पाइपले थेग्न नसक्दा सडक जलमग्न

काठमाडौं उपत्यकामा पानी वितरणका लागि बिच्छाइएको नयाँ पाइपको सञ्जालले दबाब थेग्न नसकेपछि सोमबार सडक जलमग्न भएको छ । नयाँ पाइपको सञ्जाल राजधानीका लैनचौरसहितका क्षेत्रमा फुट्दा सडक जलमग्न भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै पाइपलाइनबाट पानी वितरणका लागि पठाएको छ । नयाँ सञ्जालमा समस्या आएपछि केयुकेएलको पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको थियो ।
नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो, जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको छ । पाइप फुटेर सडक जलमग्न हुँदा राजधानीको सडकमार्ग दिनभर प्रभावित भयो ।
शुक्रबारदेखि मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमा पानी बग्ने समस्या देखिएको केयूकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले बताए । परियोजना विकास निर्देशनालयले पाइपलाइनहरु हस्तान्तरण नगरेकाले पनि मर्मतको विषयमा अन्योल भएको उनको भनाइ छ ।
केयूकेएलका अनुसार अहिले कतिपय सडकमा पानीका भुल्काहरू देखिएका छन् भने कतिपय स्थानमा रसाइरहेका छन् । केयूकेएलका कर्मचारी पुगेर पानी प्रभावित क्षेत्रको पानी बन्द गर्न समेत ढिलाइ भइरहेको छ । जमेको पानीका कारण सडक हिलो नै जमेको छ । मूलझैं फुटेर निस्केको पानी कतै नालै–नाला भएर ढलमा पुगेका छन् ।