Logo

दूध बिक्री हुन थालेपछि कृषक भैंसी पालनमा आकर्षित

सुर्खेतको चिङ्गाड गाउँपालिकाका कृषकहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । दूध बिक्री हुन थालेपछि छोड्दै गएको पशुपालन पेशामा पुन कृषकहरुको आकर्षण बढ्न थालेको हो । गाउँपालिकाको पशु सेवा शाखाको तथ्यांक अनुसार चिङ्गाडबाट दैनिक औषतमा एक हजार चार सय लिटर दूध निर्यात हुने गरेको छ । दूध बिक्रीबाट मासिक करिब २६ लाख गाउँपालिमा भित्रिने गरेको छ ।

गत आर्थिक वर्षमा करिब ३ करोड रुपैयाँ दूध बिक्रीबाट चिङ्गाडबाट भित्रिएको छ । परम्परागत रुपमा भैंसी पालन गर्दै आएका यहाँका कृषकले घ्यू मात्र बिक्री गर्नुपर्ने बाध्यता थियो । घ्यूको बजार खस्किदै गएको र मेहनत अनुसारको आम्दानी पनि नभएपछि भैंसी पालनप्रति कृषकको आकर्षण घटेको थियो । विगत दुई वर्षदेखि दूध बिक्री हुन थालेपछि भने भैंसी पालनमा पुन आकर्षण बढ्न थालेको हो ।

“भैंसी त हामी पहिले देखि नै पाल्थ्यौँ घ्यू मात्रै बिक्री हुन्थ्यो त्यसमा पनि दुख ज्यादा फाइदा कम थियो” वडा नं. ३ सल्यानगैराका खड्कबहादुर जिसीले भने, “अहिले डेरीमा दूध बिक्री हुन थालेपछि राम्रो छ महिनामा महिनामा पैसा बुझ्छौँ ।” दूध बिक्रीबाट मासिक रुपमा नियमित आम्दानी हुन थालेपछि घर खर्च चलाउन र छोरा छोरीलाई पढाउन सजिलो भएको जिसीको भनाइ छ । यस्तै वडा नं.४ का प्रेम बुढा पनि दूध बिक्री हुन थालेपछि घर खर्च चलाउन सजिलो भएको बताउँछन् ।

पूर्खाहरुदेखि नै भैंसी पाल्दै आएपनि उचित लाभ लिन नसकेकोमा अहिले भने दूध बिक्री हुन थालेपछि राहत भएको जिसीले बताए । स्थानीय सहकारी र समूहहरुले दूध संकलन गरेर सदरमुकाम वीरेन्द्रनगरका डेरीमा दूध बिक्री गर्ने गरेका छन् । वडा नं ३ र ४ को ठाँटीमा गाउले बहुउद्देश्यीय सहकारी संस्था, वडा नं. ५ मा चिङ्गाड साना किसान कृषि सहकारी संस्था, वडा नं. २ मा लोकतान्त्रिक कृषक समुह र वडा नं. १ मा खालिखर्क भैंसीपालन कृषक समुहले दूध संकलनको काम गर्दै आका छन् ।

दुई वर्षअघि दूध संकलन सुरु गरेको गाउँले बहुउद्देश्यीय सहकारी संस्थाले सुरुको दिन दस लिटर संकलन गरेको थियो भने अहिले दैनिक सात सय लिटर संकलन भैरहेको सहकारीका प्रबन्धक भावुक जिसीले बताए । डेरीबाट पैसा नआएपनि सहकारीले प्रत्येक महिनाको १० गते सहकारीले किसानलाई दूधको पैसा भुक्तानी गर्दै आएको छ । जसले गर्दा कृषकले नियमित रुपमा समयमै पैसा पाएका छन् । आगामी दिनमा भैंसी पालनका लागि सहुलियत ब्याजमा कर्जा प्रवाह गर्ने तथा कृषकहरुले पालेका भैंसीको बिमा गर्ने सहकारीको योजना रहेको प्रवन्धक जिसीले बताए ।

दूध उत्पादन तथा पशुपालनमा स्थानीय सरकारले पनि प्रोत्साहन गरेको छ । उत्पादनमा आधारित कृषक प्रोत्सान अनुदान बापत् प्रतिलिटर दूधमा पाँच रुपैयाँ अनुदान दिने गरेको गाउँपालिकाका पशु शाखा प्रमुख शेरबहादुर रानाले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले १२ लाख अनुदान भुक्तानी गरेको छ । यस्तै गाउँपालिकाले दुई ठाउँमा ३ हजार लिटर क्षमताको दुग्ध चिस्यान केन्द्र स्थापनामा सहयोग गरेको छ भने दूध ढुवानीका लागि ‘मिल्क क्यान’हरु वितरण गरेको छ । दूधको बजारीकरण सहजभएपछि कृषकहरु व्यावसायिक भैंसी पालनमा आकर्षित भएको रानाको भनाइ छ । उनका अनुसार पालिका भित्र ५ देखि २७ वटा भैंसी पालन गरिएका १४ वटा फार्महरु सञ्चालनमा आएका छन् ।

प्रत्येक वडामा पशु स्वास्थ्य प्राविधिकको व्यावस्था गरेको, नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सेवा तथा सिजन अनुसार घाँसको बिउ बिरुवा निःशुल्क वितरण गर्ने गरेको पनि रानाले बताए । आगामी वर्ष दूध ढुवानीका लागि ५० प्रतिशत अनुदानमा ढुवानी साधन वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । यस्तै पशु बिमा गर्दा लाग्ने प्रिमियमको किसानले तिर्न पर्ने रकमको ५० प्रतिशत पालिकाले व्यहोर्ने गरी गाउँपालिकाले वार्षिक कार्यक्रम बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्