Logo

चुनावमा स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

वैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय चुनाव सकिएर जनप्रतिनिधिले पदबहाली गरेको पनि ६ महिनाभन्दा बढी भइसकेको अवस्थामा फेरि अहिले संघ र प्रदेशको चुनावका लागि मुलुक चुनावमा होमिएको छ । जताततै राजनीतिक दलको मुख्य प्रतिस्पर्धा, त्यसमाथि गठबन्धनलगायतले गर्दा सबैले आफ्नो पक्षमा मत आउने विश्वास गर्छन् । केही राजनीतिक दलहरूले त पक्कापक्की चुनावमा जित्ने भनेर केही ठाउँमा सार्वजनिक मन्तव्य पनि दिँदै आएका छन् । तर, चासोको विषय भनेको नै अन्त्यमा जनताको मत हो । जनताले जसलाई विश्वास गर्छन्, जनताको नजरमा जो प्यारो हुन्छ जनताले उसैलाई मत दिन्छन् । तर, पछिल्लो चरणअनुसार मुलुकको राजनीतिक अवस्था, शासन प्रणाली, कर्मचारीतन्त्रलगायतको गतिविधिका कारण पनि जनताले बढी हाम्रोभन्दा पनि राम्रो मानिसलाई चुनावमा भोट दिने गरेको गत स्थानीय चुनावबाट पनि प्रस्टै देखिन्छ ।
गएको स्थानीय चुनावमा मुलुकभित्र धेरै स्वतन्त्र उम्मेदवारहरूले विजय हासिल गरिसकेका छन् । विजय भएको दिनदेखि नै जनताको भावना बुझेर काम गरी केही जनप्रतिनिधि चर्चामा पनि आएका छन् । जस्तै, धरान उपमहानगरपालिकाको प्रमुखमा हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साहलगायत स्वतन्त्र उम्मेदवार स्थानीय तहमा निर्वाचित भएका छन् । काम र दक्षताको आधारमा भने धरानका हर्क साम्पाङ र काठमाडौंका बालेन्द्र साहको मात्र चर्चा सुन्न सकिन्छ । यी त भए स्वतन्त्रबाट स्थानीय तहमा निर्वाचित भएर पनि आफ्नो कार्य सम्पन्न गर्दै जाने र लोकप्रियता हासिल गर्दै जाने जनप्रतिनिधि । अब मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावमा पनि धेरै ठाउँबाट स्वतन्त्र उम्मेदवारहरूले स्वतन्त्र रूपमा आफ्नो घोषणपत्रसहित चुनावी मैदानमा उत्रिएका छन्, प्रतिस्पर्धामा छन् ।
डँडेलधुराबाट स्वतन्त्र रूपमा सागर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी लिएर भरतपुर, चितवनबाट रवि लामिछाने, काठमाडौंभित्रबाट चिरपरिचित अनुहार रमेश खरेल, नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चुनाव चिह्न लिएर काठमाडौं क्षेत्र नम्बर २ बाट सोबिता गौतम, त्यस्तै क्षेत्र नम्बर २ बाट नै खाम चिह्न लिएर इन्जिनियर कृष्णराम पुरी, यी सबै स्वतन्त्र उम्मेदवारहरूले राजनीतिक दलहरूका ठूला वाम गठबन्धन, विभिन्न राजनीतिक दलका उम्मेदवारहरूसँग यसपालिको संघ र प्रदेशको चुनावमा प्रतिस्पर्धा गर्दै छन् । तर, नतिजा भने यसपालिको चुनावमा ठूला राजनीतिक दलहरूले स्वतन्त्र उम्मेदवारहरूसँग कत्तिको सामना गर्नुपर्ने हो, त्यो जनताको मत परिणामबाट मात्र थाहा हुने भएकाले योपालि धेरैजसो प्रतिस्पर्धीले स्वतन्त्र रूपमा संघ र प्रदेशको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली जनताले लामो समयको राजनीतिक अस्थिरता र मुलुकमा भएको राजनीतिक परिवर्तन, सत्ता समीकरण, जनताले दैनिकीसँग भोग्नुपरेको अवस्था, आफ्ना बालबच्चा र परिवार छाडेर देश–विदेशमा दु:ख र संघर्ष गर्न परदेसिनुको पीडालगायत मुलुकमा चरम भ्रष्टाचार, विकृति, विसंगतिलगायत जनताले प्रशासनिक काम कार्यमा झेल्नुपरेको दु:खजस्ता परिस्थितिलाई अन्त्य गर्न मुलुकका धेरै ठाउँबाट गएको स्थानीय चुनावमा जस्तै यसपालि संघ र प्रादेशिक चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् । नेपाली जनताले आउने पाँच वर्षका लागि समृद्ध मुलुक निर्माणका लागि सच्चा उम्मेदवार छान्न पाउने भएका छन् । मंसिर ४ गते हुने चुनावमा जनताले कस्ता व्यक्तिलाई मत दिन्छन् त्यो भने हेर्नै बाँकी छ । जुनै दलको नेतृत्व लिएर चुनाव जिते पनि मुलुक समृद्ध होस्, विकास निर्माणको गतिले अगाडि बढोस्, जनताको दैनकी जीवनयापनलगायत महँगी, भ्रष्टाचार नियन्त्रण होस् ।

प्रतिक्रिया दिनुहोस्