आर्थिक मन्दीले व्यवसायी पलायन

पश्चिम तराईको व्यापारिक सहर नेपालगन्जको व्यस्त मानिने मुख्य बजार क्षेत्र यतिबेला सुनसान प्राय छन् । अन्य समयमा सटर भाडामा पाउन निकै गाह्रो हुने यहाँ पछिल्लो एक वर्षयता धेरै सटरहरु भाडामा खाली छन् ।
नेपालगन्जको व्यापारिक केन्द्र मानिने न्युरोड, घरबारीटोल, काँरकाँदो, पुष्पलाल चोक, धम्बोजी, बाईपास रोड, त्रिभुवन चोक आसपासका क्षेत्रमा यतिबेला घरैपिच्चे सटर भाडामा र बिक्रीमा लेखिएका पोस्टर तथा व्यानर टागिएका सूचना देख्न सकिन्छ । सटर खाली भएसँगै घर भाडामा दिएका कोठासमेत खाली हुन थालेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार पछिल्लो एक वर्षयता नेपालगन्जका करिव २० प्रतिशत भन्दा बढी व्यवसायी व्यापार छाडेर पलाएन भइसकेका छन् । “राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण बढेको ब्याजदरलगायत कारणले नेपालगन्जका धेरै व्यवसायी पलाएन भएका छन्” संघका महासचिव चिरिन्जीवी ओलीले भने, “अझै करिव ५० प्रतिशत व्यवसाय छोडने अवस्थामा रहेको जानकरी पाएका छौं ।”
लगानीमैत्री वातावरण नहुँदा व्यवसायीले दैनिक धमाधम व्यापार छोडेन स्थिति आएको बताउँदै यस्तो अवस्था आउनु दुःखद भएको उनको भनाइ छ । लामो समयदेखि कोरोना महामारीको असर र त्यसपछिको विश्व व्यापारमा देखिएको मन्दीका बीच चर्को बैंक ब्याज र खुला सीमा नाकाका कारणले यतिबेला यहाँको व्यवसायमा गिरावट आएको छ ।
यस्तो अवस्थामा वाणिज्य बैंकहरुले लगाम बिनाका घोडा जस्तै मनलाग्दी ब्याजदर तोकेर व्यवसायीको ढाड सेक्ने काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ बताउँछन् । विगतमा ७ देखि ८ प्रतिशतसम्ममा कर्जा लिएका व्यवासायीले अहिले १८ प्रतिशतसम्म तिर्नुपर्ने अवस्था आएपनि सरकारले चाँसो नदेखाउँदा व्यवसाय छोड्न बाध्य हुनुपरेको उनको भनाइ छ ।
बैंकको चर्को ब्याज, आर्थिक मन्दी लगायत विभिन्न कारणले बजारमा अत्याधिक महंगी हुँदा उपभोक्ताको क्रय क्षमता घट्दै गएको अवस्थामा व्यापार ठप्प प्राय छ । अहिले यहाँका मुख्य चोक बजार र व्यावसायिक क्षेत्रमा पसलैपिच्छे ‘टु लेट’, ‘सटर भाडामा’, ‘कोठा भाडामा’ लेखेर टाँसिएका पोष्टरहरु भेटिन्छन् । सटर भाडामा लिएर गुजारा गर्दै आएका स–साना व्यापार गर्नेहरु पनि भाडा तिर्न नसकेपछि सटर नै छोड्नु परेको बताउँछन् ।
नेपालगन्जको त्रिभुवन चोकमा कस्मेटिक्स पसल सञ्चालन गर्दै आएका दुर्गेश गुप्ता व्यवसाय ठप्प हुँदा पनि सटर भाडा भने अत्याधिक बढेका कारण व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भएको बताउँछन् । “विगतमा १०/१५ हजार भाडा हुँदा दैनिक ३० हजारसम्मको व्यापार हुने गरेको थियो” उनले भने, “अहिले तीन हजार मात्र व्यापार भएपनि ३०/४० हजार भाडा तिर्नुपरेको छ ।’
आफूले दुईवटा स्थानमा सटर भाडामा लिएर व्यवसाय गरेपनि दुवै ठाउँमा छोडने तयारीमा रहेको उनी बताउँछन् । व्यापार ठप्प भएपनि महंगो भाडादरलगायत कारणले व्यापार गर्न नसक्ने अवस्था आएको उनको भनाई छ । आफू मात्र नभएर यहाँका दर्जनौ व्यापारीहरुले भाडा तिर्नै नसकेर सटर छोडेर जाने गरेको उनले बताए ।
पछिल्लो समय विश्व व्यापारमा देखिएको मन्दीका कारण नेपालको अर्थतन्त्र पनि खस्किएको छ । यस्तो अवस्थामा सरकारले व्यवसायीलाई राहत हुने कार्यक्रम ल्याउनुको साटो राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण व्यवासायी पलाएन हुने क्रम बढ्दो छ । धेरै व्यवसायीहरु टाट पल्टेर पलायन हुने स्थिति आएको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
चालू पुँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको नीतिले मुलुकमा व्यावसायिक वातावरण झन बिग्रन थालेको छ । यी समस्याको समयमै निराकरण गरी लगानीमैत्री वातावरण बनाउन व्यवसायीले माग गरेका छन् । उनीहरुले माग पूरा नभए आन्दोलन झन सशक्त बनाउने चेतावनी दिएका छन् ।