सिँचाइ कार्यालय छ, योजना छन् तर जनशक्ति छैन

दोलखामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय छ । सिँचाइ, नदी नियन्त्रण, विद्युतीकरण, पुराना मर्मतलगायतको शीर्षकमा १ सय ५ वटा नयाँ योजना चालू आर्थिक वर्षमा कार्यान्वयन गर्नका लागि बागमती प्रदेश सरकार र संघीय सरकारबाट आएको छ । चालू आर्थिक वर्षको पाँच महिना बित्यो । अबको सात महिनामा यी सबै योजना र पुराना क्रमागत योजना पनि पूरा गर्नुपर्ने छ । यी सबै योजनाका लागि ४४ करोड पुँजीगत बजेट प्राप्त भएको छ ।
पुराना क्रमागत योजना पनि निरन्तर गर्नुपर्ने छ । यसको छुट्टै बजेट छ । तर अधिकांश योजना सुरु हुन सकेका छैनन् । मंसिर मध्यसम्म आमनिर्वाचनको चटारो थियो । निर्वाचनले गर्दा खासै काम सुरु हुन पनि सकेन । अब निर्वाचन पनि सकियो, कामले गति लिनुपर्ने तर बागमती प्रदेश सरकारले दरबन्दीअनुसारको प्राविधिक कर्मचारी व्यवस्थापन गर्न नसक्दा दुईजना कर्मचारीको भरमा सिँचाइ डिभिजन कार्यालय चलिरहेको जलस्रोत तथा सिँचाइ विकास कार्यालयका निमित्त प्रमुख कुश बुढाथोकीले जानकारी दिए ।
बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा जिरी ताललाई राखेको छ । त्यसको जिम्मेवारी पनि सिँचाइ डिभिजन दोलखामै आएको छ । जिरी तालका लागि १५ करोड विनियोजन भएको छ । तर त्यसले के गर्ने अन्योल नै छ । जिरी तालको डीपीआरबाहेक मुआब्जा र ईआईएको काम बाँकी छ । त्यसैगरी बहुवर्षीय योजना भनेर पाँचवटा योजना छन् । यसको ठेक्का लगाउनु पर्छ । अरु साना योजना उपभोक्ता समितिमार्फत गर्ने योजना हुन् ।
उपभोक्ताहरू पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सम्पर्कमा आएका उपभोक्ता समितिमार्फत्का १५ योजनामात्र सुरु भएका छन् । डिभिजनमा ९ देखि १० तहका उपसचिवस्तरका डिभिजन प्रमुखको दरबन्दी छ । त्यस्तै दुई इन्जिनियर, तीन सबइन्जिनियरको दरबन्दी छ । मन्त्रालयले गत जेठदेखि डिभिजन प्रमुख पठाएको छैन । दरबन्दीअनुसारको प्राविधिक जनशक्ति तत्काल नपठाउने हो भने योजना र बजेटमात्र पठाएको सरकारले कार्यान्वयन गर्न चुनौती हुने देखिन्छ ।