब ६५ करोड रूपैयाँ बजेटमा १०० खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सबै दलको योगदान रहेको भन्दै उनले संविधान साझा दस्तावेज भएकाले सहमतिमा चल्नुपर्नेमा जोड दिए । २०४८ सालमा प्रतिपक्षीविनाको संसद् हुन सक्दैन भन्ने तत्कालीन सभामुखले स्थापित गरेको संसदीय सिद्धान्तबारे नेता गच्छदारले स्मरण गराए ।
“सदनभित्र प्रतिपक्षीको ठूलो भूमिका हुन्छ, विपक्षी दलको नेतालाई बोल्न दिनुपथ्र्यो, त्यसको जवाफ प्रधानमन्त्रीले दिन सक्नुहुन्थ्यो, सत्ता पक्ष कति असहिष्णु बनेको हो ? सदन र सडकमा उठेका प्रश्न र प्रतिपक्षीको समेत कुरा सुनी प्रधानमन्त्रीले जवाफ दिनुपथ्र्यो”, उनले भने । दुईतिहाइ बहुमतको सरकारले कसरी संविधान कार्यान्वयन गर्छ भनी हेरिरहेका बेला ‘संविधानको भावना विपरित’ गुठी विधेयक ल्याउँदा सरोकार भएका निकायसँग सल्लाह नगरिएकाले प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिई राजीनामा दिनुपर्ने उनको माग थियो ।
लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रेस जगत्लाई त्रसित पार्ने गरी प्रेस स्वतन्त्रता विरोधी विधेयक किन ल्याएको भनी सांसद गच्छदारले प्रश्न गरे । मानव अधिकार, सूचना प्रविधि र सुरक्षा परिषद्सम्बन्धी विधेयक पनि फिर्ता लिन उनले माग गरे । “प्रधानमन्त्रीय पद्धति भएकाले सबै अधिकार आफैँले राख्ने उद्देश्यले सर्वसत्तावाद लाद्न खोजिएकाले खेर जान्छ, यसैले १०० घटाउने प्रस्ताव प्रस्तुत गर्छु”, नेता गच्छदारले भने ।
काँगे्रसकै पार्वता डिसी चौधरीले कुल बजेटको १० प्रतिशत स्वास्थ्यमा खर्च गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित करिब ४.५ प्रतिशत मात्र विनियोजन गरिएकाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिएको बताए ।
आधारभूत स्वास्थ्य सेवा निःशुल्क र बिमा जनतासँग पैसा लिएर गरिने भए पनि सरकार अलमलिई दुवै एकै हो कि जस्तो गरेको उनको भनाइ थियो । एउटा वडामा एउटा स्वास्थ्य संस्थासमेत नभएको र सार्वजनिक रूपमा धूमपान गर्न नपाइने कानुनी व्यवस्था गरिए पनि कार्यान्वयन नभएको सांसद चौधरीको भनाइ थियो ।
सोही दलका दिलेन्द्रप्रसाद बडुले रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा अन्य शीर्षकमा एक लाख बजेट विनियोजन गरिनाको औचित्य नरहेकाले १०० घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गरे । तालीम, अध्ययन अनुसन्धान, क्षमता र दक्षता अभिवृद्धिमा बजेट विनियोजन गर्न उनले सुझाव दिए । सुरक्षा परिषद्सम्बन्धी विधेयकमा प्रधानसेनापतिविना नै नेपाली सेना परिचालन गर्ने व्यवस्था आपत्तिजनक रहेको सांसद बडुले बताए । सेना प्रमुखको सहभागिताविना सेना परिचालन गर्दा सेनासँगको दूरी बढ्ने उनको भनाइ थियो । विधेयक मुलुकको शान्ति सुरक्षालाई नजोगाउने भएकाले त्रुटि र दुराशयपूर्ण रहेको तथा सुरक्षाको अन्तिम कवच भएकाले जथाभावी प्रयोग गरिनु राम्रो सङ्केत नभएको विचार सांसद बडुले व्यक्त गरे । संस्कृति मन्त्रालयअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिने भनिएको विमानस्थलसम्बन्धी कार्यक्रम नै नभेटिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्