Logo

व्यापार छोडेर व्यवसायी सडकमा

राजनीतिक मागसहित विभिन्न आन्दोलनको सधैं विरोध गर्ने गरेका निजीक्षेत्र अहिले आफैं सडकमा कालो ब्यानरसहित सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बिहानै पसल सटर खोलेर ग्राहकलाई स्वागत गर्ने गरेका व्यवसायी सोमबारदेखि सडकमा देखिएका हुन् । ग्राहक लक्ष्मी हुन् भन्दै सडक किनारमा सटर लिएर व्यापार गर्नेदेखि ठूला उद्योग सञ्चालन गरेर बसेका सबै व्यवसायी कालो व्यानरमा विरोध कार्यक्रमसहित सडकमा उत्रिएका छन् ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ र बैंकहरूले लिने चर्को ब्याजदरविरुद्ध वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा मधेस प्रदेशका वस्तुगत संघसहित सडक आन्दोलन गरिरहेका छन् । राज्यको गलत नीतिका कारण निजीक्षेत्र अहिले सडकमा आउनु परेको उनीहरूको भनाइ छ । सरकार र राष्ट्र बैंकले समस्याको सम्बोधन गर्न चासो नदेखाएपछि उद्योगी व्यवसायी कालो ब्यानरमा सेतो अक्षरले विरोध कार्यक्रम लेखेर सडकमा आउन बाध्य भएका हुन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा घोषणा गरिएको चरणबद्ध आन्दोलनको क्रममा मंगलबार वीरगन्ज बजारभरि व्यवसायीलाई कालोपट्टी वितरण गरेर विरोध जनाउन आग्रह गर्नुका साथै कालो ब्यानरसहित नगर परिक्रमा गरेर राष्ट्र बैंकको वीरगन्जस्थित कार्यालयमा पुगेर ब्यानर झुण्ड्याएर सांकेतिक विरोध जनाएका छन् ।

वाणिज्य बैंकहरूले पहिले ब्याजदर निर्धारण गरेर कर्जा प्रवाह गर्दा जुन सम्झौता गरेका थिए । त्यसको विपरीत दोब्बरभन्दा बढी ब्याजदर लिन थालेको र ब्याज नतिर्दा ताकेता गरेर मानसिक तनाव दिन थालेपछि व्यवसायीले आफ्नो व्यक्तित्व र व्यावसायिक छविमा समेत असर पार्न थालेपछि आन्दोलनको सहारा लिनुपरेको बताउँछन् । सरकार व्यवसायीको कुरा सुन्ने पक्षमा छैन ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिती नियन्त्रणका लागि आयातमा शतप्रतिशत धरौटी रकम जम्मा गरेर मात्रै एलसी (प्रतीतपत्र) खोल्ने प्रावधान राखेको छ । यसले आयातमा समेत गिरावट आएको छ । आयात घट्दा राजस्वसमेत घटेको छ । व्यवसायीको कारोबारको परिमाणमा पनि कमी आउँदा बजारमा मन्दी छाएको छ । यही अवस्थामा चालू पुँजी कर्जासम्बन्धी निर्देशिका ल्याएर राष्ट्र बैंकले बजारमा बलिरहेको मन्दीको आगोमा घ्यू थपेको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले बताए ।

व्यापार गर्न बजारमा पैसा छैन, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ताले भने, “हामीले कयौं पटक सरकारको ध्यानाकर्षण गरायौं । तर, सरकारको नत आँखा खुल्यो नत कानले नै सुन्यो । अर्थतन्त्र निकै जटिल अवस्थामा पुगेको राजनीतिक वृत्तबाट पनि कुराहरू आएका छन् । त्यसको समाधानका लागि पहल भने कतैबाट भएन ।”

राज्यको गलत नीतिकै कारण सीमाक्षेत्रमा अहिले अवैध व्यापार बढेको र वैध व्यापार घटेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए । उनले भने, “राज्य नीतिगत रूपमै अवैध व्यापारलाई बढावा दिनेतर्फ लाग्यो । अहिले उद्योगी व्यवसायीसँग पैसा छैन । सरकारी कर्मचारी र राजनीतिक दलहरूसँग पैसा छ । उनीहरू व्यापारीलाई वास्ता गरिरहेका छैनन् । यो निकै दुःखद हो ।”

वीरगन्ज उद्योग वाणिज्य संघले गरेको विरोध कार्यक्रमको वीरगन्जका होटल तथा पर्यटन व्यवसायीले पनि ऐक्यबद्धता जनाएका छन् । उनीहरूले मंगलबार वीरगन्जका सबै होटलमा संघले वितरण गरेको कालो ब्यानर झुण्ड्याएर विरोध जनाएका हुन् । तीनचार दिनअघि वीरगन्जमा आयोजना भएको नेपाल जेसिजको कार्यक्रमको ब्यानर झुण्ड्याएर स्वागत गरेका होटलहरूमा अहिले भने वीरगन्ज उद्योग वाणिज्य संघले वितरण गरेको विरोध कार्यक्रमको व्यानर देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्