व्यवस्था फेरिएपनि अवस्था उस्तै

पर्यटकीय जिल्ला भनेर चिनिने इलाम सुन्दा निकै सुगम जस्तै लाग्छ । जिल्ला बाहिरका मानिसले नपुगुन्जेल निकै विकास भइसकेको बुझेको हुन पनि सक्छ । इलाम देखेर वा घुमेर फर्किएकाहरुले बाहिरी रुपमा वा सडक आसपासमा त्यस्तै देखेका पनि होलान् । तर इलामका भित्रि भागहरु अझै पनि सुगम इलामको पर्खाइमै छन् । हो जिल्लामा धेरै प्रकारका नगदेवाली उत्पादन हुने भएर यहाँका मानिसहरु आर्थिक रुपमा खासै पिछडिएका छ्रैनन् पनि । तर जस्तो यहाँका मानिसको दिनचर्या जस्तो हुनु पर्ने हो त्यो हुन सकेको छैन ।
विकास नाप्ने यन्त्र नभएपनि शिक्षा, स्वास्थ्य, सडक, स्थानीयको दैनिकी लगायतले सुगम र दुर्गम छुट्याउन सकिन्छ । हो बजारी क्षेत्र सुगमतामा अगाडी बढ्दै गएको जस्तै देखिन्छ । तर ग्रामीण भेगमा बर्खाका समयमा ऐले पनि गाडी गुड्न सक्दैन । घण्टौँ धाएर विद्यालय जान बाध्य हुनु परेको छ । सामान्य ज्वरो आउँदा जिल्ला बाहिर उपचार गराउन जानु पर्छ भने यस्ता ठाउँ वा जिल्लालाई कस्ले सुगम भन्ला ।
राज्यले हरेक पाँच वर्षमा दुई पटक करोडौँ रकम खर्चिएर निर्वाचन गराउँछ । जिल्ला वा गाउँको विकासको लागि सो क्षेत्रकै नेतासँग कुरा जोडिँदो रहेछ । तिनै नेताको हेराई र काम गराइमै भर पर्नुपर्ने रहेछ विकासका लागि । संघ र प्रदेशमा नेतृत्व गर्ने नेताहरुले रहेछ खास विकासको मोडेल अगाडी बढाउने । दूर दृष्टि र सहि भिजन भएको मानिसले मात्र गाउँ, टोल, वडा, स्थानीय तह र क्षेत्रको विकासका गतिविधि अगाडी बढाउन सक्न पनि ।
देशमा बिभिन्न किसिमका द्वन्द्व भए । त्यसले जिल्लालाई पनि असर गर्यो । त्यसपछि कोरोना आयो र चलिरहेकै छ पनि । त्यसले पनि विकासमा अवरोध पुर्यायो नै । इलाम पूर्व प्रधानमन्त्री र संविधान सभाका अध्यक्षका जिल्ला हो । धेरैले यस्तै नामले पनि इलामलाई चिन्छन् ।
तर बीसौँ वर्षदेखी यहाँ (देशमा) ब्यवस्था फेरियो । राजतन्त्रबाट लोकतन्त्र हुँदै मुलुक संघीय गणतन्त्रमा हिड्न थालेको पनि लामो समय भइसक्यो । यहाँका जनताले ब्यवस्था फेरेको देखे । ब्यवस्था फेर्न लागि परे पनि तर आफ्नो अवस्था फेरिएन । केही गाउँबाट अझै पनि बिरामी हुँदा बोक्न मान्छेकै काँध आवश्यक पर्दछ । अधिकांश मतदाताले विकास नभएको बताइरहेका छन् । पार्टीमा आस्था राख्ने केही जनता बाहेकले यो क्षेत्रमा जनप्रतिनिधिले वास्ता नगरेको बताउने गरेका छन् ।
इलामले धेरै नेता जन्मायो । यहाँबाट राजनिति सिकेर धेरै नेता माथि पुगे तर कोही कसैले जिल्लाको विकासमा केही गर्न नसकेको आरोप उनीहरुमाथि छ । यहाँ एक पार्टीका व्यक्तिहरु मात्र माथि पुगेनन् । कुनै एक नेतालाई दोष थुपारिरहेका छैनन् । जिल्लाले नेता पाएर देश हाँक्ने प्रमुख कार्यकारी प्रधानमन्त्रीसम्म पाउँदा समेत यहाँको विकास नहुनु भनेको जिल्लाको भविष्य अन्योलमा परेको यहाँका सर्वसाधारणको भनाइ छ ।
इलाम क्षेत्र नम्वर एकबाट प्रतिनिधित्व गर्दै धेरै पटक निर्वाचित झलनाथ खनाल देशको पहिलो कार्यकारी पद अर्थात प्रधानमन्त्री भए । तर उनले आफ्नो कार्यकालमा निर्वाचन क्षेत्र नम्वर एकमा विकासका लागि भनेर नयाँ केही काम गर्न नसकेको उनलाई भोट दिनेहरुले नै बताउने गरेका छन् । सांसद विकास कोषमार्फत हुने सामान्य विकास बाहेक नयाँ र ठूला योजना खनालले आफ्नो निर्वाचन क्षेत्रमा पार्न नसकेको सो क्षेत्रका स्थानीयको भनाइ छ । उनले इलाम जिल्लामा रत्नकुमार वान्तवा पोलिटेक्निक इन्टिच्युटलाई आफ्नै जग्गा दिएर हाल सञ्चालन भइरहेको छ । सो इन्टिच्युट उनकै कारण इलाममा आएको हो । तर सो आफ्नो घरपायक भएको भएपनि आफ्नो निर्वाचन क्षेत्रमा निर्माण नगरेको भन्दै उनी विजयी हुँदै आएको निर्वाचन क्षेत्रका बासिन्दा गुनासो गरिरहेका छन् ।
अन्य स्थानका सांसद प्रधानमन्त्री हुँदा देशका ठूला योजना आफ्ना क्षेत्रमा पार्ने काम भइरहेको छ । सडक, पुल, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि सम्वन्धित मन्त्रालय मार्फत मोटो रकम विनियोजन गरेर काम सञ्चालन भइरहेको समेत छ । तर खनालले आफ्नो क्षेत्रमा जति काम गर्न सक्थे सो अनुरुप काम गर्न नसकेको सो क्षेत्रका बासिन्दाको भनाइ छ ।
संघीय निर्वाचनमा दुईवटा मात्र क्षेत्र रहेको इलामको क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ दुई दशकदेखि निर्वाचित भइरहेका छन् । उनले प्राय भाषणमा इलामको क्षेत्र नम्वर दुईको अधिकांस क्षेत्रमा बत्ति पुर्याएको भाषण गर्ने गरेका छन् । सडकको स्तर त पछि स्थानीय तहले पनि निर्माण गर्दै गरेका छन् । सांसद विकास कोष बाहेकका नयाँ योजना ल्याउन नसकेको उनीमाथि आरोप मतदाताको छ । यस पटक भने उनको एमालेका नेताहरुले नै खुलेर बिरोध गरिरकेका छन् । एमालेबाट निर्वाचित नेम्वाङले यसअघि पटक पटक जितेर पनि केही गर्न नसकेको भनेर उनलाइ जिताउन लागेका एमाले समर्थकहरुले नेम्वाङले जिते पुन सो क्षेत्रमा विकास नहुने भन्दै युवा नेतालाई जिताउनु पर्ने तर्क राख्दै आएका छन् ।
इलामका युवा व्यवसायी केशव खनालले नेम्वाङले गर्नुपर्नेजति विकास गर्न नसकेको बताएका छन् । नेम्वाङको क्षेत्रमा रहेको नेपालटार मंगलबारे पक्की सडक कच्चीमा परिणत हुँदा पनि उनले नहेरेको, दमक, रवि, भेडेटार सडक पक्की गर्न काम अगाडी बढेको भएपनि बिचमा अलपत्र बन्दा उनको ध्यान नगएको धेरैले त्यसको विरोध गरेका छन् । चुनाव नजिकिएसँगै उनको सक्रियता बढ्ने र उनले दमक, रवि सडक निर्माण नभएको भन्दै चासो देखाउन थालेका छन् । तर नेपालटार मंगलबारे सडकको दुर्दशा कसैले वास्ता नगरेको चालकहरुको भनाइ छ ।