विश्वकपले मुलुकको आर्थिक क्षेत्र सकारात्मक

भनिन्छ, चार वर्षमा आउने विश्वकप महाकुम्भ सबैका लागि खुसीको कुरा हो । एक महिनासम्म चलेका फुटबल प्रतियोगिताले सबै मुलुकको आर्थिक क्षेत्रलाई केही न केही सकारात्मक सन्देश दिनुका साथै समग्र मुलुकको आर्थिक सबलीकरण पनि भएको छ । यसअघिको विश्वकप रूसमा आयोजना हुँदा त्यतिबेला पनि धेरै मुलुकको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव परेको थियो ।
विश्वकप फुटबलले आर्थिक क्षेत्र मात्र फाइदा भएको छैन, यसले त एक–अर्को देशबीचको मित्रता अनि पारस्परिक सम्बन्धमा पनि मजबुत बनाउने पुलको काम गरेको छ । मुलुकको आर्थिक समृद्धिको विकास, मुलुक–मुलुकबीच पारस्परिक सम्बन्ध सुधार तथा पर्यटकीय आगमनको वातावरणमा पनि यस प्रकारका विश्वकप फुटबल खेल प्रतियोगिताहरूले मुलुकलाई आर्थिक उन्नतिको बाटोमा धकेल्ने देखिन्छ । तर, यसो भनिरहँदा आयोजना गर्ने राष्ट्रलाई बाहेक अरूलाई फाइदा हुँदैन भन्ने होइन ।
कतारले आफ्नो सम्पूर्ण धनराशि विश्वकपमा नै खर्च गरे पनि यसले सबै मुलुकलाई एकसूत्रमा बाँध्ने काम गरेको छ । विगत लामो समयदेखि कोरोना भाइरसले थला परेको विश्वको अर्थतन्त्रलाई चलायमान बनाउन पनि विश्वकप आयोजनाले टेवा पुर्याएको छ ।
कतारले फिफा विश्वकप आयोजना गर्न २ सय २० बिलियन पाउन्ड खर्च गरेको छ भने २२ औं संस्करणको कतार विश्वकप पनि सफलतापूर्वक सम्पन्न गरेको छ । प्रतियोगिता आयोजना गर्ने घोषणा भएदेखि नै विवादमा तानिए पनि कतार विश्वकपको समापन उत्कृष्ट रह्यो । आयोजक कतारले विश्वलाई चकितसमेत तुल्याएको थियो । प्रतियोगिताको दौरानमा कतारले कुनै पनि खराब घटनाको सामना गर्नुपरेन ।
तर, दुःखको कुरा कतारले के भुल्नु हुँदैनथ्यो भने कतारले विश्वकप आयोजनाका लागि आफ्नो स्टेडियम बनाउन ४ लाख नेपाली श्रमिकलगायत विभिन्न देशबाट श्रम गर्न आएका हजारौं मानिसमा केही न केही मानवीय घटना घटेकै थियो । हाम्रै कति नेपाली दाजुभाइले पनि स्टेडियम निर्माणको क्रममा ज्यान गुमाए, कतिको अंगभंग भयो । सो विचार गरी कतारले क्षतिपूर्ति दिनुपर्ने थियो, त्यो नदिएकोमा चौतर्फी विरोध पनि भएको थियो । कार्यक्रम सुरु हुनुभन्दा अगाडि यो विषयमा कुनै औपचारिक कार्यक्रम भएन ।
यो नै कतारको कमजोरी देखिएको थियो भने नेपालको दाँजोमा करिब १३ गुणा सानो मुलुक कतारले विश्वकप आयोजना गरेर सबैको मन जित्नु अर्को ठूलो उपलब्धि हो । ३२ राष्ट्रले सहभागिता जनाएको कतार विश्वकपमा जितहार एक ठाउँमा भए पनि हार्ने जति पनि राष्ट्र थिए उनीहरूका खेलाडीले सबै मानिसको मन जितेर गए । जितसँगै विश्व मानव जगत्मा कैयौंको मन पनि जितेका छन् खेलाडीहरूले ।
हालै सम्पन्न २२ औं संस्करणको विश्वकप फुटबलमा फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीच भएको प्रतिस्पर्धामा विश्वकप अर्जेन्टिनाले जिते पनि मन भने फ्रान्सका युवा खेलाडी केलिन एम्बाप्पेले जितेका छन् । उखानै छ, धेरै प्रयास गरेपछि एक न एक दिन सफलताको सिँढी चढिन्छ । तर, सो फाइनल प्रतिस्पर्धामा फ्रान्सका खेलाडी एम्बाप्पेले मुलुकलाई विश्वकपको ट्रफी दिलाउन अन्तिम समयसम्म आफ्नो दिलो ज्यान दिएर लागे ।
पहिलो खेलमा २ गोलले हार बेहोरेको फ्रान्सले पहिलो हाफपछि निकै राम्रो खेल पस्केको थियो । ७० मिनेटपछि खेल झनै रोमाञ्चित बनेको थियो । केलिन एम्बाप्पेले ३ मिनेटभित्र २ गोल फर्काएर फ्रान्स बराबरीमा आएको थियो । त्यसपछि पनि अर्जेन्टिनाले फेरि १ गोलले अग्रता लिएर ३ गोल बनाए पनि खेलको १ सय १८ औं मिनेटमा केलिन एम्बापेले गोल गरी ३–३ गोलको बराबरीमा ल्याए । जारी विश्वकपको इतिहासमा ह्याट्रिक गोल गर्ने एम्बापे दोस्रो स्थानमा थिए र उनले पेनाल्टीमा ४–२ को अन्तरले खेलमा पराजित हुनुपर्यो ।
खेलमा हार बेहोरे पनि सर्वाधिक गोलकर्ताको रूपमा उनले गोल्डेन बुट पनि पाए । त्यतिमात्र नभएर उनले विश्वभरका मानिसहरूको मन पनि जिते । यो त एउटा खेल हो, तर समग्र रूपमा यसको विश्लेषण गर्ने हो भने यो विश्वकपले समग्र मुलुकको अर्थतन्त्र सकारात्मक बनाएको छ । उदाहरणका लागि हाम्रै मुलुक नेपाललाई लिन सकिन्छ । जब एक महिनाअगाडि विश्वकपको माहोल तातेको थियो, सबै टेलिभिजनका विभिन्न ब्रान्डमा उपभोक्ताहरू आकर्षित भएका थिए ।
यसले गर्दा मानिसहरूले विश्वकपमा स्मार्ट टेलिभिजनबाट विश्वकप हेर्ने भन्दै टेलिभिजन बिक्री भए । यो एउटा अर्थतन्त्रको सकारात्मक पक्ष हो । त्यस्तैगरी विभिन्न कपडा पसलमा विभिन्न खेलाडीका जर्सी किनेर मानिसहरूले लगाउने भए, यो पनि अर्थतन्त्रको सकारात्मक फाइदा थियो । अर्को कुरा, मुलुकभित्र रहेका धेरै होटल तथा रेस्टुराँहरूमा विश्वकप हेर्ने र खानेकुराका विभिन्न प्याकेजको व्यवस्थाले गर्दा पनि धेरै मानिस होटल तथा रेस्टुराँहरूमा विश्वकपको समयमा जान थाले ।
यसले गर्दा समग्र होटल तथा रेस्टुराँहरूको अर्थतन्त्रमा सकारात्मक फाइदा पुगेको थियो । त्यस्तैगरी खेलकुद सामग्रीहरूमा पनि धेरै बल, जुत्तालगायत सामानहरूको बिक्री भएको थियो । यसले गर्दा खेलकुद क्षेत्रमा व्यापार गरेका व्यापारहरूलाई पनि समग्र रूपमा फाइदा हुने नै भयो । यो त हाम्रो मुलुकमा मात्रै होइन, विश्वभरका मुलुकमा यस्तै आर्थिक गतिविधिहरूको सकारात्मक फाइदा पुगेको छ ।
आयोजक राष्ट्र कतारमा पनि धेरै पर्यटकको आगमनले गर्दा आर्थिक रूपमा अत्यन्तै फाइदा पुगेको छ । कला–संस्कृतिको विकास भएको छ । व्यापार–व्यवसायमा वृद्धि भएको छ । पर्यटकीय क्षेत्रहरूको विकास भएको छ । विश्वकप फुटबल सबै उमेर समूहका लागि लोकप्रिय भएकाले गर्दा पनि होला, यो सबैलाई अत्यन्तै मन पर्ने खेलका रूपमा पनि चिनियो । कतारले आफ्नो सम्पूर्ण धनराशि विश्वकपमा नै खर्च गरे पनि यसले सबै मुलुकलाई एकसूत्रमा बाँध्ने काम गरेको छ ।
विगत लामो समयदेखि कोरोना भाइरसले थला परेको विश्वको अर्थतन्त्रलाई चलायमान बनाउन पनि विश्वकप आयोजनाले टेवा पु¥याएको छ । विश्वभरि फैलिएको कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण पुलको काम पनि यस विश्वकपको गरेको छ । विश्वकप आयोजना गर्नु भनेको सानो कुरा होइन, यसमा राज्यको सबै आर्थिक स्रोतहरूको परिचालन गरिएको हुन्छ ।
विश्वकपको आयोजना फिफाको निर्णयअनुसार गर्ने हो भने कुनै पनि मुलुकले आफ्नो भौतिक रूपमा, आर्थिक रूपमा विश्वकप तयारी गर्नका लागि पनि निकै समय खर्चिनुपर्ने भएकाले विश्वकप आउन चार वर्ष लाग्ने हुन्छ र सोहीअनुसार विश्वकप आयोजना गर्ने मुलुकले तयारी गर्नुपर्ने हुन्छ । विश्वकप आयोजना कुनै मुलुकले एक्लैले गरेका छन् भने कुनै मुलुकले संयुक्त रूपमा पनि गरेका छन् ।
संयुक्त रूपमा आयोजना गर्ने राष्ट्र भनेको जापान–कोरिया पनि थियो भने आगामी सन् २०२६ मा पनि संयुक्त रूपमा अमेरिका, मेक्सिको र क्यानडामा नै आयोजना गर्ने भनी फिफाले सन् २०१० मा नै सार्वजनिक गरेको थियो । यसरी चार–चार वर्षमा आउने विश्वकप फुटबल एउटा महासंग्रामजस्तै हो । विश्वको ध्यान विश्वकपमा नै केन्द्रित हुनाले गर्दा पनि सबै मानिसको आकर्षणको केन्द्रबिन्दु विश्वकप भएको हो ।
अर्को महत्त्वपूर्ण कुरा त हामी विश्वकप फुटबल हेर्छौं, फलानो राष्ट्रले जित्यो, फलानोले खेलाडीले मन जित्यो भन्छौं । तर, हाम्रो नेपाल किन विश्वकप फुटबलको क्वालिफाइडमा पनि पर्न सकेन ? किन फुटबल खेलमा राज्यले ध्यान दिन सकेन ? किन खेलाडीलाई राज्यले सम्मान गर्न सकेन ? विश्व फुटबल इतिहासमा फिफाले गरेको तथ्याङ्कमा नेपाल किन बरियातको पछाडि परेको छ ? फुटबल खेललाई विश्व जगत्मा चिनाउन नेपालले कस्ता स्रोतसाधन अनि व्यवस्थापनका उपायहरू अपनाउनुपर्छ ?
यी यावत् विषय केलाएर हेर्दा हाम्रो मुलुकको खेलकुद प्रतिष्ठानहरू पनि राजनीतिको भर्तीकेन्द्रको रूपमा परिणत भएकाले मुलुकले खेलकुद जगत्मा अरू मुलुकको दाँजोमा पछि परेको देखिन्छ । खेलाडीहरूलाई सम्मान गर्ने ठाउँमा विभिन्न बहानाबाजी र राजनीतिक हस्तक्षेपमा खेलाडीहरूको मनोबल गिर्ने काम भइरहेकाले गर्दा पनि खेलकुदमा पछि परेको देखिन्छ भने खेलाडीहरूले पाउने पारिश्रमिकलगायतका कुरामा पनि भेदभाव अनि पदाधिकारीमा भएको विभेदका कारण पनि मुलुक खेलकुद क्षेत्रमा पछि परेको देखिन्छ ।
खेल क्षेत्रलाई तीव्र विकास गरे हाम्रो मुलुक पनि निकट भविष्यमै फुटबल क्षेत्रको विश्व जगत्मा छाउनेछ । अरू मुलुकले खेलकुद क्षेत्रलाई राज्यको सबै शक्ति प्रयोग गरेर आर्थिक रूपमा सबल बनाएजस्तै हाम्रो मुलुकले पनि खेलकुद संस्थानहरूलाई सबल अनि प्रभावकारी बनाएर मुलुकमा युवा खेलकुदप्रेमीहरूलाई उच्च प्राथमिकतामा राखी अनुभवी खेलप्रेमीहरू उत्पादन गर्दै जानुपर्ने देखिन्छ भने राज्यका विभिन्न अंगले पनि खेलाडीहरूको उच्च मनोबलका लागि उचित सम्मान गर्नुपर्ने देखिन्छ । आर्थिक क्षेत्रमा पनि खेलकुदका लागि मुलुकले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने देखिन्छ ।