तीनजनाको ज्यान जानेगरी कार चलाउने पक्राउ

सोमबार बिहानै भैरहवा परासी सडक खण्डको भैरहवाका परासी सडक खण्ड अन्तर्गतको ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननीमा ३ जनाको ज्यान लिने गरी ठक्कर दिने कार र कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवं प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीका अनुसार दुर्घटना गराउने कार बा.८.च. ६५३२ नम्बरको टाटा इण्डिका (भिष्टा)कार फिक्का निलो रंगको रहेको र चालक रोहिणी गा.पा. वडा नं. ३ धकधईका २३ वर्षिय अजय कुमार चौधरी रहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए । कार चालक चौधरीलाई सिद्धार्थनगर वडा नम्बर ४ गल्लामण्डीबाट मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको र कारलाई सोमबार साँझ गल्लामण्डी पिप्रहीयामा त्रिपालले छोपेर राखेको अवस्थामा प्रहरीले फेला पारेको प्रहरी प्रमुख रेग्मीले बताए ।
यसरी पक्राउ परे चौधरी
घटना घटाएपछि कार चालक (मालिक समेत आफै) चौधरी सिधै भैरहवा तर्फ आए र पिप्रहीयामा कारलाई त्रिपालले छोपेर राखे । पैदलयात्रुलाई ठक्कर दिएपछि कारको अगाडिको बम्पर भागको टुक्रा, बाइपर भाँचिएको टुक्रा र लुकिङ ग्लास घटनास्थलमा प्रहरीले बरामद गरेको थियो । सोही सामानको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको र प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताए । मुख्य कुरा कारको अघिल्लो भागको लाईट माथि तारा चिन्ह भएको स्टिकर टाँसिएको थियो । यो तारा नै ठक्कर दिने कार पहिचान गर्ने श्रोत बन्यो । कार चालकको धकधईमा ड्राईभिङ इस्न्टिच्युट पनि रहेको छ । जिल्ला प्रहरी कार्यालयले दिउँसो कारको हुलिया सहित २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरी आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना जारी गर्यो । सूचनासँगै सोहि हुलिया भएको कार धकधईको कुनै ब्यक्तिको हुन सक्ने सुराक प्रहरीले फेला पार्यो । प्रहरीले प्राप्त गरेको ठक्कर दिने कार चालकको नाम मार्फत फेसबुकबाट उसको हुलिया प्राप्त गरयो । एक तस्बिरमा उनी कार अघि त्यही तारा चिन्ह देखिने गरी फोटो खिची फेसबुकमा राखेका थिए । सोहि फोटोले दुर्घटना गराउने कार र चालकको पहिचान भएको जिल्ला प्रहरी प्रबक्ता अर्यालले बताए । प्रहरीले घटना घटेको १२ घन्टा भित्रै कार तथा कार चालक पत्ता लगाए पनि लुकिछिपी बसेका चालकलाई मंगलबार बिहान नियन्त्रणमा लिएको थियो । १२ घन्टाको अबधिमा प्रहरीले भैरहवा परासी खण्डमा बिहानको उपलब्ध सिसिटिभी फुटेज, बिभिन्न कार कम्पनि तथा सर्भिस सेन्टरमा पुगेर हुलिया सहितको कारको बारेमा जानकारी लिइसकेको थियो । कारको क्षतिग्रस्त टुक्रा सहितको तारा चिन्ह फेसबुकमा राखिएपछि थप सहज भएको प्रहरी उपरिक्षक एवं जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रेग्मीले बताए ।
अनुसन्धानको क्रममा चालकले दुर्घटना कसरी भयो भन्ने आफूलाई थाहै नभएको एक्कासी ठक्कर दिएपछि थाहा भएको र ठक्कर दिँदा आफूले केही नदेखेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले मादक पदार्थ भने सेवन गरेका थिएनन् । चालक चौधरी छठ पर्व हेर्न भनेर निस्केका थिए ।
सोमबार बिहान भएको दुर्घटनामा ओमसतिया गाउँपालिका वडा नम्बर ४ पननिमा छठ पूजामा सहभागी हुन गैरहेका मध्ये कारको ठक्करबाट २ महिनाका शिशु बालक श्रीराम कुर्मी, २८ वर्षिय परमशिला कुर्मि र १४ बर्षकी सिमा कुर्मिको मृत्यु भएको थियो भने २६ वर्षिय मञ्जु कुर्मी र २४ बर्षकी बन्दना कुर्मि घाईते भएका थिए ।