Logo

बैंक खाता खोल्नेको संख्या जनसंख्याभन्दा ६४ प्रतिशतले बढी

चालु आर्थिक वर्षको चार महिनामा नेपालको कुल जनसंख्याको तुलनामा बैंकमा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको एक प्रतिवेदनले चार महिनामा खाता खोल्नेको संख्या ६४.२३ प्रतिशतले बढेको पाइएको हो । प्रतिवेदन अनुसार, सो अवधिमा निक्षेप र कर्जाको गरी ४ करोड ९२ लाख २७ हजार ८१० वटा बैंक खाता खोलिएका छन् ।

जसमा ४ करोड ७४ लाख २४४ निक्षेप खाता र १८ लाख २७ हजार ५६६ वटा कर्जा खाता खोलिएका छन् । प्रतिवेदनले नेपालमा बचत खाता मात्रै नेपालको जनसंख्या भन्दा ५८.१३ प्रतिशतले बढी रहेको देखाएको छ । नेपालको जनसंख्या २ करोड ९९ लाख ७४ हजार ३ सय ६० जना रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म ४ करोड ९२ लाख २७ हजार ८१० वटा बैंक खाता खोलिएका छन् ।

चालु आर्थिक वर्षको कात्तिक बैंक खाता ४ करोड ७४ लाख २४४ खाता खोलिएका छन् । जसमा वाणिज्य बैंकबाट ४ करोड ८ लाख ६१ हजार ६२१, विकास बैंकबाट ५८ लाख ४० हजार ९५०, वित्त कम्पनीबाट ६ लाख ९७ हजार ६७३ वटा बचत खाता खुलेका छन् । यस्तै कात्तिक मसान्तसम्म १८ लाख २७ हजार ५६६ वटा कर्जा खाता खुलेका छन् । जसमा वाणिज्य बैंकबाट १४ लाख ९५ हजार ७८१ वटा, विकास बैंकबाट २ लाख ९० हजार १९८ वटा र वित्त कम्पनीबाट ४१ हजार ५८७ वटा खाता खुलेका छन् ।

प्रतिवेदन अनुसार, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ९४ लाख ३ हजार ६८० रहेका छन् । जसमा वाणिज्य बैंकको १ करोड ६९ लाख ३४ हजार २१९ रहेको छ भने विकास बैंकमा २३ लाख ४७ हजार २५१ र वित्त कम्पनीबाट मोबाइल बैंकिङ सेवा लिनेको संख्या १ लाख २२ हजार २१० जना रहेका छन् । यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ता १७ लाख ५० हजार ९३६ रहेका छन् । जसमा वाणिज्य बैंकबाट १३ लाख ११ हजार ५८६, विकास बैंकबाट ४ लाख २८ हजार ३६२ र वित्त कम्पनीबाट १० हजार ९८७ रहेका छन् ।

प्रतिवेदन अनुसार, कात्तिक मसान्तसम्ममा १ करोड १७ लाख ३८ हजार ९७३ डेबिट कार्ड जारी भएका छन् । जसमा वाणिज्य बैंकबाट १ करोड १० लाख ५४ हजार ८३५ वटा, विकास बैंकबाट ६ लाख ३४ हजार ८९४ र वित्त कम्पनीले ४९ हजार २४४ वटा कार्ड जारी भएका छन् । यस्तै क्रेडिट कार्ड लिनेको संख्या २ लाख ६९ हजार ४७६ जना पुगेका छन् । जसमा वाणिज्य बैंकको २ लाख ६९ हजार ३८९ वटा र विकास बैंकबाट ८७ वटा कार्ड जारी भएका छन् ।

यता प्रिपेड कार्ड भने १ लाख १९ हजार ९८४ वटा जारी भएका छन् । जसमा वाणिज्य बैंकबाट १ लाख १८ हजार ७३७ वटा र विकास बैंकबाट १ हजार २४७ वटा कार्ड जारी भएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्त कम्पनीहरुका शाखा ६ हजार ४८८ वटा पुगेको छ । जसमा वाणिज्य बैंकहरुको ५ हजार ९० वटा, विकास बैंकहरुको १ हजार १२३ वटा र वित्त कम्पनीहरुको २७५ वटा पुगेका छन् ।

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म शाखारहित बैंकिङ १ हजार ४२० वटा रहेका छन् । जसमध्ये वाणिज्य बैंकको १ हजार ३९५ र विकास बैंकको २५ वटा रहेका छन् । कात्तिक मसान्तसम्म ४ हजार ६९६ वटा एटीएम रहेका छन् । जसमा ४ हजार ३२७ वटा वाणिज्य बैंकको, ३२५ वटा विकास बैंक र ४४ वटा वित्त कम्पनीको रहेको छ ।

नेपालीहरूको वित्तीय साक्षरता ५७.९ प्रतिशत मात्रै

नेपालीहरूको वित्तीय साक्षरता पूर्ण नभएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरता सम्बन्धी अध्ययनले नेपालीहरुको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत पाइएको देखाएको हो । वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको एक प्रतिवेदन अनुसार, वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम अंक प्राप्त गरेका छन् । वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अंक प्राप्त गरेका छन् ।

वित्तीय साक्षरतामा सबैभन्दा बढी अंक वागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेस प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ । वित्तीय साक्षरता अंकमा भिन्नता हुनुको प्रमुख कारक तत्व प्रदेशहरू बीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिएको प्रतिवेदनमा उल्लेख छ । वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अंक भने सबै प्रदेशहरूमा लगभग समान रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले पुरुषको तुलनामा महिला वित्तीय साक्षरतामा कमजोर रहेको समेत देखाएको छ । प्रतिवेदन अुनसार, पुरुषको वित्तीय साक्षरता अंक ६१.८ प्रतिशत पाइएको छ जुन महिलाको तुलनामा ७.५ प्रतिशतले बढी हो । पुरुषको वित्तीय ज्ञानमा अंक ५६.५ प्रतिशत रहेको छ जुन महिलाको तुलनामा १७.९ प्रतिशतले बढी छ । वित्तीय ज्ञानमा लैंगिक भिन्नता सबै प्रदेशमा रहेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्