रोग लागेपछि किसानले लगाए मार्सीधानमा आगो

तातोपानी गाउँपालिका वडा नंं.४ गौतमबाडाका किसान दिपक खत्रीले भित्र्याउन लागेको मार्सीधानका खेतमा आगो लगाए ।
धान भित्राउन खेतमा पुगेका दिपकले बालानै नलागेका रित्तै खेत देखेपछि परालमा आगो दन्काएका हुन् । “विगतका वर्षमा ५० किलोका १५/१६ बोरा धान उत्पादन हुन्थ्यो” खत्रीले भने, “ब्लाष्ट रोगले धानको बाला लागेको तर बोटमै कुहिएको भेटियो । चन्दननाथ ३ उन्नत जातको धान रोप्दा ४ बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सीधान सखाप भएपछि आगो लगाउन बाध्य भयांै ।”
तातोपानी ४ कै किसान खडक गौतम यसपाली कात्तिकमा खेतमै गएनन् । १२ देखि १५ बोरा उत्पादन हुने खेतका धान ब्लाष्ट रोगले सखाप भएपछि गौतमले यसवर्ष एक कट्टी पनि धान पाएनन् । वर्षभरीको परिश्रम बालुवामा पानी भएपछि उनले पनि धानखेतमा आगो लगाएका छन् ।
त्यस्तै अर्का किसान पदम खत्री गत वर्षसम्म कात्तिकमा २० बोरा भन्दा बढी धान उत्पादन गर्थे । तर ब्लाष्ट रोगका कारण यसवर्ष एक कट्टी पनि उत्पादन नहुँदा पदमका भकारी रित्तै छन् । २० बोरा उत्पादन हुने खेतका धानका बाला कुहिएको, कालो सेतो धोस्रो परेको देखेपछि किसान खत्री धानखेतमा आगो लगाएर रित्तै घर फर्किए ।
दिपक, खड्क र पदम एक उदाहरण मात्र हुन् । भित्र्याउनै लागेको मार्सीधान धानमा ब्लाष्ट रोग लागेपछि जुम्ला तातोपानी ४ गौतमबाडाका किसानले धानखेतमा आगो लगाएका छन् । गौतमबाडा गाउँभरी गरेर यस वर्ष बढीमा १० बोरा धाम मात्रै उत्पादन भएको छ ।
ब्लाष्ट रोगको संक्रमणले सयौं मुरी धान सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् । स्थानीय दिपक खत्रीले भने, “गौतमबाडाका करिब ५४ घरधुरीका किसानका भकारी यसपाली रित्तै छन् । जुम्लाकै सबैभन्दा ठूला खेत र धेरै धान उत्पादन हुने गौतमबाडा ज्युलोमा ब्लाष्ट रोगले उत्पादन शुन्यमा झार्यो ।”
गएको दुई महिना अघिनै गौतमबाडा ज्युलोको मार्सीधानमा ब्लाष्ट रोग लागेको सूचना आएको थियो । तर सम्बन्धित निकालयले चासो नदिँदा यस वर्ष किसान खेतमै आगो लगाउन बाध्य भएको किसान पदम खत्रीको दुखेसो छ । भित्र्याउन लागेकै धानमा आगो लगाएर रित्तै घर फर्किएका किसान राहतको पर्खाइमा छन् । किसाले स्थानीय, प्रदेश र संघ सरकारसँग राहतका लागि गुहार गरिरहेका छन् ।
यता तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गौतमबाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताए । उनले भने, “भित्र्याउन लागेको धानमा ब्लाष्ट रोग लाग्नु ठूलो विपद हो । त्यसबाट प्रभावित किसानको राहत उद्दारमा पालिका गम्भीर छ । प्रशासनलाई पत्राचार पनि गरेका छौं । ४ लाख वर्गमिटर मार्सीफाँट धानखेती सखाप भएको बुझिएको छ ।”