मुलुकको अर्थतन्त्र प्रति राष्ट्रपति भण्डारीको चिन्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वर्तमान अर्थतन्त्रमा समस्या आएको भन्दै चिन्ता प्रकट गरेकी छिन् । बिहीबार बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव उदघाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
“अहिले मुलुकको अर्थतन्त्र समस्यामा देखिएको बुझेकी छु । व्यापार घाटा बढिरहेको, आयात बढिरहेको र मुद्रा सञ्चिति पनि राम्रो छैन” उनले भनिन्, “यसले आर्थिक समस्यातर्फ मुलुकलाई लगिरहेको देखिन्छ ।” मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने भण्डारीको सुझाव छ ।
“अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छु” उनले भनिन्, “खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाएर मात्र व्यापार घाटा कम गर्न सकिन्छ ।”
राष्ट्रपति भण्डारीले भैरहवामा निर्माण सम्पन्न भई सामान्य रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले सेवा प्राप्त गरुन् भन्नेतर्फ ध्यान दिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइन् ।
गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी–व्यवसायीको संरक्षणका लागि राज्यले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धिलाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेपको तयारीमा रहेको बताए । उनले अब बन्ने सरकारले देशको आर्थिक विकास केन्द्रित हुनुपर्ने बताए । कोरोना महामारी जस्ता निकै ठूला महामारीका कारणले नेपालको आर्थिक अवस्था बिग्रिएको बताउँदै गृहमन्त्री खाँणले नवनिर्वाचित सांसदहरुको सरकारको पहिलो प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले महोत्सवलाई सिर्जनात्मक र प्रवर्द्धनात्मक तुल्याइएको जनाए । उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलामले अब बन्ने सरकारले देशको आर्थिक स्थिति परिवर्तन हुने गरि काम गर्नुपर्नेमा जोड दिए । मुलुकको आर्थिक क्षेत्र संकटमा पर्दै गएको, उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुगेको र बैंकको चर्को ब्याजदरका कारण अर्को संकट थपिएको भन्दै यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । उनले लामो समयपछि बुटवलले स्थायी प्रदर्शनीस्थल पाएको भन्दै यसको निर्माणका लागि ठूलो बजेटको व्यवस्था गरेकोमा पुर्व अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णु पौडेललाई धन्यवाद समेत दिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थायी प्रदर्शनी स्थल बनेसँगै उद्योगी व्यवसायीको लामो समयदेखिको माग पूरा भएको भन्दै यसका लागि पहल गर्ने सबैप्रति आभार व्यक्त गरे । मेला एव प्रदर्शनीमा स्वदेशी उद्योगमा उत्पादित सामग्रीका स्टलहरु बढी रहेका छन् भने केही अन्य प्रदेश र विदेशमा उत्पादन भएका सामग्रीका स्टल पनि राखिएको छ ।
स्थानीय उत्पादनमा महिला उद्यमीबाट तयार गरिएका सामग्री प्राथमिकताको साथ प्रदर्शनीमा राखिएका छन् । १७ पुससम्म चल्ने महोत्सवमा उद्योग, खाध्यान्न, गार्मेन्ट, कृषि तथा सूचना प्रविधिसहितका ४ सय ५० भन्दा बढी स्टल राखिएका छन् । महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य आयोजक राखेका छन् । महोत्सव हालै निर्माण सम्पन्न भएको बुटवल अन्तराष्ट्रिय प्रदर्शनी स्थलमा सुरु भएको हो ।