चीनसँग नेपालको व्यापारः आयातमा दोस्रो, निर्यातमा चौधौं
निर्यातमा चीन असहयोगी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले उत्तरी हिस्सा नाका पनि खुला गरेको छ । नेपाल र चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका रसुवागढी–केरुङलाई चीनले विभिन्न बहानामा बन्द गरेको ३५ महिनापछि बुधबारबाट औपचारिक रुपमा खोलेको हो ।
प्रधानमन्त्री दाहाललाई चीन नजिकको नेताका रुपमा हेरिँदै आएको छ । लामो समयदेखि चीनको बेवास्ताका कारण दुई मुलुकबीचको व्यापारमा नेपालले धेरै असन्तुलन भोग्दै आएको छ । आफूलाई मन लागे सहुलियतसहित ढोका खोल्ने र मन नलागे बन्द गर्ने चिनियाँ प्रवृत्तिका कारण नेपालले व्यापार असन्तुलन भोग्नुपरेको हो ।
लामो समयदेखि निकासीको ढोका बन्द रहेको उत्तरी नाका खुला भएसँगै व्यापार असन्तुलन कम हुने व्यवसायीहरुको अपेक्षा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) का अनुसार नेपालको आयात व्यापारमा चीन दोस्रो स्थानमा छ । तर निर्यातमा चीन १४ औं स्थानमा छ । नेपाली वस्तुको चीनमा निकासी नगण्य रहेका कारण व्यापार असन्तुलन यस्तो भयावह देखिएको हो ।
चीनभन्दा बढी नेपाली वस्तुहरु स्वीट्जरल्यान्ड, डेनमार्क, नेदरल्यान्ड, इटली, क्यानडा, अष्ट्रेलिया, जापान, फ्रान्स, टर्की, बेलायत, जर्मनी, अमेरिका र भारतमा बढी निर्यात हुने गरेको छ । आयाततर्फ भने दोस्रो स्थानमा रहेको चीन र तेस्रो स्थानमा रहेको इन्डोनेसियाबीच ७३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बराबरको अन्तर रहेको छ ।
केन्द्रका अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मंसिर) सम्ममा ९४ अर्ब ५८ करोड ११ लाख रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने २४ करोड ४८ लाख रुपैयाँमा सीमित छ । यसरी पाँच महिनामा चीनसँगको व्यापारमा नेपालले ९४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । चीनसँग नेपालको कुल व्यापारमा निर्यातको हिस्सा ०.२५ प्रतिशतमात्रै रहेको केन्द्रले जनाएको छ ।
चीनभन्दा बढी नेपाली वस्तुहरु स्वीट्जरल्यान्ड, डेनमार्क, नेदरल्यान्ड, इटली, क्यानडा, अष्ट्रेलिया, जापान, फ्रान्स, टर्की, बेलायत, जर्मनी, अमेरिका र भारतमा बढी निर्यात हुने गरेको छ । आयाततर्फ भने दोस्रो स्थानमा रहेको चीन र तेस्रो स्थानमा रहेको इन्डोनेसियाबीच ७३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बराबरको अन्तर रहेको छ । मंसिरसम्ममा चीनबाट ९४ अर्ब ५८ करोड ११ लाख रुपैयाँको वस्तु आयात हुँदा इन्डोनेसियाबाट भने २० अर्ब ८९ करोड २९ लाख रुपैयाँबराबरको आयात भएको तथ्यांक छ ।
भारतपछि नेपालको व्यापारिक निर्भरता भएको दोस्रो मुलुक भए पनि चीनमा नेपाली वस्तुले सहज पहुँच पाउन सकेका छैनन् । चीनतर्फका दुवै नाका रसुवागढी र तातोपानीबाट अघिल्ला दुई आर्थिक वर्षमा निर्यात शून्य रहेको छ । भन्सार विभागका अनुसार दुवै नाकाबाट आयात उल्लेख्य रहे पनि निर्यात भने शून्य रहेको तथ्यांक छ । अघिल्ला दुवै आवमा पनि दुवै नाकाबाट एकतर्फी व्यापार भएको तर निकासी भने नभएको विभागको तथ्यांकमा उल्लेख छ ।
मंसिरसम्म तातोपानी नाकाबाट ४ अर्ब ४२ करोड २४ लााख र केरुङ नाकाबाट ११ अर्ब ११ करोड २० लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ । चीनबाट गत आवमा २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको सामग्री आयात भएकोमा २ खर्ब २४ अर्ब रुपैयाँ बराबरको सामग्री भने कोलकाता बन्दरगाह तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै भित्रिएको छ । यसरी कमजोर भन्सार पूर्वाधारका कारण चीनसँगको व्यापारमा नेपालले अपेक्षित लाभ पाउन नसकेको व्यवसायीहरुको भनाइ छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ चीनसँगको व्यापारमा कमी आउनुमा प्राकृतिक कारण देखाइए पनि यसमा कूटनीतिक कमजोरी पनि रहेको बताउँछन् । “हाम्रा समस्या के हुन् भन्ने सरकारमा बस्ने सबैलाई थाहा छ, तर समाधान किन भइरहेको छैन भने यो प्राकृतिकभन्दा कूटनीतिक विषय बनिसकेको छ,” उनी भन्छन् । चीनमा निर्यात व्यापारको असीमित सम्भावना रहे पनि नेपालले लाभ पाउन नसक्नुको कारण कूटनीतिक कमजोरी नै भएको उनको भनाइ छ । उत्तरी नाकाबाट निर्यात सुचारु भए पनि यसलाई अधिकतम उपयोग गर्न सक्नुपर्ने उनको सुझाव छ ।
नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका तातोपानी २०७२ वैशाखको भूकम्पयता सुनसान छ । सो नाकाबाट हाल दैनिक ५ ट्रक सामानसमेत भित्रिन सकेको छैन भने निकासी शून्यप्रायः छ । वैकल्पिक नाकाको रुपमा उपयोग हुँदै आएको केरुङको अवस्था पनि लगभग उस्तै छ । वर्षमा करिब ६ महिना यो नाका बन्द हुँदै आएको छ । नेपाली व्यापारीले चिनियाँ सामान कोलकाता नाका हुँदै भित्र्याउनुपर्ने अवस्था रहेको छ ।
चीनसँग व्यापार गर्ने व्यवसायीहरु यसलाई चीनको अघोषित नाकाबन्दीको संज्ञा दिन्छन् । कोभिडअघि चीनको व्यापारिक सहर सांघाईलगायतका क्षेत्रमा बसेर व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु अझै कार्यस्थल फर्कन नसकेको नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष सुरेन्द्रभाइ शाक्य बताउँछन् । उनका अनुसार नेपाली हस्तकलाको ठूलो बजार चीन रहे पनि कोभिडयता निकासी ठप्प अवस्थामा छ ।
नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधर चीनसँगका दुवै व्यापारिक नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन नसके द्विपक्षीय व्यापार पहिलेकै अवस्थामा फर्कन कठिन रहेको बताउँछन् । “चीनतर्फका दुवै नाका पूर्ण क्षमतामा सञ्चालनमा आउनुपर्छ,” उनी भन्छन्, “अहिलेको जस्तो कोटा प्रणालीले हाम्रो व्यापारिक सम्बन्ध हिजोको दिनमा जस्तो विस्तार हुन सक्दैन ।” संघमार्फत नेपाल र चीन सरकारलाई दुवै नाकालाई पूर्ण क्षमतामा सञ्चालनका लागि पहल गर्न आग्रह गरिए पनि सुनुवाई नभएको अध्यक्ष तुलाधरले बताए ।