Logo

नौलो भएकै कारण सोझै तेस्रो मुलुकबाट निर्यात

चिया अब नयाँ ‘चक्लेटी’ स्वादमा

अब चिया पनि नयाँ स्वादमा पिउन पाइने भएको छ । हामीले पिउने चिया पनि नयाँ स्वादमा आउन थालेको छ । खासै स्वाद फरक नपरे पनि चिया पारखीले नयाँ स्वादको चिया बढी रुचाउने गरेको पाइन्छ । चिया दूध लगाएको र दूध नलगाएको गरी दुई प्रकारबाट बुझ्न सकिन्छ । केहीले दूध बिनाको चियामा कागती लगाएर पनि पिएका छौँ । तर चियामा धेरै स्वादहरु छन् । चियाबाट अनेक स्वाद लिन सकिने चियाका पारखी तथा चिया उद्योगीको भनाइ छ ।

इलाममा उत्पादन भएको चिया स्वादिष्ट भएकै कारण विदेश समेत निर्यात भइरहेको छ । स्वाद र सन्तुष्टिका लागि लिइने चिया अधिकांश नेपालीहरुले बिहान उठ्ने बित्तिकै पिउने गरेको पाइन्छ । साथै अतिथी सत्कार तथा पाहुनालाई समेत घरमा आउँदा चियाले नै स्वागत गर्ने गरिएको छ । साथै पाहुना लाग्न बाहिर जाँदा कोशेलीसमेत चिया नै बोकेर जाने चलन छ । पछिल्लो समय चियाको स्वादसँगै मूल्यसमेत निकै महंगो हुँदै गएको छ । सरदर चार सयदेखि ४० हजारसम्म प्रतिकिलो चिया बिक्री वितरण हुने गरेको किसान तथा उद्योगीहरुको भनाई छ ।

हाते चिया बजारमा सस्तो मूल्यमा बिक्री वितरण हुन्छ । जुन किसानहरुले घरमा नै बनाउने गरेका छन् । यो चिया विशेष गरेर दूधसँग मिसाएर पिउने गरिन्छ । तर ग्रीन टी, ब्ल्याक टी, सिल्भर टीलगायतका उत्पादनहरु उद्योगबाट मात्र उत्पादन हुने गरेको छ । जुन मेसिनबाट मात्र बनाउन सम्भव छ । यो चिया विदेश समेत राम्रो मूल्यमा निर्यात हुने गरेको छ ।

इलाम देउमाईका किसान तथा उद्योगी बबिन श्रेष्ठले नयाँ अर्थाथ चकलेटी चिया निर्माण गर्दै आएका छन् । उनले चियालाई केही फरक स्वादमा निकाल्ने कोसिस गरेको बताए । सो चिया विशेष गरी भुटिएको वा खारिएको चिया जस्तै लाग्छ । तर प्रशोधन गरिएको चियाको नयाँ स्वाद भएकाले उनी आफैंले चक्लेटी चिया नाम दिएको बताए । यो चिया नयाँ भएकै कारण चिया पारखीहरुले गुणस्तरिय चिया मानेर बाहिरी मुलुक लैजाने गरेको सञ्चालक प्रधानको भनाइ छ ।

अन्य चिया भन्दा केही फरक गरी बनाइएको चियालाई चकलेटी चिया नाम दिइएको हो । देउमाई नगरपालिका ४ मा रहेको हिमशिखर चिया प्रशोधन उद्योगमार्फत उनले चक्लेटी चिया उत्पादन गर्दै आएका छन् । विशेष गरेर सो उद्योगमा उत्पादन भएको चिया रसिया जाने गरेको छ । करिव चार हजार प्रतिकिलो उद्योगमा नै आएर सो देशका व्यापारी तथा नागरिकले चिया लैजाने गरेको उद्योगी श्रेष्ठको भनाइ छ । उनले केही वर्ष अघिदेखि सो उद्योगमा उक्त चिया प्रशोधन गर्दै आएका छन् ।

स्वादमा फरक भएका कारण पनि चिया पारखीले यसलाई मन पराउने गरेको उनले बताए । यो चिया कोरोना कालको लकडाउन समयमा बाहेक सधैँ रसिया नै जाने गरेको छ । नेपालमा खासै बेच्न नपरेको उनी बताउँछन् । रसियाका लागि व्यापारी तथा चिया पारखी आफैं आएर लजाने हुँदा माग अनुसारमात्र समेत बनाइने गरेको छ । यो पनि सिल्भर र गोल्ड गरेर दुई प्रकारका चिया पाइन्छ ।

हुन त ग्रीन टी पनि सिल्भर र गोल्डेन गरेर दुई प्रकारक स्वादमा पाइन्छ । तर यो चिया विदेशी प्राय सबै देशका नागरिकले मन पराउने गरेको उनको भनाइ छ । चियाको जिल्ला इलाम । यहाँ धेरै किसानहरुले चिया उत्पादन गर्छन् । चिया उत्पादन गर्न नसक्ने उपभोक्ताले हरियो चिया खरिद गरेर आफ्नै स्वादको चियासमेत निर्माण गर्ने गरेका छन् । इलाममा चियाका धेरै परिकार निर्माण हुन्छन् । ‘येल्लो टी’, ‘ह्वााइट टी’, ‘सिल्भर टी’, ‘ग्रिन टी’, ‘स्पेशसन ग्रिन’, यसमा पनि सिल्भर र गोल्ड गरेर चिया निर्माण हुन्छन् । यी चियाको स्वादसँगै मूल्यसमेत फरक पर्ने गरेको छ ।

सामान्य चिया बेच्न भारतकै भर पर्नुपर्ने समस्या छ । तर विशेष प्रकारको चिया खरिदमा विभिन्न मुलुकहरुबाट व्यापारी आउने गरेका छन् । राम्रो मूल्यसहित राम्रो चिया तेस्रो मुलुक निर्यात भइरहेको छ । नेपालको चिया निर्यातका लागि आफ्नै लोगो समेत छ । तर साना उद्योगहरुले लोगो पहुँचवालाको लागि मात्र भएको दुखेसो गर्दै आएका छन् । नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ ।

वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त ल्याएको चियाको बिरुवा इलामा रोपेपछि नेपालमा चियाखेतीको सुरुवात भएको मानिन्छ । त्यस अगाडी चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई थिए । चिनमा उच्च ओहदाका व्यक्तिबाट उपहार प्राप्त भएको चियाको विरुवा जंगबहादुरको आदेशमा इलामका तत्कालिन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि सो चिया रोपिएको बताइएको छ ।

नेपालमा सो पश्चात चिया खेतीको औपचारिक सुरुवात भएको मानिन्छ । थापाले वि.सं. १९२० मा इलाम चिया कमानमा प्राप्त विरुवा रोपेको बताइन्छ । त्यसको २ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती क्रमशः विस्तार हुँदै गएको हो । नजिकै रहेको दार्जिलिङमा पनि सोही समयमा चिया रोप्न थालिएको थियो । भारतको दार्जिलिङ र नेपालमा उ बेलाको प्रविधि साटासाट गर्दै धमाधम चिया लगाउन थालियो । भारतमा चिया खेती फस्टाइरहँदा नेपालमा भने जहाँनिया राणा शासनका अगाडि चिया खेती फस्टाउन नपाएको जानकारहरु बताउँछन् ।

तर त्यही समयमा भारतको दार्जिलिङमा चिया खेती व्यापक हुँदै गएको बताइएको छ । पछि दार्जिलिङको चिया ब्राण्ड नै स्थापित गर्दै अघि बढ्यो तर नेपालमा भने निकै पछि अर्थात केही वर्ष अघि मात्र निर्यातका लागि लोगो प्राप्त भयो । २०५७ सालमा सरकारले राष्ट्रिय चिया नीति ल्यायो । सरकारले चिया प्रवर्द्धनमा लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको बताइन्छ ।

चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन सकिएको छैन । विश्व बजारमा ४ करोड किलोग्रामभन्दा बढी चियाको माग छ । करिब ९० लाख किलोग्राम चिया दार्जिलिङले उत्पादन र माग पुरा गरिरहेको छ । नेपालबाट करिब ३० लाख किलोग्राम मात्रै उत्पादन हुने गरेको आंकडा छ । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त भएपनि नेपालले चिया खेतीबाट खासै लाभ लिन सकेको छैन ।

तत्कालीन राजा वीरेन्द्रले वि.सं. २०३९ मा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरेर सुरु गरेको पाइन्छ । हाल नेपालको पूर्वी जिल्ला बाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत केही मात्रामा चिया लगाइएको तथ्यांकमा उल्लेख छ ।

तथ्यांकअनुसार १ करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन भइरहेको छ । त्यसक्षेत्रमा सञ्चालित टि स्टेट तथा प्रशोधन केन्द्रले चिया उद्योगले करिब ५८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । गत आर्थिक वर्षमा २ अर्ब ६८ लाख रुपैयाँ बराबारको ११ हजार १ सय ४२ मेट्रिकटन चिया निर्यात भएको थियो । यहाँको अग्र्यानिक चिया विश्व बजारमा लोकप्रिय मानिन्छ ।

चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोहत्सान कार्यक्रम ल्याउनु पर्ने चिया किसानहरुको माग छ । चिया क्षेत्रमा अझैपनि निकै समस्या छन् तर समाधानमा कसैले चासो नराखेको यहाँका किसान तथा उद्योगीहरुको भनाइ छ । चियाबाट जती किसान तथा उद्योगीहरुले लाभ लिइरहेका छन् । चियाबाट पछिल्लो समय किसानहरु निराशसमेत छन् । गर्न सके चियाबाट राम्रो आम्दानी हुने गरेको छ । तर उत्पादनका समयमा मल अभाव तथा उद्योगले समयमा पैसा नदिँदा समेत समस्या हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्