Logo

गण्डकी प्रदेशस्तरीय सातौं पर्वत महोत्सव हुँदै

समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सातौं पर्वत महोत्सव गरिने भएको छ । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौं पर्वत महोत्सव आगामी ११ माघदेखि २१ गतेसम्म आयोजना हुनेछ ।

पर्वत उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी गराएको छ । महोत्सव सम्पन्न गर्नका लागि विभिन्न उपसमिति बनाइएको छ । महोत्सव आउन झण्डै डेढ महिना बाँकी रहँदा प्रचारप्रसार, आर्थिक संकलनलगायतका तयारी भइरहेको मूल संयोजक गोपी अधिकारीले जानकारी दिए ।

हरेक तीन तीन वर्षमा हुँदै आएको पर्वत महोत्सवमा यस वर्ष झण्डै २ सय ५० वटा स्टल रहने भएका छन् भने पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । महोत्सवमा पाँच करोडभन्दा बढीको कारोबार गर्ने अपेक्षा लिइएको छ । समग्र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन, पर्वत जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रचार प्रसार, पर्वत जिल्लामा उत्पादित वस्तुहरुको प्रवर्द्धन र प्रचार प्रसार, लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन, स्थानीय उत्पादन, उद्योग, व्यापार र व्यावसायको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने महोत्सवको उद्देश्य रहेको छ ।

महोत्सवमा विश्वकै अग्लो बञ्जिजम्प, जिपफ्लाइङ्ग, कालिगण्डकी नदीमा र्‍याफ्टिङ, नेपालकै अग्ला र लामा झोलुंगे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडिबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण रहेका छन् ।

त्यस्तै झाँकी प्रदर्शनी तथा जिल्लास्थित विभिन्न जनजातिका फरक फरक सास्कृतिक कार्यक्रम, पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तीरय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, भजन प्रतियोगता, छेलो प्रतियोगिता, खुल्ला दौड, तिर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिने भएको छ ।

त्यस्तै राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था, गरिने भएको छ । महोत्सवमा उद्योग वाणिज्य संघका सदस्य, लघुघरेलु कृषि तथा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूको स्टल भाडामा २५ प्रतिशत र गण्डकी प्रदेशका उद्योग वाणिज्य संघको सिफारिसमा आएका व्यवसायीलाई १० प्रतिशत छुट दिइने भएको छ । महोसत्व अवलोकन गर्नका लागि दर्शकहरूलाई एक सय रुपैयाँको टिकट र विद्यार्थीलाई ४० प्रतिशत छुटको व्यवस्था गरिएको आर्थिक संयोजक ठाकुरवि पौडेलले जानकारी दिए ।

महोत्सववाट भएको आम्दानीले महोत्सव स्थल तथा खेल मैदानलाई व्यवस्थित गर्ने, पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम संचालन गर्ने, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामानको बजारीकरणका लागि सहयोग गर्ने, उद्योग वाणिज्य संघको कल्याणकारी कोषलाई वृद्धि गर्नेलगायतका उद्देश्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्